मृत्यु हुनेको संख्‍या तीन पुग्‍यो

|

बागलुङ : अविरल वर्षासँगै बागलुङको तमानखोला गाउँमा खसेको पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव पहिरोबाट निकालिएको छ। पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। तमानखोला गाउँपालिका–४,लाम्लेलामा आइतबार राति करिब १:३० बजे गाउँको १ सय ५० मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका हजुरआमा, र नातिको मृत्यु भएको हो।

७० वर्षीया अनसरी श्रीपाली र उनका १२ वर्षीय नाति प्रवीण श्रीपालीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। पहिरोले पुरिँदा अर्को घरकी ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको पनि मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। पञ्चकुमारीको सोमबार बिहानै शव फेला परेको थियो भने प्रवीण र अनसरीको शव सोमबार बिहान ११ बजे पहिरोबाट निकालिएको हो।

घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिँदै

पहिरोमा परी गम्भीर घाइते भएका तीनजनालाई हेलिकोप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको छ। प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फट काठमाण्डौ पठाउन लागिएको हो।

हेलिकोप्टर ल्याण्ड गर्न घटनास्थल नजिकै उपयुक्त ठाउँ नभएकाले घाइतेलाई नै उपयुक्त ठाउँमा सार्ने काम भइरहेको तमानखोला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए। काठमाण्डौ पठाउन लागिएकामध्ये ओमबहादुर श्रीपालीको टाउकोमा गम्भीर चोट लागेको छ भने ढाडभन्दा तलको भाग चल्दैन।

उनको कानबाट रगत आएकाले तत्कालै हेलिकोप्टर मगाएर उपचारका लागि पठाउन लागिएको हो। अर्का घाइते अनील श्रीपालीको टाउकोमा चोट छ, हात भाँचिएको छ भने अर्का घाइते अनिल श्रीपालीको पनि टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

पहिरोले त्यहाँ ४ वटा घर पूर्णरुपमा भत्किएका छन भने ३ घरमा आंशिक क्षति पुगेको छ। घटनास्थलमा अहिले प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन्। प्रहरीसहित पुगेको मेडिकल टोलीले अरू चारजना सामान्य घाइतेको उपचार गरिरहेको प्रनाउ भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.