|

भक्तपुर : आज साउन महिनाको दोस्रो मंगलबार। यस वर्षको  गठेमंगल (गथांमुगः) अर्थात ’घण्टाकर्ण’ पर्व भक्तपुरमा धुममाधमसँग मनाइयो।

नेवार समुदायले मनाउने वर्षकै पहिललो पर्व हो गथांमुग। साउन कृष्णपक्षको चतुदर्शी तिथीका दिन पर्ने यो पर्वलाई ’घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ। 

यस पर्वको अवसरमा  नेवार समुदायले  नर्कट र छ्वालीको लिङ्गाकृत तीनखुट्टे गथांमुगः बनाई टोलका दोबाटो र चौबाटोमा जलाएर मनाउने गर्दछन्। 

नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व उनीहरुको मौलिक पर्वमध्येको एक हो। यस दिनमा नेवार समुदायले आफ्नो घरमा गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग–ब्याधी नलागोस् भनेर राक्षस धपाउँदै पूजा गर्छन्।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षस धपाउने पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको मान्यता नेवार समुदायमा रहेको छ। घण्टाकर्ण चतुर्दशी साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो। 

यस दिन शिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ। काठमाडौं उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन्। 'गठेमङ्गल' पर्वका दिन एकजना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ। 

त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ। वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्न भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ। 

'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्‍ने गरिन्छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.