|

पोखरा : देशका विभिन्न स्थानमा रहेका एनसेल र एनटिसीका टावरमा अज्ञात समूहले आगजनी गरेको छ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'ले आगजनी गरेको अनुमान गरे पनि कसले आगजनी गरेको भन्ने विषय अहिलेसम्म अज्ञात नै छ। 

गण्डकी प्रदेशका पनि अधिकांश जिल्लामा रहेको एनसेलका टावरहरूमा आगजनी भएको छ। गण्डकी प्रदेशका सातवटा जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

कास्की

कास्कीको पोखरा महानगरपालिका २८ माझठानामा रहेको एनसेल टावरमा आगजनी भयो। आगजनीबाट टावरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले बताए। ‘हामी घटना स्थलमा पुग्दैछौँ,’ उनले भने, ‘आगजनी कसले गर्‍यो र कति क्षती भएको छ भन्ने खुलेको छैन्।’

प्रहरीले विप्लव नेतृत्वक नेकपाले हुन सक्ने अनुमान गरेको छ। केही दिनअघि मात्रै विप्लवका कास्की सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको थियो।

गोरखा

एनसेल टावर आक्रमणबाट गोरखा पनि अछतो रहेन। गोरखाको पालुंटार नगरपालिका ८ मा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमराज अधिकारीका अनुसार आगजनीका कारण टावरमा जोडिएका उपकरणहरू नष्ट भएका छन्।

तनहुँ

घिरिङ गाउँपालिका २ घोर्लीछापमा रहेको एनसेलमा टावरमा पनि अज्ञात समूहले आगजनी गरेको छ। जेनेरेटरलगायतका उपकरणहरू जलेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।

अन्य जिल्लामा जस्तै तनहुँ प्रहरीले पनि विप्लव नेतृत्वकै माओवादीले आगोलागीको घटना घटाएको अनुमान लगाएको छ। डिएसपी लामिछानेले अनुसार घटनामा संलग्नहरूको खोजीकार्य जारी रहेको बताए।

म्याग्दी

म्याग्दीको बेनी नगरपालिका –२ ज्यामरुककोटको बन्चरेढुंगामा रहेको एनसेलको टावरमा बुधबार राति अज्ञात समूहले आक्रमण गरी क्षति पुर्‍याएको छ। बुधबार राति साढे १० बजे टावरमा बम विस्फोटको आवाजसँगै आगलागी भएको टावरका हेरालु (कर्मचारी) हरिलाल घिमिरेले जानकारी दिए।

‘अचानक ठूलो आवाजसहित बम पड्किएको आवाज आयो, घिमिरेले भने  ‘घरबाट बाहिर निस्केर हेर्दा टावरमा आगो बलेको थियो।’

नवलपुर

पूर्वी नवपरासीको कावासोतीनगरपालिका–१० मगरकोटमा रहेको एनसेल टावरमा आजनी भएको छ। बुधबार राति ११ बजे तिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सहायक प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

आगजनी कसले र किन गरेको भन्ने केहि खुलेको छैन। आगजनीबाट टावरमा राखिएको जेनेरेटर पूर्णरूपमा नष्ट भएको छ भने टावरमा लागेको आगो स्थानिय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो।

बाग्लुङ

बाग्लुङमा पनि अज्ञात समूहले एनसेलको टावरलाई निसाना बनाएका छन्। त्यहाँको निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको टावरमा आगजनी भएको छ। आगजनीबाट टावर सञ्चालनका लागि राखिएको जेनेरेटरमा क्षति पुगेको छ।

पर्वत

गण्डकी प्रदेशको अरू जिल्लामा जस्तै पर्वतमा पनि एनसेलकै टावरमा आगजनी गरिएको छ। अज्ञात समूहले नै पर्वतको मोदी गाउँपालिका तिलाहरमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन्। आगजनीबाट टावरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.