बल मिच्याइ गरेको एएफयुको आरोप

|

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) सँगको विवादबीच त्रिभुवन विश्वविद्यालय (टियु)ले चितवन इन्जिनियरिङ क्याम्पस रामपुरको सुभारम्भ गरेको छ। विगत लामो समयदेखिको जग्गासम्बन्धी विवाद समाधान नहुँदै त्रिविले कृषि विश्वविद्यालय परिसरमा इन्जिनियरिङ क्याम्पस शुभारम्भ गरेपछि टियु र एएफयुबीचको विवाद फेरि चर्किएको छ।

आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका १५ रामपुरमा रहेको जग्गामा क्याम्पस सञ्चालनको सुभारम्भ गरेको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रूपमा व्यानर खोलेर क्याम्पस सञ्चालनको सुभारम्भ गरेका हुन्।

त्रिवि र भरतपुर महानगरको संयुक्त सहकार्यमा सुभारम्भ भएको क्याम्पसमा यसै शैक्षिक सत्रबाट कम्प्युटर इन्जिनियरिङको पठनपाठन हुने जनाएको छ। आगामी शैक्षिक सत्रदेखि विभिन्न ७ वटा इन्जिनियरिङ विधाको पढाइ सुरु गर्ने लक्ष्य रहेको क्याम्पस सम्पन्न गराउन  करिब १९ अर्ब लाग्ने त्रिविले जनाएको छ। त्रिविले यस क्याम्पसलाई नेपालकै नमुना क्याम्पसका रूपमा सञ्चालन गर्ने बताएको छ।

त्रिविले बलमिच्याइ गरेको एएफयुको आरोप

कृषि तथा वन विज्ञान विश्वविद्यालयले त्रिविले बलमिच्याई गरेको आरोप लगाएको छ। विवाद समाधान नभई कृषि विश्वविद्यालय परिसरमा जबरजस्ती रूपमा त्रिवि छिरेको एएफयुको आरोप छ। विवाद समाधान नहुँदै क्याम्पस सञ्चालन गर्नु नियम संगत नभएकाले यसलाई तत्काल रोक्न त्रिविलाई आग्रह पनि गरेको छ।

नेपाल सरकार, भरतपुर महानगरपालिका, राजनीतिक दल, बुद्धिजीवि, विभिन्न पेशाकर्मीलगायत सबै सरोकारवाला पक्षसँग जग्गा विवाद सल्टाउन आवश्यक भूमिका निर्वाह गरिदिन एएफयुले अपिल गरेको छ।

सरकारको निर्णय र रजिष्टार तहको समितिले दिएको सिफारिसका आधारमा कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई त्रिविले जग्गा कित्ताकाट गरेर दिन पटकपटक अनुरोध गरे पनि बेवास्ता गरेको एएफयुको आरोप छ। एएफयुका रजिष्ट्रार प्राडा मनराज कोलाक्षपतिले आपसी सहमतिबाट समस्या समाधान गर्नुपर्ने अवस्था हुँदाहुँदै त्रिविले बलमिच्याई गरेको जनाउँदै आफ्नो ठाउँबाट हदैसम्मको लचिलो बन्न तयार रहेको बताए।

भरतपुर महानगरपालिका १५ रामपुरमा रहेको विश्वविद्यालयको ३३८ विघा जग्गामध्ये ४० विघा त्रिविलाई दिने र बाँकी २९८ विघा एएफयुलाई दिने यसअघि नै सहमति भइसकेको थियो। यस्तै,मकवानपुरमा रहेको १६० विघामध्ये १०० विघा त्रिविलाई र ६० विघा कृषि विश्वविद्यालयलाई दिने यसअघि नै सहमति भए पनि कार्यान्वयनमा नभएको भन्दै एएफयुले पछिल्लोपटक असन्तुष्टि जनाएको हो।

नेपालकै नमुना क्याम्पस बनाउने

त्रिविका उपकुलपति तीर्थ खनियाँले लामो समयपछि इन्जिनियरिङ क्याम्पस सञ्चालनमा आएकाले यसलाई सफल बनाउन सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। एएफयुले जग्गा विवाद नमिलाई इन्जिनियरिङ क्याम्पसको कामअघि नबढाउन चेतावनी दिइरहेको समयमा खनियाले भने ‘कृषि विश्वविद्यालय र त्रिविबीच कुनै द्वन्द्व रहने छैन, प्रतिस्पर्धीका रूपमा भन्दा पनि आपसी सहकार्यका साथ अघि बढ्नुपर्छ।’

त्रिविले ‘चितवन इन्जिनियरिङ क्याम्पस’ लाई नेपालकै नमुना क्याम्पसका रूपमा सञ्चालन गर्ने जनाएको छ। सरकारी लगानीको इन्जिजियरिङ क्याम्पस ३० वर्षपछि खुलेकाले यसलाई नमुना बनाइने बताए। क्याम्पसको स्थान चितवन भए पनि नेपालकै लागि गर्वको कुरा भएको उनको भनाइ छ।

खनियाँले शिक्षालाई उपलब्धिमूलक, व्यावसायिक र रोजगारमूलक बनाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए। उनले शिक्षाको सुधारका लागि सरकारले यस्ता इन्जिनियरिङ क्याम्पस अन्य स्थानमा पनि खोल्नुपर्नेमा जोड दिए। इन्जिनियरिङ क्याम्पस सञ्चालनमा त्रिवि र महानगरको सहकार्यले सिंगो देशलाई फाइदा पुगेको उपकुलपति खनियाँको दाबी छ।

शैक्षिक हब बनाउन महत्वपूर्ण कदम

भरतपुर महानगर प्रमुख रेनु दाहालले त्रिवि र कृषि विश्वविद्यालय बीचको जग्गा विवाद समाधानतर्फ अघि बढिरहेकाले क्याम्पस सञ्चालनमा कुनै समस्या नआउने विश्वास छ। शैक्षिक विकासका लागि सबै सरोकारवाला पक्ष मिलेरअघि बढ्नुपर्नेमा जोड दिँदै दाहालले शैक्षीक विकासमा सबै एक हुन आग्रह गरिन्। भरतपुरमा त्रिविको इन्जिनियरिङ क्याम्पस सञ्चालन हुनु चितवनलाई शैक्षिक हबको रूपमा अघि बढाउन महत्वपूर्ण कदम भएको उनले बताइन्।

विगत ६ महिनादेखिको प्रयास सफल भएको भन्दै दाहालले आगामी दिनमा अन्य धेरै शैक्षिक विकासका कार्यक्रमअघि बढाइने बताइन्। भरतपुरमा प्रहरी विद्यालय सञ्चालनमा आइसकेको, सिटिइभिटीअन्तर्गत प्राविधिक शिक्षालय, महिलाका लागि छुट्टै प्राविधिक शिक्षालय सञ्चालनको तयारी पनि भइरहेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.