बंगुरको मलबाट अर्गानिक तरकारी खेती

|

सिन्धुली : रामेछापको खाडादेवी गाउँपालिका–२ का रणसिङ लामाले करिब ११ वर्ष नेपाल आर्मीमा रहेर देश र जनताको सेवा गरे। नेपाल आर्मीमा ‘ख’ उपदान पाएपछि जागिर छाडेका लामाले पहिलादेखि नै कृषि पेसाप्रति झुकाव राख्थे।

त्यही कारणले गर्दा जागिर छोडेर अहिले बंगुरपालन र अर्गानिक तरकारी खेतीमा लागेका छन्। ‘आफूले बुझ्ने हुँदादेखि नै केही बुझ्न र केही कमाउनका लागि सुरुमा जागिर खाने पछि व्यवसाय गर्ने भन्ने सोच थियो' उनले भने। 

रामेछापको खाडाँदेवी गाउँपालिका–२ स्थायी घर भएका लामाले सिन्धुलीको सुनकोशी गाउँपालिका –५ कटहरेमा जग्गा भाडामा लिएर बंगुरपालन र तरकारी खेती गर्दै आएका हुन्।

एकपटकमा साढे दुई लाख

दुई वर्षदेखि बंगुरपालन गर्दै आएका लामाको खोरमा अहिले २४ वटा बेच्ने बेलाका बंगुर छन्। बंगुरपालनबाट एक पटकमा सबै खर्च कटाएर साढे दुई लाखभन्दा बढी खुद नाफा हुने गरेको लामाले बताए। ‘हेरचाह राम्रो भयो भने ६ महिनामा बंगुर बेच्न ठिक्क हुन्छ।

सबै खर्च कटाएर एकलटमा साढे दुई लाख आम्दानी बस्छ। वर्षमा दुईलट बंगुर पाल्दा करिब ४/५ लाख आम्दानी हुन्छ’ उनले भने। लामाले अहिलेसम्म ४ लट बंगुर बेचिसके। बंगुरपालनमा मिहिनेतअनुसार आम्दानी पनि अरू व्यवसायभन्दा छिटो र धेरै हुने उनको अनुभव गरेको छ।

स्थानीय जातको भन्दा बढी आम्दानी विकासे जातको बंगुरबाट हुने भएकाले उनले काठमाडौंबाट विकासे जातका बंगुरका बच्चा ल्याउने गरेका छन्।

अर्गानिक तरकारी खेती 

लामाले सुनकोशी गाउँपालिका –५ कटहरेमै अर्गानिक तरकारी खेती पनि गरेका छन्। करिब दुई वर्षदेखि तरकारी खेती गर्न सुरु गरेका लामाले अहिले ५ रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै आएका छन्। ‘टमाटर, घिरौला, लौका, बोडी, भान्टा, चिप्लेभ्यान्टी लगायतका तरकारी छन् अहिले। अब बन्दा, काउली लगाउने तयारी गरिरहेका छन्। तरकारीबाट पनि उनले वार्षिक ढेड दुई लाख आम्दानी हुने गरेको बताए।

बंगुरको मल तरकारीमा

अहिले बजारमा विषादी हालेको तरकारीको विगविग देखिए पनि आफूले अहिलेसम्म विषादीको प्रयोग नगरेको दाबी लामाको छ। ‘विषादीको सट्टा मैले अर्गानिक मल नै प्रयोग गर्ने गरेको छु।

आफ्नै बंगुरको मल पनि छ। बंगुरको मल हाल्छु यो मल युरियाभन्दा पनि राम्रो छ कि न विषादी हाल्नु? उनले बंगुरको मल राख्नलाई तीनवटा ट्यांकी बनाएका छन्। विषादी हालेको तरकारीले मानिसको स्वास्थ्यमा असर गर्न थालेको घटनाहरू दिनप्रतिदिन सुनिरहेको र त्यस्तो तरकारी उत्पादन गर्नुभन्दा बरु थोरै उत्पादन गर्ने स्वस्थकर तरकारी उत्पादन गर्ने सोचले अर्गानिक तरकारी खेती गर्न सुरु गरेको उनले बताए।

‘विषादी तरकारीले विभिन्न असर गरेको भन्ने खबर दिनदिनै सुनिन्छ। अबदेखि मान्छे विषादीवाला तरकारीबाट टाढा नै रहन्छ। त्यही भएर अर्गानिक तरकारी खेती सुरु गरेको हुँ। गाउँमा स्प्रेड भन्ने संस्था आएको थियो। उसले नै हामीलाई अर्गानिक तरकारी खेतीका लागी तालिम र सहयोग गरेको हो’ उनले भने।

उनले उत्पादित तरकारी रामेछापको सित्खा, सुनकोशी गाउपालिकाको खहरे, मुल्कोट, रामटार, नेपालथोकसम्म लगेर बिक्री गर्ने गरेका छन्। कहिले काहीँ आफू काठमाडौं जाँदा त्यता पनि लाने गरेको उनले बताए। होटलहरुले भन्दा पनि गाउँपालिकामा काम गर्ने कर्मचारी, बैंकमा काम गर्ने कर्मचारीहरुले खोजीखोजी तरकारी किन्न आउने गरेको उनले बताए।

अर्गानिक तरकारीले तराई र भारतदेखि आउने विषादी युक्त तरकारीसँग प्रतिस्पर्धा गर्नुपरेको उनको गुनासो छ। अर्गानिक तरकारी गर्दा रोग किरा व्यवस्थापन अली समस्या हुने गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.