|

बारा : बारा इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतबाट फरार भएका चोरी मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश २ का सभामुख सरोज कुमार यादवको पकेटबाट ५० हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ परेर फरार भएका १९ वर्षीय फरोज मियाँलाई प्रहरीले पुनः पक्राउ गरेको हो।

सिम्रौनगढ प्रहरी कार्यालयबाट साउन ३ गते भागेका भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी वडा नम्बर ४ का मियाँलाई मंगलबार रौतहटको गौरबाट प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। उनी सूवर्णपुर गाँउपालिकामा बस्दै आएका थिए।

सिम्रौनगढ नगरपालिका–३ का गौरीशंकर प्रसाद यादवको जाहेरीले चोरी मुद्दामा अनुसन्धान भइरहेका मियाँ साउन ३ गते राति ८ बजे खाना खुवाउने क्रममा भागेका थिए।

बाराका प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरका अनुसार खोजी गर्ने क्रममा मियाँलाई पक्राउ गरिएको छ। पक्राउ परेका मियाँलाई रौतहटबाट सिम्रौनगढमा ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक राठौरले बताए।

दुई प्रहरी निलम्बन

हिरासतबाट थुनुवा फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय बाराले एक हवल्दार र जवानलाई निलम्बन गरी कारबाही प्रक्रिया थालेको एसपी भट्टराईले बताए।

प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साहलाई निलम्बन गरेको छ। कार्यालयका डीएसपी रञ्जित सिंह राठौरका अनुसार उनीहरूलाई ३ महिनाका लागि निलम्बन गरिएको हो।

हिरासतबाट थुनुवा फरार भएको विषयमा बाराका प्रहरी नायब उपरीक्षक रविसिंह राठौर नेतृत्वको टोलीले छानबिन गरिरहेको छ।

यस्तो थियो घटना

गृह नगर बारा जिल्लाको सिम्रौनगढ नगरपालिका आएको बेलामा प्रदेश २ का सभामुख सरोजकुमार यादव पकेट मारिएको थियो। साँझ गाउँ पुगेका सभामुखले स्थानीय मन्दिरमा दर्शनगरी घर जाने क्रममा शुभचिन्तकहरूसित कुराकानी गरेको मौका छोपेर पकेटमारले उनको खल्तीबाट ५० हजार नगद चोरी गरेका थिए।

‘पकेट मारेलगतै थाहा पाएँ’ सभामुख यादवले भने 'तत्कालै हल्लीखल्ली हुदा पकेटमारलाई स्थानीयहरूले समाप्न सफल भए। पक्राउ परेका पकेटमारबाट रकम बरामद भएपछि उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको जिम्मा लगाइएको थियो।'

सभामुख यादवलाई सुरक्षाका लागि संघीय सरकारले निजी गार्ड उपलब्ध गराएको छ। गार्ड उनीसँगै रहेको बेला खल्तीबाट ५० हजार रुपैया लिएर पकेटमार फरार भएका थिए। सभामुखसँगै रहेका सुरक्षा गार्डले चोरलाई हेर्न नपाए पनि स्थानीय बासिन्दाहरूले समाप्त सफल भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.