|

डोटी : बाजुरामा रहेको प्रसिद्ध शक्तिपीठको रूपमा रहेको बडीमालीका तीर्थयात्रा डोटीबाट शुक्रबारदेखि सुरु गरिएको छ। बडीमालिका सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ। बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजाआजा गर्नका लागी डोटीबाट हरेक वर्ष सरकारी टोलीलाई पूजा सामग्रीका जाने गर्दछ।

बाजुरा जिल्लामा रहेको बढीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुदर्शीका दिन लाग्ने मेलामा डोटीबाट पूजा पेटारो (पूजा सामग्री) लैजाने गरिन्छ। सरकारी कर्मचारीहरूको एक टोलीले नै उक्त पेटारो पूजा सामग्रीको पोको लैजाने गर्दछन्।

नेपाल एकीकरण हुनुपूर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पूजा पठाउने चलन रहेको भए पनि पछिल्लो सयम नेपालमा राज्य संचालन गर्ने शाह बंशीय राजा, राणाकालीन अवस्थाका बढा हाकिम तथा हालको सरकारले समेत पूजा सामग्री पठाउने चलन रहेको छ। जुन परम्पराको अहिलेसम्म पनि निरन्तरता रहेको छ।

जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रीक विधिले पूजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई बिदाइ गरिन्छ।  शैलेश्वरी मन्दिरका मूल पूजारी प्रेमशंकर भट्टले भने, ‘ठाउँ–ठाउँमा बास बसी १५ दिनपछि पेटारो बढीमालिका पुग्ने गर्दछ।’

भगवतीका सात बहिनीमध्ये कान्छी बहिनी मानिने बडीमालिका भगवतीको रथयात्रालाई जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासनको कार्यालय परिसरमा नेपाली सेना र नेपाल प्रहरीको एक टुकरीले सलामीसहित टोलीलाई बिदाइ गर्ने चलन रहँदै आएको छ ।

प्राचिन कालदेखि डोटीबाट बडिमालिकाका लागि पेटारो पठाउने प्रचलनअनुसार यस वर्ष पनि एक टोलीसहित उक्त पेटारो बडीमालीकाका लागि पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने ‘भगवतीका विभिन्न सातवटा बहिनी शैलेश्वरी, त्रिपुराशुन्दरी, डिलाशैनी, उग्रतारा, निङलाशैनी, पूर्णागिरी र मालिकामध्ये मालिका कान्छी बहिनी रहेको र भौगोलिक रूपले टाढा भएका कारण उनलाई खुशी पार्न पूजा पठाउने गरेको किम्बदन्ती छ।’ 

पेटारोमा पूजामा सुन जनै, चाँदीको मूर्ती, छत्र बाँसुरी समेतको ऐना, काइँयो, डोली र दिपायल गुठीको धानको भुरुणी पठाउने गरिन्छ। सरकारी टोलीलाई गन्तव्यसम्म पुग्नका लागि अछाम, बाजुरा जिल्लाको सुरक्षा समितिसँग कुरा भएको र विशेष सुरक्षा व्यवस्था समेत मिलाइएको समेत प्रजिअ पौडेलले बताए। सरकारी टोली साउन २९ गते मालिकामा सम्पन्न हुने विशेष पूजामा सरिक हुनेछ। बडिमालिकाको मेलापश्चात मेलाको प्रसादसहित उक्त पूजा टोली डोटी फिर्ता हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.