संरक्षणपछि प्रदर्शनमा राखिने

|

काठमाडौं : तत्कालीन राजाहरूले शिकार गरेर ल्याएका र उपहारमा पाएका वन्यजन्तुका अंग र छाला (आखेटोपहार)हरूको संरक्षण तीव्र पारिएको छ। कानुनी र विभिन्न निकाय जोडिएकाले वर्षौंदेखि अलपत्र परेका आखेटोपहार संघीय संसद राष्ट्रियसभाको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको निर्देशनपछि संरक्षणको काम तीव्र पारिएको हो।

समितिले वर्षौंदेख अलपत्र र अस्तव्यस्त पारिएका नारायणहिटी दरबारका आखेटोपहार संरक्षणका लागि समितिले सिफारिस समिति नै गठन गरिदिएको थियो। हाल नारायणहिटी संग्रहालय रहेको ‘शाही शिकारी अड्डा’मा अलपत्र परेका आखेटोपहारको संरक्षण आइतबारदेखि तीव्र पारिएको हो। संरक्षण कार्यको बिहीबार समितिका सभापति रामनारायण बिडारीले अनुगमन गरेका छन्।

‘अनुगमनका क्रममा छोटो समयमा सन्तोषजनक काम भइरहेको’ सभापति बिडारीले प्रतिक्रिया दिए। उनले अनुगमनका क्रममा संरक्षण गर्न सकिने आखेटोपहार अधिकत प्रयास गरेर बचाउन आग्रह गरे। उनले भने, ‘सकेसम्म राम्रो आखेटोपहार बचाउने र नसकिनेजति सिफारिस गरेर कानुनमा उल्लेख भए बमोजिम नष्ट गर्नुपर्ने वा अन्य व्यवस्थापन गर्नका निम्ति सिफारिस गर्नुहोला। यो काममा समितिको सहयोग रहन्छ र असजिलो परे हामीलाई भन्नुहोला।’

सभापति बिडारीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि नायारयणहिटी र सिंहदरबारको गद्दी बैठकमा रहेको आखेटोपहार संरक्षणका लागि प्रतिबद्धता जनाएको पनि जानकारी दिए। उनले यी दुई ठाउँको आखेटोपहार संरक्षणका लागि मन्त्रालयसँग समन्वय गर्नुपर्ने आफूले भूमिका खेल्ने पनि प्रतिबद्धता जनाए।

संरक्षणमा नेतृत्व गरिरहेका सिफारिस समिति संयोजक सहसचिव गोपालप्रकाश भट्टराईले बिहान ८ बजेदेखि साँझसम्म समितिका सदस्यहरू तथा विज्ञहरूले काम गरिरहेको जानकारी दिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशकसमेत रहेका भट्टराईले आखेटोपहारलाई भविष्यसम्म सुरक्षित राख्नका लागि वैज्ञानिक ढंगले संरक्षणको काम चलिरहेको बताए। आखेटोपहारमा कम्प्युटर चिप जडान गर्ने, बारकोड राख्ने र सम्पूर्ण विवरण त्यसमा इन्ट्री गर्ने कामका लागि विज्ञहरूले काम गरिरहेको भट्टराईले जानकारी दिए।

शाही शिकारी अड्डाको भवनमा करिब ३० वर्षदेखि अलपत्र परेका नेपालभित्र शिकार गरेर ल्याएका र विदेशबाट शिकार गरी ल्याएका तथा उपहारमा तत्कालिन राजा र राजपरिवारका सदस्यले प्राप्त गरेका जनावरका छाला, टाउको, सिङ, दाँत, हड्डी, खुर,दाह्रालगायत महत्त्वपूर्ण अंगहरूको संरक्षण गरिन लागेको हो। कतिपय आखेटोपहार भने संरक्षण गर्न नसकिने गरी बिग्रिएको बताइएको छ। पानी  परेको तथा संरक्षण अभावमा छाला, हड्डी नष्ट भएको छ। सयौंको संख्यामा रहेको यस्तो आखेटोपहारलाई संरक्षण गर्नका लागि महिनौँ लाग्ने र संरक्षणका लागि मौसमले पनि बेलाबेला साथ नदिएको भट्टराईको भनाइ थियो।

शाही शिकार अड्डा बाहिरको खुला चौरमा पाल टाँगेर आखेटोपहारको कम्प्युटर इन्ट्रीको काम भइरहेको छ। त्यहाँ कम्प्युटरमा सबै जानकारी इन्ट्री गरेपछि नारायणहिटी संग्रहालयसँगै रहेको स्टोरमा ल्याएर ती आखेटोपहारको व्यवस्थापन गरिएको छ।

संरक्षणपछि प्रदर्शनमा राखिने

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले एक महिनाभित्र उक्त आखेटोपहार संरक्षण गरेर प्रतिवेदन दिन सिफारिस समितिलाई समय सीमा दिएको छ। तर उक्त समयभित्र काम सकिनेमा भने आशंका व्यक्त गरिएको छ। मुख्यतः सिंहदरबारस्थित गद्दी बैठकमा रहेको आखेटोपहार संरक्षण सिफारिस समितिलाई चुनौती बनेको छ। भूकम्पका कारण आखेटोपहार राखिएको कोठा भत्किएकाले आखेटोपहार रहेको कोठाको ढोका खोल्नै नमिल्ने भएको भट्टराईले जानकारी दिए।

आखेटोपहारको सबै विवरण तयार पारेर स्टोर कोठामा ल्याएपछि प्रदर्शनीका लागि कहाँ लग्ने भन्ने विषयमा फेरि सरकारले नै निर्णय गर्नुपर्ने संयोजक भट्टराईले जानकारी दिए। उनले नारायणहिटी दरबारमा नै प्रदर्शनीका लागि राख्ने कि अन्यत्र लैजाने भन्ने सरकारले निर्णय गर्नुपर्ने बताए।

सभापति बिडारीले भने आखेटोपहार विज्ञानका विद्यार्थी, अध्येता तथा पर्यटकको दर्शनका लागि उपयुक्त र आशर्षणको वस्तु हुने भएकाले त्यसको प्रदर्शनमा समितिले पनि सरकारलाई आवश्यक सुझाव दिने बताए।

आखेटोपहारको संरक्षणमा भट्टराईको नेतृत्त्वमा ८ सदस्यीय समिति रहेको छ। त्यस्तै, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृहमन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेचुरल हिस्ट्री म्युजियम स्वयम्भू, नेपाल प्रहरी सिआइबी, नेपाल प्रहरीका प्रतिनिधि तथा नारायणहिटी र हनुमानढोकाका प्रमुखहरू पनि आखेटोपहार संरक्षणमा काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.