|

गुल्मी :  सत्यावती गाउँपालिका-३ सिङदीकी २७ वर्षीया यममाया विश्वकर्माको काखमा ७ महिनाको बच्चा छ। उनको घर  गत मंगलबार आएको पहिरोका कारण जोखिममा भएकाले स्थानीय धर्मपुर माध्यमिक विद्यालयमा बास छ। वर्षायामको समयमा पानी धेरै पर्ने गरेको र ७ महिनाको बच्चालाई स्याहार सुसार गर्नुपर्ने समयमा राम्रोसँग बस्ने र न्यानो खालको कपडा नभएको बताइन्।

विपतमा पनि राज्‍यले ख्याल गरेन

'दिनानुदिन चिसो बढ्दै गएको छ, बच्चाले खोक्न पनि थालेको छ त्यसमाथि न्यानो खालको कपडा पनि छैन यस्तो विपत परेको छ राज्यले यस्तो समयमा पनि केही ख्याल गरेको छैन' उनले दुखेसो पोखिन्।

यति मात्रै होइन त्यस स्थानमा शौचालयको पनि उत्तिकै समस्या देखिएको छ। करिब १९८ जना प्रभावित रहेको स्थानमा एउटा मात्रै शौचालय छ, जहाँ पिउने पानीको समेत समस्या भएको छ।

यस्तै, अर्की १८ वर्षीया सुष्मा सुनारको काखमा पनि ११ महिनाको बच्चा  छ उनलाई पनि यस्तै समस्याले सताएको छ। 'छोराले खोक्न थालेको छ चिसो सिमेन्टमा बस्नुपर्दछ त्यसमाथि समस्यै समस्या छन्' उनले गुनासो गरिन्।

हुनुपर्ने जति उपस्थिति देखाएन राज्यले

घर पूरै जोखिममा छ विद्यालयमा आएर बस्नुपरेको छ। बच्चालाई समस्या आउने भयो र बिरामीपर्ने चिन्ताले उनलाई सताएको छ। यस समयमा राज्यको जति उपस्थिति हुनुपर्दथ्यो त्यो पाइएन भन्दै दुखेसो गरिन्।

गर्भवती पीडामाथि पीडा

यता, स्थानीय २१ वर्षीया यमुना  त्रामु गर्भवती छिन् उनलाई यस समयमा पौष्टिक आहाराको आवश्यकता पर्दछ, पौष्टिक आहारा त परै जाओस् उनलाई झन् चिसो र स्वच्छ पिउने पानी नभएकाले सताएको छ।

यस समयमा झोलिलो,  माछा मासु र फलफूल प्रयाप्त मात्रामा लिनुपर्ने समस्यामा मेसमा पकाएको समान्य दाल भात पनि मुस्किलले मिलेको छ।  गर्भवती महिलाका लागि न्यानो र पौष्टिक आहारा पाउनुपर्ने समयमा समस्यै समस्या थपिदिएको दु:ख सुनाइन्।

उनीसँगै २६ वर्षकी तारा त्रामु पनि गर्भवती छिन्। उनलाई यस्तै समस्या र चिसोले सताएको छ। घर पूरै जोखिममा रहेको समयमा सिमेन्टको चिसोमा बास बस्नुपर्ने भएको छ त्यसमाथि शौचालय र पिउने पानीको समस्या रहेको  बताइन्। 'आफूलाई त समस् परे पनि सहुँला पेटमा भएको बच्चालाई पनि झनै समस्या उत्पन्न हुने हो कि भन्ने पीरले भोक निद्रा नै हराइसकेको छ' उनले भनिन्।

बादल मडारिनासाथ मन आत्तिन्छ

यस्तै ५० वर्षकी दिलमाया पुलामीले आकासमा कालो बादल देखेपछि मन भक्कानिन थाल्ने बताउँछिन्। घरगोठ पूरै जोखमिमा छ घाम लाग्ला जस्तो भयो भने बँचेका गाईभैँसीलाई घाँस दिन  जाने गरेको राति धर्मपुर माध्यमिक विद्यालयमा बास बस्नका लागि आउन गरेको  बताइन्। उनले भनिन्, 'राति यसो सिमेन्टको चिसोमा निदाइहालियो भने पनि सपनीमा पहिरो नै आइरहेको देखेर मनै झस्किने गरेको छ।'

गर्भवती र बच्चालाई कन्तबिजोग, राज्‍यले ध्यान दिएन

यता, सोही स्थानकी  टोल सुधार समितिकी संयोजक ३१ वर्षीया दानमाया थापाले  गर्भवती महिलाहरू र ससना बालबच्चाका लागि ठूलो समस्या भएको बताइन्। गर्भवती महिलाहरूका लागि पौष्टिक आहारा र बच्चाहरूका  लागि चिसोको समस्या समाधानका लागि राज्यको ध्यान नगएको उनले बताइन्। 

स्यानेटरी प्याड अभाव

१५/१६ वर्षका किशोरीहरूदेखि ७३ वर्षका वृद्धावृद्धा समस्यामा छन्। किशोरीहरूका लागि महिनावारी भएको समयमा आवश्यक पर्ने स्यानेटेरी प्याडको पनि अभाव भएको उनको भनाइ छ।

वृद्धवृद्धाहरूलाई अकस्मात कुनै बिरामी परेमा औषधि र स्वास्थ्यकर्मी पनि नभएमा उनको आक्रोश छ।

४०० घरलाई छैन खानेपानी

सत्यावती गाउँपालिकाको  ठूलोलुम्पेमा गएको पहिरोका  कारण समस्यामाथि समस्या थपिएको स्थानीय प्रगति रानाले बताए। उनले ठूलोलुम्पेकका ४०० घर परिवारले पिउने  मराङदी मूल पहिरोले लगिदिएका कारण पिउने पानीको समस्या भएको बताए।

'कुरटोल, सिङदीटोल, लाचेघारडाँडाका स्थानीयवासीले पिउने पानीको मूल नै पहिरोले लगिदियो बीचबीचमा पाइप पनि छैन संकटमाथि संकट आइपरेको छ' उनले दुखेसो सुनाए।

पानी र शौचालयको चरम समस्या भएको वडा नं ३ का वडा सदस्य सरोज राना मगरले बताए। उनले समस्या समाधानका लागि डाटा संकलन गरेर स्थानीय सरकार लागिपरेको दाबी गरे।

प्रदेशबाट स्वास्थ्य टोली बोलाएका छौँ : प्रजिअ

यता, जिल्ला विपत व्‍यवस्थापन  समिति गुल्मीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले स्वास्थ्यको समस्याको लागि प्रदेशबाट स्वास्थ्यको टोली आउने भएकाले त्यसलाई ठूलोलुम्पेकमा लैजाने र अस्थायी शौचालय निर्माण गर्ने तयारी भएको भन्दै पानीलाई शुद्धीकरण गरेर पिउने व्‍यवस्था मिलाउन लागेको जानकारी दिए।

यस्तै, सत्यावती गाउँपालिकाका प्रमुख पारीश्वर ढकालले एकजना डाक्टरसहित ५ जनाको टोलीले सुत्केरी, गर्भवती महिला र अशक्त सबै प्रभावितहरूको स्वास्थ्य जाँच गर्ने र आवश्यक सबै व्‍यवस्था गर्ने  बताए। 

सम्बन्धित समाचारहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.