|

सिन्धुपाल्चोक : भूकम्पले भत्किएको घरको भग्नावशेष। छेवैमा सानो छाप्रो। छाप्रोको एकापट्टी चुल्हो र केही भाँडाकुडा। तर, लामो समयदेखि चुल्होमा आगो बल्न सकेको छैन। चुल्हो छेउमा ओछ्यान। त्यही ओछ्यानमा महिनौँदेखि लडिरहेका छन्, सिन्धुपाल्चोक बलेफी गगाउँपालिका–६ का खिलप्रसाद तिमल्सिन। 

गरिबीको चपेटामा परेका तिमल्सिनाको उपचारको लागि न त पैसा न त कसैको सहयोग। तिमल्सिना रोगी मात्र होइन, बेसहारा पनि छन्। उनको रोगी शरीरबाहेक केही छैन।

उनलाई बाँच्ने रहर त  छ, तर बाँच्ने आधार छैन। ३३ वर्षीय तिमल्सिना हेमोफोलिया रोगले ग्रसित छन्। लामो समयदेखि हेमोफोलियाको शिकार बनेका तिमल्सिनाको अवस्था दयनीय छ। 

उपचारको लागि एक्लो ज्यान घिर्सादै संघीय राजधानी काठमाडौँका विभिन्‍न अस्पतालमा पुगे। सिभिल, पाटन, वीर, नरदेवीलगायतमा उपचार पनि गरे।

‘मसँग भएको सम्पति सबै सकियो, अझै उपचारको लागि पाँच लाखभन्दा धेरै रकम लाग्ने डाक्टरले भनेका छन्। तर, कसरी उपचार गर्न सकिएलार खै! तिमल्सिनाले थाहाखबरसँगको कुराकानीमा गहभरी आँसु झादै भने, ‘उपचार गर्न नेताहरु विदेश जान्छन्। तर, गरिबको पीडा कस्ले बुझ्छ र?’

केही साताअघि सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–४ स्थित कुबिण्डेमा पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपचार नपाए सरकारविरुद्ध मुद्दा हाल्न हौसाएका थिए। जुन कुरा तिमल्सिनाले सम्झिए। ‘तर, कहाँ गएर कसलाई हालौँ मुद्दा’, उनले भने।

तिमल्सिनाले उपचारका लागि सहयोगको अपिल गरेका छन्। उनलाई सहयोग गर्न चाहनेले उनको आफन्त (रामजी पराजुली ९८४१५११७३४) मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.