भारतीय तरकारीको विषादीले स्थानीय किसान मालामाल

|

पर्वत : जिल्लाको कुस्मा नगरपालिका-८ कटुवाचौपारीकी रत्ना अधिकारीको दैनिकी नजिकै रहेको कुस्मा बजारमा डोकोमा तरकारी लगेर डुलाउँदै बिक्री गर्नु हो। केही समय पहिलेसम्म उनले डोकोमा बोकेर ल्याएको तरकारी बिक्री हुन अलि कठिन हुन्थ्यो।

डोकोमा तरकारी बोकेर बजारभर डुल्दा पनि तरकारी बिक्री नहुने र बिक्री भए पनि राम्रो भाउ नपाउने अवस्था थियो। बोकेर बजारसम्म लगेको तरकारी घर फर्काएर लैजाने कुरा भएन, यही कारण ‘कौडीको भाउ’ अर्थात् सस्तो मूल्यमा कुनै व्‍यापारीको पसलमा तरकारी छोड्नुपर्ने उनको बाध्यता थियो।

अहिले भने उनले डोकोमा तरकारी बोकेर बजारको छेउमा निस्कन नपाउँदै तरकारी सबै सकिन्छ। एकैछिनमा नै बिक्री भएपछि ‘लौ हजुर लोकल हरियो तरकारी आयो’ भन्दै कराउनु पर्दैन। ‘पहिले पहिले डोकोमा ल्याएको तरकारी किन्न इज्जत नै जान्छ कि जस्तो गर्नेहरू अहिले डोकोमा बोकेको तरकारी पर्खिएर बस्छन्।’

अधिकारीले भनिन्, ‘कति दुःख र लगानी गरेर तरकारी लगायो बजारमा आउँदा महँगो भयो भनेर कसैले नकिन्ने, दुःख गरेर फलाएको सस्तैमा छरेर जान पनि नसकिने। अहिले भने बजार आउँदासाथ एकैछिनमा तरकारी बिक्री हुन्छ।’

भारतीय तरकारीको विषादीले स्थानीयलाई फाइदा

बजारमा सस्तो दरमा पाइने भारतीय तरकारीले स्थानीय कृषकहरूले उत्पादन गरेको तरकारीलाई विस्थापित गरिदिएको थियो। तर भारतबाट नेपाल भित्रिने तरकारीमा विषादी रहेको र नेपालीहरूले अत्यधिक मात्रामा विष खाइरहेको तथ्य बाहिर आएपछि नेपाली बजारमा बाहिरबाट आउने तरकारीको माग घटेको छ।

डोकोमा बोकेर ल्याएको तरकारी गाउँकै उत्पादन हो भनी विश्वास मान्न सकिने भएका कारण स्थानीय ठाउँमा तरकारी उत्पादन गर्दै आएका कृषकहरूको तरकारीले राम्रो ठाउँ पाएको छ। स्थानीय तरकारीलाई विस्थापित गर्ने तरकारी बजारमा नहुँदा तरकारी खेती गर्दा आएका कृषकहरूमा नयाँ जोस पलाएको छ।

झन्डै २ वर्ष पहिले गाउँमा तरकारी फलाएर सदरमुकाममा बिक्री गर्न आउने फलेवास नगरपालिकाका कृषक दीपक शर्माले तरकारी बेचेर राम्रो आम्दानी गर्न सकेनन्। अहिले भने उनले छोडेको काम फेरि सम्हालेका छन्। बजारमा तरकारीको अभाव रहेको र भएको तरकारीको दर महँगो भएको थाहा पाएपछि उनले छिमेकीका घरमा फलेको तरकारी पनि खरिद गरेर बजार ल्याउँछन्।

व्यापारीले किन्दैनन् भारतीय तरकारी

भारतबाट नेपाल आयात हुने तरकारीमा रहेको विषादीको मात्रा परीक्षण नभएका कारण उपभोक्ताले आयातित तरकारी खरिद गरेका छैनन्। यही कारण व्यापारीहरूले पनि पहिलेकै परिमाणमा तरकारी ल्याउन छाडेका छन्। बजारमा तरकारीको अभाव भएको छ भने आएको तरकारी बिक्री हुने दर पनि घटेको छ।

सस्तो मूल्यमा आउने गरेको तरकारी नै बजारमा नहुँदा स्थानीय तरकारीले ठाउँ त पाएको छ तर माग धान्न सक्ने अवस्था छैन। यही कारण जति मात्रामा तरकारी बजारमा उपलब्ध त्यसको मूल्य अकाशिएको छ।

भान्सामा तरकारी पकाउनै पर्ने बाध्यताका बिचमा उपभोक्ताले महँगो मूल्यमै भए पनि तरकारी किन्न बाध्य भएका छन्। ‘पोहोर यही बेलामा ३० रुपैयाँ किलोसम्म पनि करेला किनेको हो अहिले एक सय सम्म तिरियो’ उपभोक्ता सरिता पौडेलले भनिन, ‘तरकारी किन्न सक्ने अवस्था नै छैन। बजारमा मनपरी मूल्य छ।’

गत वर्षको यही समयमा बजारमा करेला, घिरौँला, चरेला, लौका, चिचिन्ना, भन्टा, रामतोरीया, फर्सीको मुन्टा सस्तोमा पाउने गरेको भए पनि अहिले तेब्बरसम्म महँगो भएको उपभोक्ता बताउँछन्। बाहिरबाट ल्याएको तरकारीलाई उपभोक्ताले विश्वास मान्ने अवस्था नरहेका कारण स्थानीय उत्पादनको माग बढी हुँदा तरकारी महँगो भएको तरकारी व्‍यापारीहरुको भनाइ छ।

‘तरकारी किन्न आउनेहरूले यहीँका गाउँबाट खरिद गरेको तरकारीलाई पनि बाहिरको हो कि? भन्नुहुन्छ।’ व्यापारी विजय थापाले भने, ‘गाउँतिरबाट यहाँसम्म आउँदा नै तरकारी महँगो परेको छ। तराईतिरबाट ल्याएको त बिक्री नै हुँदैन, ग्राहकले भर्खर टिपेको जस्तो ताजा नदेखिएसम्म किन्दैनन्। बासीजस्तो देखियो भने तराईबाट आएको हो, यसमा त विषादी हालेको छ भन्नुहुन्छ।’

महँगीले भान्सामा तरकारी पुग्‍नै मुस्किल

स्थानीयस्तरमा उत्पादित स्वदेशी तरकारीले राम्रो बजार पाएका भए पनि त्यो तरकारीको मूल्य महँगो पर्दा धेरैका भान्सामा हरियो तरकारी पाक्न सकस भइरहेको छ। भारतबाट आउने तरकारीमा विषादी भएको भनी देशैभरी चर्चा चलिरहँदा स्वदेशी तरकारीमा प्रयोग गरिने विषादीको भने चर्चा भएको छैन।

तरकारी बाहिरको होस वा भित्रको कुनैमा पनि स्वास्थ्यलाई हानी गर्ने विषादी हालिनु गलत हो। भारतीय तरकारी बजारमा नपाएको मौकामा स्थानीय कृषकले पनि छिटो आम्दानी गर्ने लोभमा विषादीको प्रयोग नगर्लान भन्न सकिन्न। यसतर्फ पनि सम्बन्धित निकाय र उपभोक्ताले चासो दिन आवश्यक रहेको उपभोक्ता अधिकारकर्मीहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.