|

इलाम : कृषि मन्त्री चक्रपाणि खनालले १० बर्षभित्र मुलुकलाई पूर्ण अर्गानिक बनाउने चालु आर्थिक वर्षदेखि काम सुरु गरिने बताएका छन्। जैविक विषादी, प्रांगारिक मल उत्पादनका लागि सरकारले देशका चार प्रदेशमा काम सुरु गर्न ५२ करोड बजेट विनियोजन गरिएको बताउँदै अर्गानिक नेपालको परिकल्पनामा सरकार दृढ भएर अगाडि बढ्ने उनले बताए।

इलामको सूर्योदय नगरपालिकामा किसान तथा चिया उद्यमीसँगको भेटमा खनालले कृषकलाई सहुलियतमा ऋण दिन भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए। विभिन्न शीर्षकमा अनुदानभन्दा भूमि बैंक स्थापना गरेर एकदेखि दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउँदा किसान बढी लाभाविन्त हुने देखिएको उनले बताए। चियाको राजधानीले परिचित सूर्योदय नगरपालिकामा लामो समयदेखि देखिएको चियाको समस्या समाधानका लागि इलाम आएका खनालले नेपाली चियाको जात, लोगो र बजारीकरणमा सरकारको विशेष पहल हुने बताए।

रसायनिक मल आपूर्तिमा बर्सेनि अर्बौं लगानी गरे पनि किसानमा समस्या थपिदै गएको उल्लेख गर्दै आगामी  दिनमा  रसायनिक मलमा अनुदानभन्दा पनि उद्योग स्थापना र जैविक मल उत्पादनमा सहयोग गरिने बताए। ‘अर्गानिक अभियानमा चालु आर्थिक वर्षमा ५२ करोड बजेट छुट्याउदा एक नम्बर प्रदेशमा १५ करोड परेको छ, यसले चिया किसानलाई पनि समेटछ’ उनले भने।

देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको चिया क्षेत्रमा दिगो समाधानका लागि चिया क्षेत्र समस्या समाधान उच्च स्तरीय कार्यदलले दिएको  प्रतिवेदन कार्यान्वयनमा सरकार अडिग रहेको धारणा राखे। उनले नगरका विभिन्न चिया कारखानाको अवलोकन भ्रमणसमेत गरे। 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपनिर्देशक दीपक खनालले  मजदुर आन्दोलनका कारण सिजनको शुरुमै चिया क्षेत्र धरापमा परेको कारण केही समयसम्म समस्या ज्यूतका त्यू रहने बताए। उनले चियाको सबैभन्दा उत्तम सिजन फस्ट फल्समै किसानको आन्दोलनले धरासायी बनेका उद्योग अझै तंग्रीन केही समय लाग्ने स्पष्ट पारे। मन्त्री खनाल समक्ष चिया किसान, मजदुर र उद्योगीले अनेकौ समस्याका राखेका थिए।

सूर्योदय नगरपालिकाको पहलमा अर्गानिक चिया उत्पादन अभियान शुरु भएको नगरका किसानले अर्गानिक चिया उत्पादन गर्दा लाग्ने लागतअनुसार बिक्री मूल्य नभएको गुनासो सुनाए। अर्गानिक चिया किसान अर्जुन भट्टराईले चियाको बजारीकरण र मूल्य निर्धारणका लागि मन्त्रालयले पहल गर्नु पर्ने बताए। चिया उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष प्रेम गुरुङले चिया क्षेत्रका राज्यबाटै विभेदकारी नीति आएकाले देशको अर्थतन्त्र धानेको चिया किसानको समृद्धि हुन नसकेको बताए।

सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले नगर क्षेत्रमा चियाको अक्सन सेन्टर स्थापना गर्नुपर्ने, स्थानीय क्याम्पसमा चिया विषयको पढाइ शुरु गर्नुपर्ने र नेपाली चियाको आफ्नै लोगो निर्माण गरी उक्त लोगोमार्फत चिया निर्यात गर्नुपर्ने माग राखे। अर्गानिक चियाका अभियान्ता तथा सरकारले गठन गरेको चिया क्षेत्र समस्या समाधान उच्च स्तरीय कार्यदलका सदस्य उदय चापागाईंले पहाडी क्षेत्रमा ९५ प्रतिशत साना किसान अर्गानिक चिया उत्पादनमा लागि रहेकाले उनीलाई मध्य बिन्दुमा राखेर चिया क्षेत्रका समस्या समाधान गर्न आफूहरूले प्रतिवेदन बुझाए पनि सरकारले कार्यान्वयन नगरेको बताए।

ट्रेड युनियनका प्रतिनिधिले चिया मजदुरका पक्षमा राज्यले लागू गरेको ज्याला कम भएको बताए। अन्य क्षेत्रमा काम गर्ने मजदुरको तुलनामा आठ घण्टा काम गर्ने चिया मजदुरलाई तीन सय ८५ रुपैयाँ मात्र दिएर उपेक्षा गरेको अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर एकका अध्यक्ष भूपाल सापकोटाले बताए।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले चिया क्षेत्रका समस्या समाधान गर्न मन्त्रालयले नगरपालिका संग सहकार्य गर्नुपर्ने बताए। सूर्योदय नगरपालिकामा साना ठूला गरी ६२ चिया कारखाना रहेका छन्। नगरले प्रतिकिलो ग्राम अर्गानिक चियाको मूल्य ४० रुपैयाँ तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.