|
तस्विरहरु : के के मानन्धर

भक्तपुर : एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ। विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्बतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइन्छ। यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजा बजाउँदै चैत्यहरुको परिक्रमा गरिन्छ।

गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको छ। यस पर्व बौद्ध धर्मावलम्बीहरुको पर्व भए पनि अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्दछन्। यस पर्वमा स्वयम्भु महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायतका उपत्यकाका विभिन्न चैत्यहरुको समेत परिक्रमा गर्ने प्रचलन छ।

यस पर्वको मुख्य विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ। तर, पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाइन्छ। धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा पनि बजाएर चैत्यहरुका साथै स्थानीय ईष्टदेवता, गणेश, भिमसेन भैरवलगायतका देवीदेवताहरुको परिक्रमा गर्ने गर्दछन्। 

दुर्लभ न्याकु बाजा प्रयोगमा ल्याइने 

गुँला पर्वमा भक्तपुरको मध्यपुर थिमिमा यसवर्ष दुर्लभ मौलिक बाजा न्याकु प्रयोगमा ल्याइने भएको छ। अर्नाको सिङबाट तयार गरिने यो बाजा थिमिमा करिब दुई दशकपछि प्रयोगमा ल्याइन लागेको हो। यसका साथै यसवर्ष चती बाजा (भेडाको सिङबाट बनेको बाजा) समेत प्रयोगमा ल्याइने मध्यपुर थिमिका स्थानीय के के मानन्धरले बताए।

मानन्धरका अनुसार यस वर्षको गुँला पर्वमा चती, न्याकुलगायतका धा बाजा, भुस्याः, धिमेलगायतका बाजागाजाका साथ गुँला पर्व मनाउने तयारी छ। मध्यपुर थिमिमा गुँला पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ। 

काभ्रेको नमोबुद्ध, काठमाडौंस्थित स्वयम्भु महाचैत्य र बौद्ध स्तुप, साँखुको बज्रयोगिती तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ।

यसवर्ष गुँला पर्वको अवसरमा मध्यपुर थिमिमा वाचुनानीबाट गुँला बाजा निकालिने भएको छ। मध्यपुर थिमि–५ स्थित वाचुनानीका स्थानीयले मध्यपुर गुँला बाजा व्यवस्थापन समिति गठन गरी गुँला बाजा निकालेको हो। समितिका अनुसार साउन २० मा नागपञ्चमीको दिन चाँगुनारायण, साउन ३० मा जनैपूर्णिमाको दिन ललितपुर कुम्भेश्वर, कृष्णमन्दिर र बालकुमारी मन्दिर, साउन ३१ मा शुक्रवार गाईजात्राको दिन मध्यपुर थिमि नगरपरिक्रमा, भदौ ६ मा कृष्णास्तमीको दिन काठमाडौंको स्वयम्भु, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाकाल, भदौ ११ मा जुह्रे चह्रेको दिन सूर्यविनायक गणेशमन्दिर र भक्तपुर नगरपरिक्रमा, भदौ १४ मा बुंगमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.