सडक छेउमा भएको पेट्रोल पम्पले ट्राफिक व्यवस्थापनमा समस्या

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ पेट्रोलपम्प खोल्नलाई अनुमति नदिने भएको छ। महानगरपालिका भित्रको पछिल्लो समयमा सडकको विस्तार गर्नुपर्ने र मापदण्ड विपरित निर्माण भएकोले नयाँ पेट्रोल पम्प खोल्न नदिने निर्णय गरेको हो।

अधिकांश पेट्रोलपम्प सडकको किनारमा भएकोले र सडक विभागको मापदण्डविपरीत निर्माण भएका बताइएकाे छ। नेपाल आयल निगमबाट अनुमति लिएपनि काठमाडौं महानगरपालिका भित्र नयाँ पेट्रोल पम्प खोल्न नदिने सहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए। उनका अनुसार सडकका आसपासमा रहेका पेट्रोल पम्प समेत हटाउने तयारी भइरहेको छ। केही पम्पलाई कारवाही पनि गरिसकेको छ। केही पेट्रोल पम्प आफैँ हटदै गइरहेका छन।

महानगरपालिकाले सडकको छेउमा भएको जोखिमयुक्त पेट्रोल पम्प हटाउनलाई सहरी सु-व्यवस्था ऐन निर्माण गर्ने भएको छ। पेट्रोल पम्प हटाउनको लागि कुँवरको संयोजकत्वमा आयल निगमका प्रतिनिधि, सडक विभाग र यातायात विभाग र नगर प्रहरीको प्रतिनिधिसहित एक समिति निर्माण भएको थियो।

उक्त समितिले नयाँ ऐन निर्माण गरी भएका पेट्रोल पम्पलाई हटाउनलाई प्रतिवेदन बुझाएको हो। महानगरपालिका भित्र २० वटा पेट्रोल पम्प जोखिम रहेको कुँवरले जानकारी दिए। केही पेट्रोल पम्पलाई हटाएको र कारवाही प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए ।

स्थानीय सरकाराले एक्कासी कुनै संरचनाहरू तत्कालै हटाउन नमिल्ने कुँवरले बताए। प्रक्रिया मिलाएर र कानुन निर्माण गरी मापदण्डविपरीत निर्माण भएका पेट्रोल पम्प हटाउने उनले जानकारी दिए। उपत्यकामा भएका सम्पूर्ण स्थानीय निकायलाई सहज हुने गरी कानुन निर्माण गरिने उनको भनाइ छ।

ऐन निर्माण भएपछि हरेक पेट्रोल पम्पले शौचालय, फायर एक्स्टिङ्गजर र होटल पनि सञ्चालन गर्नुपर्ने छ। काठमाडौंमा सञ्चालित पेट्रोल पम्प अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण नभएको उनले बताए। उनले भने,  'कानुन निर्माण हुने बितिकै सडक छेउमा भएका पेट्रोल पम्प हटछ। सहरीकरणलाई व्यवस्थित गर्नको लागि भए पनि सहरी-सुव्यवस्थित ऐन ल्याउन लागिएको हो।'

सडक छेउमा भएका पेट्रोल पम्पले ट्राफिक व्यवस्थापनमा समस्या ल्याइरहको उनले बताए। उनले भने,' सडकमा सवारी साधन रोकी-रोकी पेट्रोल हाल्छन।' सडक मापदण्ड पहिलोपटक २०५७ बनेको थियो। र यसकाे दोस्रो संशोधन २०६३ मा भएको थियो। दोस्रो संशोधन भएपछि केही पेट्रोल पम्प निर्माण भएका हुन।

उनले पेट्रोल पम्पले सडकलाई अव्यवस्थित बनाइरहेको प्रतिक्रिया दिए। महानगरपालिकामा २०५७ सालदेखि नयाँ पेट्रोल पम्प नखोलिएको पनि उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.