|

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन्। निरिक्षण गरेपछि मन्त्री भट्टराईले विमानस्थलबाट आउने डिसेम्बर ३० भित्रै अन्तराष्ट्रिय उडान हुने दाबी गरे।

विमानस्थलको निरीक्षणपश्चात् बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाटमा मन्त्री भट्राईले डिसेम्बर ३० को म्यादभित्रै भैहवामा अन्तराष्ट्रिय उडान हुने बताए। ‘डिसेम्बर ३० मा जहाज अवतरण गर्न सक्ने गरि विमानस्थलको भौतीक र प्राविधिक कामहरू सकिसक्ने छौं।’ उनले भने,‘यो मेरो हरेक दिनको सपना हो।  यहाँका जनप्रतिनिधिले पनि त्यही सपना देख्नुहोस्।’

विमानस्थल निरीक्षणपछि बौद्धकालीन रामग्राम र देवदह हुँदै बुटवल आएका मन्त्री भट्टराईले बिहीबार भैरहवा र बुटवलमा प्रदेश सांसद, जनप्रतिनिधि तथा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै नेपाल भ्रमण वर्ष सफल हुन्छ र हुँदैन भन्ने विषयसँग विमानस्थल प्रत्यक्ष जोडिएकाले समयमै निर्माण कार्य सकिने कुरा दोहोर्‍याए।

सरकारको उच्च प्रथामिकतामा भैरहवा विमानस्थल

विश्वका लाखौं बौद्धमार्गी, लुम्बिनी र नेपाल भ्रमण वर्ष २०२० सँग यो विमानस्थलले ठूलो महत्व राख्ने भएकाले जसरी पनि तोकिएको समयमा विमानस्थल निर्माण सक्नैपर्ने उनको भनाई थियो।

‘विमानस्थलको निर्माण कार्य २०१७ मा सकिनुपर्ने हो तर विभिन्न कारणले यो नाकाबन्दी भूकम्प चुनावले गर्दा असर पुग्यो। त्यसपछि हाम्रो सरकार आयो। अहिले यस आयोजनाले फेरि पुनर्जीवन पाएको छ। पछिल्ला केही महिनाहरूमा द्रुत गतिमा काम भईरहेको  छ’ उनले भने।

आफू मन्त्री भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक बधाई दिनेबेलामा गौतमबुद्ध विमानस्थको समस्या समाधान गर्न आग्रह गरेको स्मरण गर्दै मन्त्री भट्टराईले सरकारको उच्च प्रथामिकतामा भैरहवा विमानस्थल रहेको बताए।

नेकपा स्थाई कमिटिका सदस्यसमेत रहेका मन्त्री भट्राईले भने,‘लक्ष्य भनेको आउने डिसेम्बर हो। त्यो लक्ष्य बदलिएको छैन। कतिपयले बदलौं भनिरहेका छन्। तर, मैले भनेको छु–यो बदलिदैंन। यो हाम्रो प्रथामिकतामा परेको आयोजना हो।’

उनले पोखरा विमानस्थलमा समस्या नभएकोले २०२१ जुन भन्दा अगाडी नै आयोजना सकिने दावी गरे। निर्माण प्रक्रिया सुरुहुन नसकेको अन्तराष्ट्रिय विमानस्थल निजगढबारे कुरा गर्दै मन्त्री भट्टराईले २०१९ को अन्तीमसम्ममा उक्त  विमानस्थलको शिलन्यास आफैंले गर्ने जिकिर गरे। ‘२०१९ सम्ममा निजगढ विमानस्थलको शिलन्यास आफैँले गर्नेछु। कमसेकम १० लाख जनाको उपस्थितिमा त्यहाँ विमानस्थलको शिलन्यास गर्नेछौं’ उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.