|

रौतहट : रौतहट हुँदै बग्ने बागमती नदी र लाल बकैया नदीमा दिगो बाध नबाँधेसम्म रौतहट सधैँ डुबानमा पर्ने निश्चित रहेको छ। बागमती र लाल बकैया नदीले बाध फुटाएर गाउँमा पसेको कारण रौतहटको गौर नगर क्षेत्रलगायत सीमा क्षेत्र हरेक क्षेत्र डुबानमा परे। लाल बकैया नदीमा आएको ठूलो बाढीले पूर्वी र पश्चिमी तटबन्धको ९ स्थानमा भत्काएको छ।

बाध मर्मत नहुँदा त्यस भेगका बासिन्दा पुनः बाढी आउन सक्ने सम्भावनाबाट त्रसित बनेका छन्। स्थानीय पटकपटक भत्किएका तटबन्धलाई मर्मत गरेर बाढीको त्रासबाट जोगाउन सम्बन्धित कार्यालय निकायसँग आग्रह गरे पनि बजेटको अभाव देखाएर खासै चासो नलिँदा जनता त्रसित भएका हुन्।

गत असार २७ र २८ गते लाल बकैया नदीमा आएको बाढीबाट गौर नगरपालिकाको महादेवपर्टीमा ३२ मिटर, देवाही गोनाही नपाको दोहरटोलमा २२५ मिटर, करुनियामा ४२ मिटर, कटहरियामा १५५ मिटर, बुनियाद ३७ मिटर, लक्ष्मिपुरमा २७ मिटर तेजापाकडमा ४४२ मिटर, इनर्वामा ६० मिटर र वैरियामा २०० मिटर गरी ९ स्थानमा १२२० मिटर तटबन्ध भत्किएको छ।

यसैगरी बागमती नदीले गढीमाई नगरपालिकाको लक्ष्मिपुरमा ३९ मिटरमा बाँध कटान गरेको, रादेवी नपाको ब्रम्हपुरी, बसतपुर दुर्गा भगवती गाँउपालिकाको बडहर्वा र मत्सरीमा गरी एक किलोमिटर बाँधको वेड कटान गरेका छन्। सर्लाहीतर्फ धुर्वामा १२० मिटर, मानपुरमा ४७ मिटर बाँध फुटेको छ भने राजघाट र हजरियामा १३ सय मिटर बाँध छेउको जग्गा कटान गरेको वागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालयले जनाएका छन्।

उक्त नदीको दुईतर्फी बाँध भत्किदा सो भेगमा बसोबास गर्ने बासिन्दा बाढी र डुवानको चपेटामा परेर जनधनको ठूलो क्षति बेहोरोको इनर्वाका स्थानीय दिलीप यादवल बताए। लाल बकैया र बागमती नदी दुवै संघीय सरकारको मातहतमा रहेको तर मर्मत गर्न बजेट नरहेको बहाना देखाएर रौतहटका जनतालाई थप पीडा दिएको उनले गुनासो गरे।

तेजापाकड, इनर्वासहितका केही स्थानमा परोहा नगरपालिका र बौधीमाइ नगरपालिकाको लगानीमा मर्मत कार्य भइरहेको छ। उक्त कार्य गर्नका लागि वागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालयबाट प्लाष्टिकको डोरी र बोरा उपलब्ध गराएर भत्किएका उक्त स्थानमा स्पर बनाई मर्मत कार्य भइरहेको बौधी माई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले बताए। बौधीमाईको इनर्वा र परोहाको तेजापाकडमा बाँस पाइलिङ गरेर स्पर निर्माण गरी खोलाको धार फर्काउने कार्य भइरहेको नगर प्रमुख यादवले जानकारी दिए।

यस्तै, परोहा नगरपालिकाको तेजापाकडमा भत्किएको ४४२ मिटर बाँधलाई मर्मत गर्ने कार्य भइरहेको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले जानकारी दिए। स्थानीय तहकै बजेटबाट बाँस पाइलिङ र स्पर बनाउने कार्य भएको हुँदा खोलाको धार बाहिर आउन नसकेको उनले बताए। स्पर बनाउन तथा बाँध मर्मत गर्ने कार्यमा स्थानीयको सहयोगकै कारण धेरै सफलता प्राप्त भएको स्पष्ट पारे।

बागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले गत आर्थिक वर्षमा नयाँ कार्यालय स्थापना भएको हुँदा बजेट विनियोजित नभएको कारण बजेटको अभाव रहेको बताए। बाढीबाट लाल बकैया र बागमती नदीमा भएको क्षतिबाट तटबन्धको संरचना ध्वस्त हुँदा करिव ५ करोडको स्टिमेट ऊर्जा तथा सिंचाई मन्त्रालयमा पठाए उनको भनाइ छ। यद्यपि दुवै नदीको बाँधलाई मर्मत गर्न १३ करोडभन्दा बढी रकम खर्च हुने प्राविधिक रिपोर्ट आएको प्रमुख श्रीवास्तवले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी किरण थापाले बकैया र बागमती नदीको भत्किएका संरचनालाई अविलम्ब मर्मत गराइ जनतालाई बाढी र कटानको त्रासबाट मुक्ति दिलाउन स्थानीय तहका प्रमुखहरूसँग आग्रह गरेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.