चार विद्यार्थी, तीन शिक्षक

|

धनगढी : अछामको तुर्माखाद गाउँपालिका ४ जंगलघाटमा रहेको भैरव आधारभूत विद्यालय तीन कक्षासम्म सञ्चालित छ। विद्यालयमा ८० जना विद्यार्थी छन् तर शिक्षकको अवस्था भने दयनीय छ।  विगत छ वर्षदेखि एक्लो शिक्षकले उक्त विद्यालय धानिरहेका छन्।

स्थानीय भीम बिसी उक्त विद्यालयका एक्ला शिक्षक हुन्। अछामको तुर्माखाद गाउँपालिकामा रहेको यस विद्यालयमा मात्रै यस्तो समस्या छैन। यहाँ अधिकांश विद्यालयमा शिक्षकको अभाव छ। गाउँपालिकामा ४६ वटा सामुदायिक विद्यालय छन्। प्रावि तहमा सबै भन्दा बढी शिक्षकको अभाव छ।

गाउँपालिकाभरि प्रावि तहको लागि १३१ जना शिक्षक छन्। स्वीकृत दरबन्दीका ७१ जना रहेका छन् भने राहतका ६० जना छन्। तर विद्यार्थीको अनुपात अनुसार हुनुपर्ने २६३ जना शिक्षक हो। अहिले पनि यस गाउँपालिकामा १३२ जना शिक्षकको अभाव छ। 

अछामको तुर्माखाद गाउँपालिका भन्दा पनि विकराल अवस्था छ अछामकै ढकारी गाउँपालिकाको। यो गाउँपालिकामा प्रावि तहमा सुदूरपश्चिम प्रदेशभरि नै सबैभन्दा कम शिक्षक छन्। यहाँ अहिले पनि १३६ जना शिक्षकको अभाव छ। गाउँपालिकामा रहेको प्राथमिक तहको विद्यालयहरूमा ९४ जना शिक्षक छन्। स्वीकृत दरबन्दीमा ५९ र राहतमा ३५ जना शिक्षक रहेका उक्त स्थानीय तहमा तीन वटा विद्यालय समायोजन भइसकेका छन्।

शिक्षकको अभावका कारण विद्यालय समायोजन गरिएको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए। ‘शिक्षक निकै न्यून भएपछि निकै समस्या भयो’ उनले भने,‘त्यही समस्या कम हुन्छ कि भनेर तीन वटा प्राथमिक विद्यालयहरू गाभेका छौँ।’ 

ढकारी गाउँपालिकामा शिक्षकको अभाव हल गर्न ११३ जना शिक्षकलाई निजी स्रोतमा नियुक्त गरिएको छ। उनीहरूमध्ये प्रावि तहमा ४७ जना, निमावि तहमा ५० जना, मावि तहमा १८ जना र उच्चमावि तहमा २ जना छन्। उनीहरूको तलब भत्ता गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ। ११३ शिक्षकहरूको लागि मात्रै वार्षिक २ करोड १ लाख ३६ हजार रकम खर्च हुने गरेको छ। 

प्रावि तहको शिक्षकलाई १२ हजार, निमावि तहको लागि १५ हजार मावि तहको लागि १८ हजार उच्च मावि तहको लागि २० हजार रकम दिँदै आएको छ। ‘हामी जनप्रतिनिधि भएर आए पछि शिक्षक नियुक्त गरेका थियौँ। र, यसै गरी शिक्षकलाई तलब दिँदै आएका थियौँ’, गाउँपालिका अध्यक्ष बुढाले भने, ‘अब तोकिएको तलब दिनु पर्ने भएको छ त्यसको लागि मात्रै वार्षिक ५ करोड रकम खर्च हुने देखिन्छ।’

सरकारले पर्याप्त मात्रामा शिक्षकको व्यवस्था नगरिदिँदा यस्तो समस्या भएको उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहका प्रावि तहका लागि आवश्यक मात्रा शिक्षक छैनन्। तर कहिँ भने आवश्यक भन्दा बढी शिक्षक छन्। सबै जस्तो स्थानीय तहका प्रावि तहको लागि शिक्षक अभाव भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रावि तहको लागि फालाफाल शिक्षक छन्।

भीमदत्त नगपालिकामा २१३ शिक्षक आवश्यक पर्नेमा हाल २९२ शिक्षक छन्। भीमदत्त नगरपालिकासँगै जोडिएको महाकाली नगरपालिकामा पनि आवश्यकता भन्दा बढी शिक्षक छन्। उक्त नगपालिकामा ११८ शिक्षकको अवश्यक्तामा १६५ शिक्षक छन्।

निमाविमा पनि उस्तै समस्या

प्रावि तहमा पहाडी जिल्लामा शिक्षकको अभाव देखिए पनि निमावि तहमा भने तराईका जिल्लाहरूमा शिक्षकको अभाव बढी देखिएको छ। सुदूरपश्चिम प्रदेशमा निमावि तहको लागि कैलालीको घोडाघोडी नगरपालिकामा सबै भन्दा बढी शिक्षकको अभाव छ।

२२७ शिक्षक आवश्यक पर्ने उक्त स्थानीय तहमा हाल ६९ जना मात्रै शिक्षक छन्। स्वीकृत दरबन्दीबाट २० जना र राहतबाट ४९ जना शिक्षक हाल कार्यरत छन्। शिक्षक अभावका कारण घोडाघोडी नगरपालिकाले विद्यालय मिलान तथा तह घटानको निर्णय समेत गरेको थियो। तर नगरपालिकाले एकलौटी निर्णय गरेको भन्दै उच्च अदालत दिपायलमा मुद्दा परेपनि निर्णय कार्यान्वयन भएन।

‘कुनै विद्यालयमा त १ जना शिक्षकको पनि दरबन्दी छैन’ नगरपालिकाकाअन्तर्गत रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उमेश रेग्मीले भने, ‘हामीले ती बिद्यालायहरूलाई अनुदान दिएर शिक्षकको व्यवस्थापन गरेका छौँ।’ 

सबै तहको लागि घोडाघोडी नगरपालिकामा १८० जना शिक्षक निजी स्रोतमा नियुक्त गरिएको छ। ती मध्ये अधिकांश निमावि तहका लागि छन्। शिक्षक व्यवस्थापनमा मात्रै नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ८० लाख रकम खर्च गरेको छ। ‘यस वर्ष ८० लाख खर्च भयो। आगामी आर्थिक वर्षको लागि १ करोड रकम प्रस्तब गरेका छौँ’ रेग्मीले सुनाए।

घोडाघोडी नगरपालिकापछि  निमावि तहमा सबै भन्दा कम शिक्षक रहेको स्थानीय तह धनगढी उपमहानगरपालिका हो। धनगढी उपमहानगरपालिकामा १५५ जना शिक्षक अभाव छ। २६१ जना शिक्षकको आवश्यक्ता रहेकोमा ६२ जना मात्रै छन्। कैलालीकै गोदावरी नगरपालिकामा ११४ जना शिक्षक अभाव छ।

कैलाली बाहेक बैतडीको पुरचौडी नगरपालिकामा ९९ जना शिक्षकका अभाव छ। त्यस्तै कैलालीको लम्की चुहा नगरपालिका, गौरिगंगा नगरपालिका कञ्चनपुरको कष्णपुर नगरपालिकामा पनि शिक्षकको चरम अभाव छ। 

सुदूरपश्चिम प्रदेशको ८८ वटा स्थानीय तह मध्यै कुनै पनि स्थानीय तहमा निमावि तहको लागि पर्याप्त शिक्षक छैनन्। 

माविको अवस्था झनै विकराल

सुदूरपश्चिम प्रदेशको एउटा मात्रै उपमहागरपालिकामा मावि तहका शिक्षकहरू सबै भन्दा कम छन्। धनगढी उपमहानगरपालिका भित्र रहेका माध्यमिक तहको विद्यालयहरूको लागि २२९ शिक्षक आवश्यक्ता रहेको छ। तर उक्त स्थानीय तहका हाल सम्म ९० जना मात्रै शिक्षक छन्। ५३ स्वीकृत दरबन्दीका छन् भने राहतका ३७ जना शिक्षक कार्यरत छन्। 

प्रत्येक वर्ष विद्यार्थीको संख्या बढिरहेको तर शिक्षकको दरबन्दी नबढेका कारण समस्या सिर्जना भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। ‘९ वटै जिल्लाबाट यहाँ पढ्न आउने विद्यार्थीको संख्यामा वृद्धि बढिरहेको छ’ उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख विष्णु कोइरालाले भने,‘ विद्यार्थी र शिक्षकको अनुपात नमिल्दा समस्या भइरहेको हो।’

नगरपालिकाले यसको समाधानको लागि दरबन्दी मिलान प्रक्रिया अगाडि बढाइरहेको समेत उनले जानकारी दिए। ‘दरबन्दी मिलान प्रक्रिया सुरु गर्नेभन्दै शिक्षा शाखाले निर्णय नै गरिसकेको छ’ उनले भने, ‘तत्काल दरबन्दी मिलान भएन समस्या थप बढ्दै जान्छ।’ सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तह मध्ये सबै स्थानीय तहमा मावि तहको शिक्षकको अभाव छ।

कैलालीकै लम्की चुहा नगरपालिकामा १२६ शिक्षकको अभाव छ। कैलालीकै गोदावरी नगरपालिकामा ११६ जना शिक्षकको अभाव छ। कैलालीकै घोडाघोडी नगरपालिकामा पनि ११० जना शिक्षाको अभाव छ। प्रावि तहको शिक्षक आवश्यक्त भन्दा बढी रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकामा मावि तहको शिक्षकको भने अभाव छ। भीमदत्त नगरपालिकामा १९१ शिक्षक आवश्यक पर्नेमा ९२ जना मात्रै शिक्षक छन्। 

‘प्राविमा समस्या छैन तर, निमावि र माविमा हामीलाई समस्या छ’ भीमदत्त नगरपालिका अन्तर्गत रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख पुष्कर भट्टले भने । दरबन्दी मिलान नहुँदा पनि समस्या भइरहेको छ। शिक्षक अभाव हुँदा विद्यालयहरूले निजी स्रोतमा राखेका शिक्षकहरूलाई पनि समयमा तलब दिन नसकेको उनले बताए।

चार विद्यार्थी, तीन शिक्षक

डडेल्धुराको सदरमुकाममै अमरगढीमै रहेको पूर्णागिरी आधारभूत विद्यालयमा चार विद्यार्थी पढाउनका लागि चार जना शिक्षकको दरबन्दी रहेको छ।  कक्षा ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा कक्षा १ मा तीन जना विद्यार्थी छन् भने कक्षा ५ मा १ जना विद्यार्थी छन्। कक्षा दुई, तीन र चार मा एक जना पनि विद्यार्थी छैनन्। 

चार जना विद्यालर्थी भर्ना भए पनि नियमित रूपमा भने दुई/तीन जना मात्रै आउँछन्। विद्यार्थी विद्यालयमा नआउने गरेपछि चार जना शिक्षकहरू पनि कामविहीन बनेका छन्। उनीहरू प्रत्येक दिन बिहान १० बजे विद्यालय आउँछन्। हाजिर लगाउँछन् र घर फर्किने गरेका छन्। 

पूर्णागिरीको मात्रै होइन सदरमुकाममै रहेको अर्को विद्यालयको अवस्था पनि उस्तै छ। अमरगढी नगरपालिका ५ सेलजुमा रहेको असिग्राम आधारभूत विद्यालयमा २१ जना विद्यार्थी छन्। उक्त विद्यालयमा तीन जना शिक्षकको दरबन्दी छ। 

अमरगढी गाउँपालिका १ मा रहेको कैलपाल प्रावि झर्तामा आठ जना विद्यार्थी छन्। आठ जना विद्यार्थीका लागि २ जना शिक्षक रहेका छन्। तीन सम्म सञ्चालित यस विद्यालयमा कक्षा एकमा पाँच जना, दुईमा एक जना र तीनमा दुई जना विद्यार्थी छन्। 

डडेल्धुरका यी तीन विद्यालय प्रतिनिधि मात्रै हुन् सुदूरपश्चिम प्रदेशमा यस्ता विद्यालयहरू तीन दर्जनभन्दा बढी रहेको बताइन्छ।  राजनीतिक दलका नेताको आडमा सञ्चालन भइरहेका यस्ता विद्यालयले वर्षौदेखि सरकारी अनुदानको समेत दुरुपयोग गरिरहेको स्थानीय अभिभावकको आरोप रहेको छ।

अमगरगढी नगरपालिकाअन्तर्गत रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हेमराज पन्तले कानुन अभावमा दरबन्दी मिलान गर्न नसकिरहेको बताए। ‘यहाँ पनि कतै शिक्षक बढी छन् कतै विद्यार्थी बढी छन्’ उनले भने, ‘भौगोलिक बिकतटाले विद्यालय मिलान पनि गर्न सक्ने अवस्था छैन। कानुन अभावले दरबन्दी मिलान गर्न सक्ने पनि अवस्था छैन।’

शिक्षा नियमावली २०५९ ले पूर्व प्राथमिक विद्यालयमा एक जना शिक्षक अनिवार्य, प्राथमिक विद्यालयमा कम्तीमा ४० जना विद्यार्थी भएमा कम्तीमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा कम्तीमा तीन जना शिक्षक अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। 

नियमावलीमा निम्नमाध्यामिक विद्यालयअन्तर्गत कक्षा ६ देखि ८ सम्म अध्ययन हुनेमा कम्तीमा चार जना  र कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा कम्तीमा सातजना शिक्षक अनिवार्य हुनुपर्ने उल्लेख छ। तर, सुदूरपश्चिम प्रदेशमा कतै शिक्षक बढी त कतै विद्यार्थी बढी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.