सबैभन्दा बढी शिक्षामा र सबैभन्दा कम कृषिमा

|

मुगु : मुगु जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ।

गत असार १० गते उद्घाटन भई ३१ गते समापन भएको छायानाथ रारा नगरपालिकाको पाँचौँ नगरसभाले सर्वसम्मत पारित गरेको नीति, कार्यक्रम तथा बजेट बुधबार जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिकाले सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रम नगर प्रमुख हरिजंग शाही र बजेट उपप्रमुख सुन्तला रोकायाले बाचन गरेर सार्वजनिक गरका थिए।

कार्यक्रममा बोल्दै नेकपा मुगु जिल्ला कमिटीका सदस्य सन्तोस मल्लले कार्यक्रम जनमुखी भएका र सफल कार्यान्वयनको लागि आफ्नो पाटीको साथ रहने बताए। नेपाली कांग्रेस मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लले कार्यक्रम, बजेट बाँडफाड राम्रो भए पनि कार्यान्वयनमा आफूलाई शंका लागेको बताए।

सार्वजनिक गरिएको नगरको यो अबको कुल ५२ करोड बजेटमा सबैभन्दा बढी शिक्षामा र सबैभन्दा कम कृषिमा विनियोजन गरिएको छ। वडा स्तरबाट छनोट गरिएर आएका योजना, नगरका गौरवका योजना, नियमित र विगत वर्षमा नगरले अवलम्बन गदै आएका कार्यक्रममा विनियोजन गरिएको छ।

नगरपालिकाले नगर क्षेत्रमा विधुत् अनियमिताको समस्यालाई समाधान गर्न नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वयमा यो आर्थिक वर्षबाट १ मेगावाड क्षमताको विधुत् उत्पादन गर्न २ करोड रकम छुटाएको छ भने मुगु जिल्लामा रहेको नेपालकै ठूलो र गहिरो ताल रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला सदरमुकाम गमगढीमा बसाउन र धार्मिकस्थल छायानाथको दर्शन गराउन गमगढी–बालै–राताचौर सडकलाई बहु वर्षीय योजनामा लागि सडक बनाउन ५० लाख रकम विनियोजन गरिएको छ।

यस्तै मेयर स्वरोजगार कार्यक्रम, गरिबसँग मेयर कार्यक्रम, मेयरकप प्रतियोगिता, कवडहल निमार्ण, छायानाथ सभाहल निमार्ण, गमगढीमा मेयर पार्क निमार्ण, डम्पिङ साइड निमाण, पत्रकार महासंघ भवन निमार्णा, सडक बत्ती, गमगढी बिपी मार्ग हुँदै मूल सडकसम्म सडक निमार्णलाई नगरपालिकाले गौरवका योजना भनी रकम विनियोजित गरेको छ।

नगरसभाले अनुमोदन गरेर कार्यविधि बनाई चालु अवस्थामा रहेका कार्यक्रम एक छोरी एक खाता, एकल पुरुष प्रोत्साहनभत्ता, दुई सन्तान स्थायी बन्ध्याकरण गर्ने दम्पति प्रोत्साहन भत्ता, प्रारम्भिक बाल विकास कक्षाका शिक्षक प्रोत्साहन भत्ता, स्वास्थ्य स्वयंसेविका संचार खर्च, नगर साक्षरता कार्यक्रम, विपन्न, दलित विद्यार्थी शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ।

त्यसैगरी, राराको सल्लेरीमा सवारी साधन पार्किङस्थल निमार्ण, रारामा आउने पर्यटकका लागि फोहर संकलन झोला निमार्ण, स्वयमंसेविका प्रोत्साहन भत्ता, समुदाय सुरक्षा निकाय साझेदारी कार्यक्रम, कानुनी सहायता कक्षा, लोकसेवा तयारी कक्षा, जेष्ठ नागरिक सम्मान कार्यक्रम जस्ता नयाँ कार्यक्रम प्रस्ताव गरि नगरपालिकाले बजेट छुटाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.