|

एजेन्सी : बलिउडको एक फिल्मले लापरवाहीपूर्वक फोन नम्बर सार्वजनिक गरिदिँदा नयाँ दिल्लीका एकजना युवकले हैरानी बेहोर्नुपरेको छ।

अर्जुन पटियाला  फिल्ममा अभिनेत्री सनी लियोनीले कुनै अर्को पात्रलाई आफ्नो फोन नम्बर दिन्छिन्, जुन संयोगवस् दिल्ली निवासी २६ वर्षीय पुनीत अग्रवालको हुन्छ। उक्त फिल्म रिलिज भएपछि पुनीतले हैरानी बेहोर्नुपरेको हो। त्यसयता न उनले राम्ररी काम गर्न पाएका छन्, न त खान र सुत्न नै।

एक साताअघि उक्त फिल्म रिलिज भएपछि पुनीतलाई दिनहुँ सयभन्दा धेरै फोन आइरहेको छ। 'राम्ररी सुत्नसमेत पाएको छैन', उनले भने, 'सनी भन्ठानेर मान्छेहरुले फोन गरेको गर्‍यै छन्। बिहानको चार-चार बजेसम्म लगातार फोन आउँछ।'

फिल्ममा गरिएको उक्त गल्तीले आफ्नो दैनिकी नै चौपट भएको पुनीतले बताए। उनी अहिले कानुनी कारबाहीमार्फत फिल्मबाट आफ्नो नम्बर हटाउने ध्याउन्नमा छन्।

बलिउडका उत्तेजक चलचित्रहरुमा अभिनय गर्दै आएकी सनी पूर्वपोर्नस्टार हुन्। सनीलाई खोज्दै भारतबाटमात्रै नभइ भारतबाहिरबाट पनि फोन आइरहेको पुनीतले बताए। 'फिल्म निर्माताले फिल्ममा प्रयोग गर्नुभन्दा पहिले कमसेकम एकपटक नम्बर चेक गरेको भए मैले यो हैरानी बेहोर्नुपर्थेन', उनले भने, 'नम्बर नै फालिदिऊँ भने पनि भएन। सबै साथीहरुसँग मेरो यही नम्बर छ। मेरो व्यवसायिक सम्पर्क–सम्बन्ध पनि यही नम्बरमा आधारित छ।'

उनलाई फिल्म रिलिज भएकै दिनदेखि फोन आउन थालेको हो। 'पहिले त साथीहरु जिस्किएका होलान् भन्ठानें,' उनले भने, 'तर पछि दिनकै सयवटा फोन आउन थाल्यो। सबैजना एउटै प्रश्न सोध्छन्, 'के म सनी लियोनीसँग कुरा गर्न सक्छु?''

कलरहरुले फिल्मबाट नम्बर पाएको भनेपछि पुनीतले पनि उक्त फिल्म हेरे। भन्छन्, 'फोन गर्नेहरु झुक्किएका रहेनछन्, फिल्ममा साँच्चै नै मेरै नम्बर प्रयोग गरिएको रहेछ।'

लगातार फोन आएर हैरान भएपछि उनी पुलिसकहाँ गए। तर 'फोनकर्ताले हानीनोक्सानी पुर्‍याउन खोजेको' नदेखिएपछि पुलिसले रिपोर्ट लेख्न मानेन। त्यसपछि पुनीतले अदालतमा उजुरी दिएका छन्। 'म फिल्म निर्मातालाई दु:ख दिन चाहन्न। मेरो चाहना फिल्मबाट मेरो नम्बर हटाइयोस् भन्नेमात्र हो।', उनले भने।

फिल्म अर्जुन पटियालाका निर्देशक रोहित चौहानले यो विषयमा प्रतिक्रिया दिन मानेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.