नेपाललाई हिन्दु राष्ट्र बनाउन डा. दीक्षितले मागे भारतको सहयोग

|

ललितपुर : भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका विदेश मामिला विभाग इन्चार्ज डा. विजय चौथइवालेले नेपालमाथि हाबी हुने कुनै पनि काम भारतले नगर्ने बताएका हुन्। उनले भारतले नेपाल विरुद्ध कुनै पनि प्रकारको गोप्य डिजाइन बनाएर नखेलिरहेको पनि बताएका छन्।

नेपाल-भारत मैत्री समाजले शनिबार ललितपुरमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा डा. चौथाइवालेले भारतले नेपाललगायतका छिमेकीसँग प्रधानमन्त्री नरेन्द्र मोदीको नीति अनुसार नै सम्बन्धलाई बलियो बनाउन चाहेको बताए। नेपालमा भारत हाबी हुन खोजेको भन्ने मानसिकता रहेकोप्रति आफू सचेत रहेको बताउँदै उनले भने, ‘नेपालमाथि हाबी हुन भारतले गोप्य डिजाइन गरिरहेको छ भन्ने यहाँ परेकोबारे हामी पूर्ण जानकार छौँ। हामी यहाँ हाम्रा सहयोगी हात बलियो बनाउन आएका हौँ। यहाँ हाबी हुनका लागि आएका होइनौँ।’ उनले नेपाल सार्वभौम मुलुक भएको सोहीअनुसार भारतले सम्बन्ध राख्ने प्रस्ट पारेका थिए।

नेपालसँग व्यवहारिक सम्बन्ध चाहेको र त्यो दुवै मुलुकको समातेका आधारमा हुनुपर्ने डा. चौथाइवालेको धारणा थियो। उनले नेपालसँग सांस्कृतिक, सामाजिक, व्यापारिक र पौराणिक सम्बन्ध रहेको बताए। उनले विगतमा पनि राम्रो सम्बन्ध रहेको र आगामी दिनमा पनि त्यसले निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताए। नेपाललाई भारतीय प्रधानमन्त्री मोदीले पनि महत्त्व दिएको उनको भनाइ थियो। पहिलो कार्यकालमा पटक पटक भ्रमणमा आउनु, विभिन्न धार्मिक सम्पदाको भ्रमण गर्नुमा मोदीको नेपाल मोह झल्किएको उनको दाबी थियो।

सार्क पुनर्स्थापना हुनेमा आशङ्का

दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) अहिले निष्क्रिय अवस्थामा छ। यसको पछाडि शक्तिशाली सदस्य राष्ट्र भारत र पाकिस्ताबीचको फाटो हो। भारत र पाकिस्तानबिचको आपसी बेमेलले सार्क कोमामा गए सरह छ। हाल नेपाल यसको अध्यक्ष राष्ट्र छ। नेपालका उच्च सरकारी पदाधिकारी भारत भ्रमणमा जाँदा होस् कि उताका यता आउँदा होस् ‘सार्कको बारेमा के हुन्छ?’ भन्ने प्रश्न उठ्ने गरेको छ। लामो समयदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन।

आजको अन्तरक्रिया कार्यक्रममा पनि यो विषयले प्रवेश पाएको थियो। पूर्वराजदूत प्रधुम्न शाहले सार्कलाई अगाडि बढाउनेबारे भारतको धारणा के हो? भनेर प्रश्न गरेका थिए। शाहले बिम्स्टेकलाई सार्कको विकल्पका रूपमा अगाडि सार्ने भारतको नीति गलत भएको भन्दै यसमा प्रधानमन्त्री मोदीको धारणा के हो? भन्ने जिज्ञासा राखेका थिए। भारत-पाकिस्तानको आपसी समस्याले सार्कजस्तो संस्था धराशायी हुन नहुने शाहको भनाइ थियो।

जवाफमा डा. चौथाइवालेले ‘भारत वर्तमान अवस्थामा पाकिस्तानसँग एउटै टेबुलमा बस्ने सक्ने अवस्था नरहेको’ धारणा राखे। निर्णय गर्ने अधिकार भारत सरकारको भए पनि आफ्नो पार्टी भने पाकिस्तानसँग कुरा गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले विगतमा प्रधानमन्त्री मोदीले सम्बन्ध सुधारका लागि पाकिस्तान भ्रमण गर्नुका साथै आफ्नो पहिलो पटकको प्रधानमन्त्रीको शपथग्रहणमा पाकिस्तानसहित सार्क मुलुकका प्रधानमन्त्री र राष्ट्रपति (कार्यकारी प्रमुख)लाई बोलाएको बताए। पाकिस्तानमा रहेका आतंकवादीले भारतमाथि पटक पटक आक्रमण गरेको र त्यहाँको सरकारले ती आतंकवादीविरुद्ध कुनै पनि ठोस कदम नचालुन्जेल पाकिस्तानसँग सम्बन्ध सुधार नहुनेमा आफू विश्वस्त रहेको उनको धारणा थियो। उनले भारत-पाकिस्तान दुई देशबीचको समस्या रहेकाले अन्य मुलुकले धेरै चासो दिन नहुनेमा पनि सचेत गराएका थिए। केही दिन पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरको मुद्दामा बोले पनि भारत-पाकिस्तानको विवाद दुई पक्षीय भएको चौथाइवालेको भनाइ थियो।

सार्कको विकल्पमा भारतले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई अगाडि सारेको छ। चौथाइवालेले आफ्नो मन्तव्यको क्रममा त्यसको पनि जिकिर गरेका थिए।

दीक्षितले मागे हिन्दु धर्म पुनर्स्थापनाका लागि भारतको सहयोग

भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. चौथाइलेवालेसँग नागरिक अगुवा भनिएका डा. सुन्दरमणि दीक्षितले नेपालमा हिन्दु धर्म पुनर्स्थापनाका लागि सहयोग मागेका छन्।

कार्यक्रममा आफ्नो धारणा राख्दै डा. दीक्षितले भने, ‘हाम्रो हिन्दु र बुद्ध धर्म नाश गरिएको छ। धर्मबिना हामी कुनै पनि उपलब्धि गर्न सक्दैनौँ। भारतले नेपालमा हिन्दु धर्म पुनर्स्थापना गर्न सहयोग गर्नुपर्छ।’ नेपालका नेताहरूले हिन्दु धर्म नाश गरेको डा. दीक्षितको गुनासो थियो। उनले नेपालमा चीन पस्यो भनेर भारतीयले नेपालीलाई चीनतिरै जाऊ भन्ने गरेको भन्दै दुखेसो पनि पोखे। उनले नेपाल चीनतिर पनि नढल्किएको र सबै नेपाली कम्युनिस्ट पनि नबनिसकेकाले भारतले नेपालमा हिन्दु धर्म पुनर्स्थापना गर्न सहयोग गर्नुपर्ने माग गरेका थिए।

यसको जवाफमा भने डा. चौथाइलेवालेले कुनै प्रतिक्रिया दिएनन्। भारतीय जनता पार्टीले भारतमा पनि हिन्दु धर्मलाई प्राथमिकता दिएको कतिपय अवस्थामा हिन्दु अतिवादीहरूलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ। उसले नेपाललाई पनि हिन्दु राष्ट्र बनाउन भित्रभित्रै भूमिका खेलेको भन्ने आरोप खेप्दै आएको छ। तर, यसै विषयमा डा. दीक्षितले सहयोग माग्दा उसका विदेश विभाग इन्चार्जले कुनै जवाफ दिएनन्।

नेपाल-भारत समस्या : सीमा र व्यापार घाटा

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल भारतको त्रेतायुगदेखिको सम्बन्ध रहेको, राम र सीताको पालादेखि सम्बन्ध रहेको र यस्तो सम्बन्ध कुनै पनि मुलुकबीच नरहेको बताउँदै नेपाल भारतबीचका समस्या पनि राखे। उनले भारतसँग अत्यधित व्यापार घाटा, सिमानामा हुने असुविधा राखेका थिए। उनले भारतले सिमानामा निर्माण गरेका बाँधदेखि विगतमा लगाएका नाकाबन्दीको पनि समस्याका रूपमा संकेत गरेका थिए।

महतले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले आफ्नो हित रोज्ने बताए। उनले नेपाल भारत र चीन कतैतिर पनि नढल्केर आफ्नो हित खोज्ने धारणा राखे।

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका सदस्य महिन्द्रराय यादवले नेपाल-भारतको सम्बन्ध सुमधुर बनाउने हो भने सिमानामा देखिने समस्या समाधान गर्नुपर्ने धारणा राखे। उनले नेपाल भारतको संयुक्त प्रबुद्ध वर्गको समूहमा मधेसका मान्छेलाई नराखेकोमा गुनासो राखे। उनले भने, ‘प्रबुद्ध वर्गको समूह बन्यो जसमा मधेसीलाई राखिएन। त्यसमा हामीलाई शंका छ। मधेसको सहमति बिना सन् १९५० को सन्धिमा कुनै प्रकारको परिमार्जन भए हामीलाई मान्य हुने छैन। मधेसमा के प्रबुद्ध व्यक्ति छैनन्?’ संघीय संसद प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका उनले ‘मधेसको समृद्धि भएमात्रै नेपाल र भारतको सम्बन्ध बलियो हुन्छ’ भनेका थिए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, पूर्वमन्त्रीहरू,वर्तमान सांसदहरू, पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल, पूर्वराजदूतहरू, पूर्वसांसदहरू, विभिन्न पार्टीका नेतालगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.