प्रदेश र संघीय सरकारको साथ चाहियो : स्थानीय तह

|

उदयपुर : १० दिन अघिको लगातारको वर्षाले दर्जनौं ग्रामीण सडक क्षतिग्रस्त बनेपछि उदयपुरको आन्तरिक यातायात अवरुद्ध भएको छ। वर्षाले ग्रामीण सडक क्षतिविक्षित भएपछि खडेरीको मारमा परेका  दुई गाँउपालिकामा हेलिकप्टरबाट प्रदेश सरकारले खाद्यान्न समेत पुर्‍याएको छ।

खडेरीको मारमा परेको उदयपुरको ताप्ली गाँउपालिकामा विहिबारनै हेलीकप्टर मार्फत खाद्यन्न ढुवानी गरिएको छ, भने लिम्चुङबुङमा शुक्रबार मौसम सफा भएपछि ढुवानी गर्ने तयारी गरेको लिम्चुङबुङका अध्यक्ष मेजरकुमार राईले बताए।

बर्षाले रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक अवरुद्ध भएका छन् भने कटारी, चौदण्डी, बेलका र त्रियुगा नगरपालिकाका अधिकांस ग्रामीण सडक मर्मत गर्नुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले संकलन गरेको तथ्यङक अनुसार चार गाउँपालिका २७ वटा ग्रामिण सडक क्षतिविक्षत भएका छन। प्रमुख तीन राजमार्ग वाहेकका ५ सय २२ किलोमिटर लामो विभिन्न ग्रामिण सडकहरु मर्मतसम्भारका लागि १० करोड ६५ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले बताए।

‘सम्बन्धित गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि र प्राविधिक टोलीको संयुक्त अनुगमनपछि क्षतिग्रस्त सडक सूचारकालागि लागतको संकलन गरिएको छ,’ उनले भने, ‘चार गाँउपालिकाका २७ वटा सडक मर्मतको लागि ११ करोड खर्च लाग्ने भएको छ।’

रौतामाई गाँउपालिका र उदयपुरगढी गाँउपालिकाले सानो परिमाणमा क्षतविक्षत भएका सडक पुन मर्मत गर्न सुरु गरेका छन, भने विकट क्षेत्रमा पर्ने ताप्ली र लिम्चुङबुङले अहिलेसम्म कुनै पनि कदम चाल्न सकेका छैनन।

कुन सडक मर्मत गर्न कति बजेट?

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार क्षतिग्रस्त सडकमध्ये सबैभन्दा बढि ताप्लि गाउँपालिका जोडिने एकसय ७२ किलोमिटर दुरीको ६ वटा सडकमा ५ करोड १० लाख लाग्ने अनुमान गरिएको छ। त्यसैगरी लिम्चुङ्गबुङ्ग गाउँपालिका जोडिने एकसय २५ किलोमिटर दुरीका ६ वटा सडकमा ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको प्रजिअ खड्काले जानकारी दिए।

यसैगरी रौतामाई गाउँपालिकाको एकसय सय ३३ किलोमिटर दुरीका ८ वटा सडकमा ८५ लाख छ।  गाउँपालिकामध्ये सडक संजालका हिसावले सबैभन्दा कम खर्च हुनेमा उदयपुरगढीको ९२ किलोमिटर दुरीका ८ वटा सडकमा २० लाख लाग्ने अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

सदरमुकाम गाईघाटसँग जोडिने लिम्चुङ्गबुङ्ग र रौतामाई गाउँपालिकाको गाईघाट–मुर्कुची–खमारे–कोल्वोटे–पुवाँरेभन्ज्याङ्ग–माझखर्क–बारहा ७० किलोमिटर सडक सबैभन्दा जिर्ण बनेको छ। यो सडक मर्मतकालागि मात्रै ३ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको छ।

त्यसैगरी ताप्लि गाउँपालिकाको केन्द्र रुपाटार जोडिने वेतेनी–रुपाटार ५० किलोमिटर सडक मर्मतका लागि २ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सोही गापाको वेतेनी–सोरुङ्ग–रुपाटार ४० किलोमिटर १ करोड ५० लाख, नुनथला–ओख्ले ३० किलोमिटर १ करोड लाग्ने अनुमान खड्काले बताए।

त्यस्तै लिम्चुङ्गबुङ्ग गाउँपालिका जोडिने माझखर्क–जाँते १९ किलोमिटर ३० लाख, बलम्ता–सार्वोटे १७ किलोमिटर ३० लाख,    रौतामाईको पुवाँरे–डिल्विर–माझखर्क ३० किमि सडक ५० लाख, भुट्टार–लाफागाउँ १६ किमि २० लाख, पुवाँरे–ख्याटुङ्ग–घोत्लिघारी १५ लाख र उदयपुरगढी जोडिने नेपालटार–स्वर्गे १० किमी ५ लाख, कटारी–जरुवा १५ किमि ३ लाख लगायत रहेको प्रजिअ खड्काले जानकारी दिए। यसो भन्छन्, सरोकारवालाहरु

तत्काल उक्त रकम सम्बन्धित गाउँपालिकामा उपलब्ध भए सबै सडक सूचारु गर्न सकिने जिल्ला विपद् व्यवस्थापन समितिको भनाई छ। अधिकांस सडक ठाउँ–ठाउँमा पहिरो गएकाले सबैलाई मर्मत गर्नु पर्दा ठुलो रकम लाग्ने देखिन्छ,’ प्रजिअ खड्काले भने, ‘गाउँपालिकाका केन्द्रसम्म पुग्ने सडक नभएकाले तत्काल मर्मतसम्भार गरी सूचारु गर्नु पर्ने अवस्था टडकारो देखिएको छ।’

ताप्लि गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले वेतेनी–नुनथला–रुपाटार सडक खण्ड नै करिव १ सय ठाउँमा पहिरो गएको बताए। ‘गापालाई कटारी बजारसँग जोड्ने मुख्य सडक त्यही मात्र हो,’  उनले भने, ‘पहिरो गएको ठाउँमा तलबाटै जाली उठाएर जग लगाउनु पर्ने भएकाले मोटो रकम खर्च हुन्छ, गाँउपालिकाको मात्र बजेट पुग्दैन, प्रदेश सरकारसँग सहयोग मागेका छौ।’

संघीय र प्रदेश सरकारको सहयोग जरुरी

प्रारम्भिक अनुगमनबाट सबै सडक सुचारु गर्न कम्तिमा २ महिना लाग्ने अनुमान गरिएको छ। रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले गाँउपालिकाले बनाउ सक्ने सडक बनाउँदै जाने र नसकेको प्रदेश तथा संघीय सरकारको सहयोग माग्नु पर्ने अवस्था आएको बताए।

यता लिम्चुङबुङ गापाका अध्यक्ष मेजरकुमार राईले लिम्चुङबुङका सवै सडक मर्मत गर्न लिम्चुङबुङले बजेट पुर्‍याउन नसक्ने बताए। ‘स्थानीय पालिकाकाले मात्र सक्दैन,’ उनले भने, ‘हामीले प्रदेश र संघीय सरकारको सहयोग अपिल गरेका छौ, प्रदेश सरकारले तत्काल सडक मर्मत गर्न सहयोग गर्ने बचन समेत दिएको छ।’

पालिकाको बजेटले मात्रै पुग्दैन

नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवशले पालिकाको बजेटले मात्र क्षतविक्षत भएका सडक मर्मतमा सम्भव नभएकाले प्रदेश सरकारको सहयोग मागेको जानकारी दिए। ‘पालिकाको सम्पुर्ण बजेट लगाउने कुरा भएन, पुर्वाधारमा सिमित बजेट छ,’ अध्यक्ष कटुवालले भने, ‘जनप्रतिनिधि लगायत राजनीतिक दल सवै बसेर प्रदेश सरकार र संघीय सरकारलाई उदयपुरको ग्रामिण सडक बनाउन सहयोग मागिरहेका छौ, प्रदेश सरकारले काम सुरु गर्ने जानकारी दिएको छ।’

प्रमुख तीन राजमार्ग मदन भण्डारी, सगरमाथा र सिद्धिचरण राजमार्गको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य भईरहेको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए। ‘तीन वटै राजमार्गमा पनि ठुलो भएकाले क्षतिको विवरण ठूलै छ,’ उनले भने, ‘सम्बन्धित राजमार्गका  कार्यालयहरुले मर्मत सुरु गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.