'एक खुट्टो मन्त्रालयमा, अर्को कन्सल्टेन्सीमा राख्‍न‍े कर्मचारीलाई कारबाही'

|
फोटो : रासस

काठमाडौं : परराष्ट्र सेवामा रहेका कर्मचारी विदेशस्थित नियोगमा काम गर्न जाँदा निजामती सेवामा कार्यरत आफ्ना श्रीमान-श्रीमतीलाई पनि साथमा लैजान पाउने व्यवस्था छ।

आफ्नो श्रीमान वा श्रीमती विदेशस्थित नियोगमा खटिएमा निजामती सेवामा कार्यरत कर्मचारीले असाधारण विदा लिएर जाने गर्छन्। असाधारण विदा लिएको कर्मचारीले तलब भने पाउँदैनन्।

तर, ती कर्मचारीले विदेशस्थित नियोगमा भने नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट सयौँ डलर तलब सुविधा पाउने गर्दछन्। संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा आफ्नो श्रीमान अथवा श्रीमतीसँग त्यसरी जाने कर्मचारीलाई परराष्ट्र मन्त्रालयमार्फत पाउने तलब सुविधा कटौती गर्नुपर्ने आवाज सांसदहरूले उठाएका छन्।

समितिको मंगलबारको बैठकमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले श्रीमान वा श्रीमती नै निजामती सेवामा भएको अवस्थामा एकजना परराष्ट्र सेवामा भएमा दुवै विदेश जाने अवस्था आउने गरेको बताइन्। त्यसरी परराष्ट्र सेवामा रहेका श्रीमान वा श्रीमतीसँग जाने निजामती कर्मचारीलाई दिइने सुविधा काट्नुपर्ने उनको प्रस्ताव थियो।

संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद भुसालले भनिन्, 'कुटनीतिक नियोगमा श्रीमान वा श्रीमतीसँग जाने कर्मचारीलाई यता बेतलबी विदा दिइन्छ। उनीहरू उता १५०० डलर बुझ्छन्। त्यो परराष्ट्र मन्त्रालयबाट दिइने सुविधा हो। त्यसरी जाने कर्मचारीलाई उक्त सुविधा दिइने छैन भनेर कानुनमा लेखौँ।' यता बेतलबी विदा लिएर जाने र उता झन्डै एक लाख ५० हजार महिनाको बुझ्ने गरेकोमा उनको विरोध थियो।

उक्त प्रस्तावको नेकपाका सांसद झपट रावलले समर्थन गरेका थिए।

यता प्रतिपक्ष दलकी सांसद डा. डीला संग्रौला पन्तले भने असाधारण विदा दिनुपर्ने र कर्मचारीलाई भत्ता दिनैपर्ने धारणा राखिन्।

नेकपाका सांसद खगराज अधिकारीले भने परराष्ट्र सेवामा रहेका आफ्ना श्रीमान वा श्रीमतीसँग जाने कर्मचारीलाई तलब दिन नहुने तर भत्ता भने काट्न नहुने धारणा राखे। उनले मुलुकको इज्जतका लागि भए पनि त्यो सुविधा दिनुपर्ने माग राखे।  उनले त्यसरी जाने कर्मचारीलाई र कर्मचारीका आफन्तलाई विदेशमा काम गर्न नदिने कुरा कानुनमा लेख्नुपर्ने प्रस्ताव गरे।

उनले भने, 'कर्मचारीसँग जानेले काम गर्न पाउने छैन भन्ने कुरा लेख्नुपर्छ। कुटनीतिक कर्मचारीसँग जानेले त्यहाँ गैर कानुनी रूपमा काम गर्ने गर्छन् त्यो गर्न दिनु हुँदैन। भत्ता भने दिनुपर्छ।' उनले कर्मचारीले गलत मात्रै गर्छन् भन्ने मान्यता राख्न नहुन धारणा राखे। कुटनीतिक नियोग रहेको मुलुकअनुसार तलब र सुविधा दिनुपर्ने अधिकारीको सुझाव थियो।

जवाफमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले विदेशी कुटनीतिक नियोगमा जाने कर्मचारीका आफन्त कर्मचारीका लागि मात्रै असाधारण विदा प्रयोगमा आइरहेको बताए। उनले भत्ताको विषय कुटनीतिक विषय भएको भन्दै संवेदनशील भएर संसदले कानुन बनाउनुपर्ने सुझाव दिएका थिए।

मन्त्री लालबाबु पण्डितले त्यसरी जाने कर्मचारीलाई दिइने भत्ताबारे  परराष्ट्र मन्त्रालयसँग सल्लाह गरेर मात्रै अगाडि बढ्ने बताए। उनले कुटनीतिज्ञसँग गएर सुविधासमेत लिएर जानेले सम्बन्धित देशमा गैरकानुनी रूपमा काम गर्ने कुरा अपराध भएको बताए। उनले त्यस्तो विषयमा गम्भीर भएर कानुन बनाउनुपर्ने बताए।

विदेशस्थित कुटनीतिक नियोगमा जाने अधिकारीसँग उनीहरूका परिवार पनि जान पाउँछन्। उनीहरूले सरकारको तर्फबाट भत्ता र सुविधा पाउने गर्छन्।

एक खुट्टो मन्त्रालयमा अर्को कन्सल्टेन्सिमा राख्ने कर्मचारीलाई कारबाही गरौँ

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल सरकारको निजामती सेवामा पनि जागिर खाने र निजी कम्पनी तथा विदेश संघसंस्थामा काम गर्नेलाई कारबाही गर्ने व्यवस्था कानुनमा गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले भने, 'मन्त्रालयमा कार्यरत कर्मचारी विदेशी संस्थामा कन्सल्ट्यान्ट भएर काम गरेका हुन्छन्। नेपाल सरकारको स्रोत साधन विदेशी र निजी संस्थाको काम गर्न दुरुपयोग भइरहेको छ।' नेपाल सरकारका सचिवहरू नै त्यस्तो कार्यमा लागेकाले त्यसलाई निरुत्साहित गर्नुपर्ने सांसद सिंहको धारणा थियो।

'सचिवहरूकै एउटा खुट्टो मन्त्रालयमा हुन्छ अर्को कन्सल्टेन्सीमा रहन्छ', सांसद सिंहले भने, 'जबसम्म नेपाल सरकारको जागिरमा काम गरिरहेको हुन्छ तबसम्म विदाको बेलासमेत कन्सल्टेन्सीमा काम गर्न दिन रोक्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.