|

पोखरा : पर्यटकीय राजधानीको रूपमा पनि चिनिन्छ पोखरा। यहाँ थुप्रै प्राकृतिक एवं मानव निर्मित संरचनाहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई तानिरहेको छ। यहि पोखरामा रहेको प्रदेश संग्रहालय ऐतिहासिक महत्व बोकेर पनि प्रचार-प्रसारको अभावले पछाडि परेको छ।

अहिले प्रदेश संग्रहालयलाई ऐतिहासिक अध्ययनको थलोको रुपमा विकास गर्नको लागि ग्यालरीहरू थप गरेर आकर्षक बनाइएको छ। विसं २०४१ साल माघ २३ गते सर्वसाधारणको लागि खुल्ला गरिएको यस क्षेत्रीय संग्रहालय २०७५ साल भदौ २४ गते प्रदेश संग्रहालयको रूपमा रूपान्तरण भएको थियो।

पोखरा महानगरपालिका ९ नयाँ बजारमा रहेको पोखराको पहिलो संग्रहालयमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका दैनिक जीवनशैली, भेषभूषा, गरगहना, बाजागाजा, कृषि औजार, देवी देवताका मूर्ति तथा संस्कृतिसम्बन्धी विभिन्न सामग्री यस संग्रहालयमा देख्न पाइन्छ। त्यस्तै हिमाली जिल्ला मुस्ताङमा उत्खननबाट प्राप्त पुरातात्विक सामग्री पनि यस संग्रहालय प्रदर्शनीको अर्को आकर्षण हो।

माटोको भाँडा, पुराना माला, धातुका हातहरियार, काठका हातहतियार, ढुंगाको औजारबारे प्रत्यक्ष अध्ययन अवलोकन गर्न पाइने यस संग्रहालयको अर्को विशेषता हो। संग्रहालयमा हिमाल र पहाडको सभ्याताको विकासक्रमको अध्ययन गर्न सकिन्छ।

संघ सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ११ लाख रुपैयाँको आर्थिक सहयोगमा नयाँ ग्यालरी थपिएको छ। उक्त ग्यालरीको बिहीबार प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन्। 

‘यहाँ अझै धेरै ऐतिहासिक महत्वका वस्तुहरू राख्नुपर्ने देखिएको छ’, मन्त्री पुनले भनिन्, ‘त्यसको लागि प्रदेश सरकारले चालु वर्षमा यो संग्रहालयका लागि एक करोड रुपैयाँ छुट्याएको छ। त्यसले धेरै कुरा थपेर यसको महत्व अझ बढाइने छ।’ उनले संग्रहालयलाई भेटघाटको थलो मात्र नबनाई अध्ययन अवलोकनको साथसाथै आय आर्जनसँग पनि जोड्नुपर्ने बताइन् । 

संग्रहालयकी प्रमुख करुणा राईले प्रचारप्रसारको अभावले संग्रहालय महत्वपूर्ण भए पनि पछि परेको बताइन्। ‘यो संग्रहालयको महत्व धेरै छ’ उनले भनिन्, ‘तर, यसको प्रचारप्रसार हुन सकेको छैन। पोखरा जस्तो पर्यटकीय ठाउँमा यो ओझेल परेको छ। कर्मचारी अभाव, भौतिक संरचना अभावले पनि काम गर्न समस्या भइरहेको छ।’

संग्रहालयमा ग्यालरीहरूमा पुराना ऐतिहासिक महत्वको सामग्रीहरू रहेको भन्दै उनले त्यसको रेखदेखको लागि ग्यालरी गार्ड आवश्यक रहेको उनले सुनाइन्। त्यस्तै १० दरबन्दी रहेको संग्रहालयमा अहिले जम्मा चार जना कर्मचारी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.