स्तनपान गराउँदा सौन्दर्य घट्छ भन्ने गलत धारणा विकसित हुँदै

|

काठमाडौं :  सरकारले सन् २०३० स्तनपान गराउने नेपाली आमाको संख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य लिए पनि सो लक्ष्यअनुसार काम नभएको पछिल्लो तथ्यांकले देखाएको छ।

पछिल्लो तथ्यांकले स्तनपान गराउने आमाको संख्या घट्दै गएका देखाएसँग सो लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ। सन् २०१६ को तथ्यांकअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने नेपाली आमा ५५ प्रतिशत मात्र छन्।

काठमाडौं उपत्यकाभित्रका अस्पतालमा स्तनपानको अवस्था हेर्ने हो भने दयनीय देखिन्छ। अध्ययनका अनुसार मुलुकको उपचारको केन्द्र र अस्पतालैअस्पतालले भरिएको काठमाडौंमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर केवल ४१ प्रतिशत मात्र छ।

जनसङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र रहेको छ। पूर्ण स्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टा भित्रदेखि पाँच वर्षसम्मको स्तनपानलाई जनाउँछ। यता शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशतभन्दा माथि जान सकेको छैन।

स्वास्थ्यसेवा विभागको परिवार कल्याण महाशाखाको सन् २०११ को तथ्यांकअनुसार ६९.९ प्रतिशत आमाले स्तनपान गराउने गरेकोमा सन् २०१६ मा आइपुग्दा सो संख्या घटेर ६६.१ मा झरेको छ। यसले २०३० सम्म ९० प्रतिशत पुर्‍याउने दिगो विकासको लक्ष्य र त्यसका लागि चलाइएका नीति तथा कार्यक्रमको तालमेल नमिलेको देखाउँछ।

सर्वेक्षणले स्तनपान गराउनुअघि १० जनामध्ये तीनजनाले शिशुलाई घ्यू, मह, चिनी चटाउने गरेको देखाएको थियो। शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापना गर्ने अन्य खानेकुरा खुवाइने गरेको देखिएको छ।

आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्रीवितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ। सोसम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो। तर, ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन भएको छैन।

नेपालमा आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु कति बिक्रीवितरण हुन्छ भन्ने अध्ययन भएको छैन। विश्वमा बर्सेनि ७३ अर्बको आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्रीवितरण हुने गरेको विश्वस्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ।

उपत्यकाका आमाले नै गराउँदैनन् स्तनपान  

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र हेलन केलर इन्टरनेशनलले गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपानको अवस्था गतिलो छैन। अध्ययनका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र रहेको छ। बच्चा जन्मेको तीन दिनपछि नै आमाले शिशुलाई बट्टाको खुवाउन थाल्ने सो अध्ययनले देखाएको थियो।

यसैगरी, शिशु जन्मनेबित्तिकै आमाको नांगो छातीमा टसाएर राख्ने दर जम्मा नौ प्रतिशत छ। शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यसले सहयोग गर्ने भए पनि सो नभएको हो।

शिशुलाई जन्मनासाथ छातीमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ। यसले सालनाल निक्लन, रक्तस्रावसमेत बन्द हुन, आमाको तनाव कम गर्न सघाउँछ।

स्तनपानले आमालाई गर्भ निरोधकका रूपमा काम गर्छ। शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा र पानीको स्रोत हो। आमाको दूधमा पाइने तत्त्वले शिशुलाई रोगसँग लड्ने क्षमताको विकास गर्छ।

यो तत्त्व ‘थोरासिक डक्ट’ भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ। यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन्। बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगका कीटाणुविरुद्ध प्रतिरोधात्मक तत्त्वहरू बनाउँछ।

‘आमा बाबुको सक्षमता, स्तनपानको सफलता’ आधार भन्ने नाराका साथ यस वर्ष स्तनपान दिवस साताव्यापी रूपमा मनाइँदैछ। सो अवसरका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल, परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिंह तिङ्करीले स्तनपानका महत्त्वका बारेमा जानकारी दिएका थिए।

स्तनपानसम्बन्धी गलत धारणा

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणा रहेको पाइए पनि त्यसमा सत्यता नभएको चिकित्सकहरू बताउँछन्। आधुनिक विज्ञानले पनि यी धारणाहरूलाई गलत पुष्टि गरिसकेको छ। 

नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ। त्यसैगरी, उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टिसमेत प्राप्त हुन्छ।

आमाको दूधमा रोगानाशक तत्त्वहरू हुन्छन्। आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्त्व दिन्छ। आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन्। बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउँछ।  

बाल्यकालमा आमाको दूध पर्याप्त खान नपाएका शिशुमा बाल्यकालमा सुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना रहन्छ। उनीहरूमा अपेक्षाकृत वृद्धि विकाससमेत नहुने हुन्छ। यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिसु जस्तो घातक रोगसमेत हुनसक्छ। त्यसैले छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवनरक्षक आहार पनि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.