१५ अति पवित्र तीर्थस्थलको सूचीमा पुलस्त्य आश्रम
१५ अति पवित्र तीर्थस्थलको सूचीमा पुलस्त्य आश्रम
म्याग्दी : रामायणमा ‘खल’ पात्रको रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवम् हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको छ।
म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको पुलस्त्य पुलआश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ।
दुई वर्षअघि बेनी नगरपालिकाले पौलस्त्य आश्रम क्षेत्रमा ‘रामायण पार्क’ निर्माणको जिल्लाकै बहुचर्चित योजना ल्याएको थियो। तर दुई वर्ष बितिसक्दा पनि योजना कार्यान्वयनको कुनै सुरसार नहुँदा योजना कागजी योजनामा मात्र सीमित रहने हो कि भनेर स्थानीय वासिन्दाले आशंका व्यक्त गर्न थालेका छन्।
रामायण पार्क निर्माणका लागि नगरपालिकाले ५० लाख बजेट विनियोजन समेत गरिसकेको छ तर कामको कुनै सुरसार गरिएको छैन। नगरपालिका आन्तरिक किचलोमा नै साँघुरिएको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न योजनालाई अगाडी बढाउन नगरपालिकाले परामर्शदाताको छनौटको गरिसकेको बेनपा–८ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए। पार्कको विस्तृत परियोजना (डिपीआर) तयार भैसकको पनि उनको भनाइ थियो।
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ।
१५ अति पवित्र तीर्थस्थलको सूचीमा पुलस्त्य आश्रम
श्रीमद्भागवत महापुराणमा कुरू क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ।
पुराणप्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ। पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको मन्दिरका पुजारी पं लिलाधर पौडेलले बताए।
सत्ययुगमा पुलह र पौलस्त्य क्रृषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लागेका समयमा पानी पर्न थालेको र क्रृषि द्धयले इन्द्रसंग प्राथना गरेर यज्ञ सम्पन्न भएपछि मात्र पानी पार्न भनेपछि धेरै समय पछि मात्र पानी परेको कुरा शास्त्रमा वर्णन गरिएको पौलस्त्य क्षेत्र विकास समितिका उपाध्यक्ष रामवहादुर बानियाँ बताउँछन्।
बानियाँका अनुसार पुलहाश्रम क्षेत्रमा रहेको पुलहाश्रम छेवैको ओढारमा अहिले पनि त्यतिबेला होम गरिएका धान र जौका चरुहरु भेटिने गरेका छन्। ओढारभित्र यज्ञका अवशेषको रुपमा रहेका चरुहरु भेटिनुले पनि यो ठाउँका महत्वलाई उजागर गरेको पौल्स्त्य क्षेत्र विकास समितिका उपाध्यक्ष वानियाँको भनाइ रहेको छ।
आकर्षक पर्यटकीय केन्द्रको सम्भावना
पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभी गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रम क्षेत्र (साविकका पुला, घतान, अर्थुङे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदि) लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी पूर्वाधार निर्माण गर्न सक्ने हो भने भारत, नेपाल र श्रीलंकामा प्रचारप्रसार गर्ने हो भने पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ।
श्रीमद्भागवतजस्तो विश्वप्रशिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि सौभाग्य भएको र यसको समुचित रुपमा विकास गर्ने हो भने म्याग्दीले प्रशस्तै आर्थिक लाभ लिनसक्ने सम्भावना देखिएको म्याग्दीको इतिहाँसका जानकार एवम् साहित्यकार कृष्ण बानियाँले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।