|
फाइल फोटो

दार्चुला : नेपाल, भारत र चीनको सीमा क्षेत्र ब्याँस सञ्चारविहीन बनेको छ। व्याँस गाउपालिकाको वडा नम्बर १ छाङरु र तिंकरमा सञ्चालनमा रहेको मोबाइल नेटवर्कमा समस्या आउँदा उक्त क्षेत्र सञ्चारविहीन हुन पुगेको हो।

टेलिकमको टावर भारी हिमपातका कारण क्षति ग्रस्त हुँदा टेलिकम दार्चुलाको प्राविधिक टोलीले टावर मर्मत गरी असार २५ गतेदेखि सञ्चालनमा ल्याएको थियो तर फोनमा कुराकानी हुन नसकेको स्थानीय बताउँछन्। टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङसहित प्राविधिकहरूको टोली टावर मर्मतका लागि असार १७ गते हेलिकोप्टरमार्फत छाङरु पुगेका थिए।

गत वर्षसम्म सहज रूपमा उपलब्ध भइरहेको मोबाइल सेवा यो वर्ष प्रयोग नै गर्न नपाएको छाङरुका स्थानीय युवा योगेश बोहराले बताए। चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका बोहराले मोबाइल सम्पर्क हुन नसक्दा पैदल यात्रीमार्फत पत्रद्वारा खबर आदानप्रदान गर्नुपरेको बताए। ‘पुरानो युगमा फर्किएको जस्तो भयो, नेपालबाट आवतजावत गर्नेहरूसँग पत्रमार्फत गाउघरमा खबर गर्नुपरेको छ’ बोहरा अनुभव सुनाएँछन्।

एक दशकअघि स्थापना गरिएको व्यासको टावरबाट छाङरु, तिंकरका साथै सीमावर्ती भारतीय क्षेत्रका वासिन्दाले पनि मोबाइल सेवा उपभोग गर्दैआएका छन्। सामान्य अवस्थामा व्यासको टावरबाट एकपटकमा एकसय ग्राहकले एकसाथ कुरा गर्ने क्षमता रहेको टेलिकम दार्चुलाले जनाएको छ।

स्काई फोनको यो टावरबाट हाल क्षमताभन्दा धेरै कम काम भइरहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताए। ‘अहिले एकपटकमा २० देखि ३० जनासम्म ग्राहकले कुरा गर्न सक्छन्’ उनले भने। टावरमा प्राविधिक समस्या आएको र ग्राहक संख्या धेरै भएकोले मोबाइल सम्पर्क गर्न असहज भएको उनको भनाइ छ।

यसपालीको अत्यधिक हिमपातले टावरमा धेरै क्षति भएको छ। एन्टेनालगायतका उपकरणमा क्षति पुगेको टेलिकमले जनाएको छ। सौर्य उर्जा प्रणालीमार्फत सञ्चालन भइरहेको व्यासको टावरमा ३२ मध्ये २४ सोलार प्यानल क्षतिग्रस्त भएका छन्। एन्टेनालगायत केही नयाँ उपकरण जडान गरी टावर सञ्चालनमा ल्याइएको छ। तर, टावरले राम्रोसँग काम नगरेको टेलिकम दार्चुलाका प्रमुख गुरुङको स्वीकारोक्ति छ।

टेलिकमको स्काई टावरले काम नगर्दा सदरमुकामदेखि टाढाको वस्तीका स्थानीय र आफन्तसँग सम्पर्क गर्न समस्या भएको व्यास गाउपालिका १ नम्बर वडाका वडा सचिव विनोदसिह बुढाथोकी बताउँछन्। ‘हाम्रा वडाअध्यक्ष ज्यूसहितको टोली व्यास क्षेत्रमा जानुभएको छ तर मोबाइल सम्पर्क हुन सकेको छैन, स्थानीय वासिन्दालाई खबर आदानप्रदान गर्न समस्या हुँदैआएको छ’ व्यासको तिंकर गाउँका वासिन्दासमेत रहेका वडा सचिव बुढाथोकीले भने।

व्यास क्षेत्रको टावरमा समस्या आएको जानकारी पाएपछि आफूले टेलिकमका अत्तरियास्थित क्षेत्रीय प्रमुख र दार्चुला प्रमुखलाई यसबारे तत्काल पहल गर्न आग्रह गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए।

व्यासको टावरमा जोडिएका उपकरणमा समस्या भए पनि विद्युतको क्षमता अभाव नभएको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङको भनाई छ। ‘अहिले ८ वटा सोलार प्यानलबाट टावर सञ्चालन भए पनि विद्युतिय पावरको समस्या छैन, केही उपकरणमै समस्या छ’ गुरुङले भने। केही दिनमा प्राविधिक पठाएर टावर मर्मतको कार्य गरिने उनले जानकारी दिए।

स्काई प्रविधिको व्यासको टावरमा क्षमता बढाउन नयाँ उपकरणको माग गरिएको पनि गुरुङले बताए। टेलिकमको क्षेत्रीय र केन्द्रीय कार्यालयमा यसबारे माग भइसकेको र साउन महिनाभित्रै नयाँ उपकरण ल्याएर टावरमा जडान गर्ने तयारी भइरहेको उनले बताए। हाल सेटेलाइट प्रविधिमार्फत व्यासको टावरबाट ६ सय ५० केभिपिएस क्षमताबाट सेवा दिइएको छ। नयाँ उपकरण जडान गरिएपछि २ एमवीपिएस क्षमताबाट सेवा दिइने उनले बताए।

तीन हप्ताअघि आफूसहितको टोलीले एक हप्ता लगाएर व्यासको टावर सञ्चालनमा ल्याएको बताउँदै गुरुङले टावरको क्षमता बढाउन दोस्रोपटक उपकरणसहित प्राविधिक टोली व्यास क्षेत्रमा पठाउन लागिएको बताए। ‘काठमाडौंबाट सामान पुग्नेवित्तिकै प्राविधिक टोली व्यास क्षेत्रमा पठाउछौँ’ उनले भने।

नेपाल टेलिकमले व्यास क्षेत्रको छाङरुमा नमस्ते मोबाइलको नयाँ टावर र तिंकर गाँउमा स्काई फोनको टावर राख्ने गृहकार्य पनि अघि बढाएको टेलिकम दार्चुलाले जनाएको छ। दुहुँ क्षेत्रको कैचुला टावरबाट रेडियो लिंक गरी छाङरुमा नमस्ते मोबाइलको टावर राख्न सर्भे भइरहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताए। तिंकर गाँउमा भने छुट्टै स्काई मोबाइलको टावर राख्ने गृहकार्य छ।

व्यासको टावरबाट हाल झण्डै १ हजार उपभोक्ताले सेवा लिइरहेको टेलिकम दार्चुलाको भनाइ छ। भौगोलिक विकटताले रेडियो लिंकमार्फत टावर सञ्चालन हुन नसकेको र सेटेलाइटमार्फत लिंक गराएर व्यासको टावर एक दशकदेखि सञ्चालन हुँदैआएको छ। मोबाइल टावरले प्रभावकारी काम नगर्दा व्यास क्षेत्रमा रहेको प्रहरी चौकीमा पनि सञ्चार सम्पर्क गर्न समस्या भइरहेको छ। मौसम अनुकूल भएको अवस्थामा प्रहरीको सञ्चार सेटबाट व्यास क्षेत्रसँग सम्पर्क भइरहेको दार्चुला प्रहरी प्रमुख डिएसपी दीपेन्द्र शाहीले बताए।

बिहान, दिउसो र बेलुकाको समयमा अधिकांश ग्राहकले बढी मोबाइल प्रयोग गर्ने भएकाले रातिको समयमा सम्पर्क गर्न सहज हुने टेलिकम दार्चुलाका प्रमुख गुरुङको सुझाव छ। ‘महत्वपूर्ण कामका लागि रातिको समयमा सम्पर्क गर्न सकिन्छ, बिहान, दिउँसो र बेलुकाको भन्दा रातिको समय कम प्रयोगकर्ता हुन्छन् र केही सजिलो हुन्छ’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.