
काठमाडौं : नेपाल बैंकर्स संघले कर्जाको सुरक्षण गर्ने कार्यविधि तय नगरेकाले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कर्जा प्रवाह गर्न समस्या भईरहेको गुनासो गरेका छन्। संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले साँढे पाँच वर्षसम्म कर्जा सुरक्षण हुने गरी कार्यविधि तय सरकारले नगरेकै कारण वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न समस्या भईरहेको बताएका हुन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया एक वर्ष भित्र पनि सुरु नभए नेपाल राष्ट्र बैंकमा कर्जा नोक्सान सुरक्षण दावी गर्न नमिल्ने प्रावधान अहिले पनि रहेकाले बैंकहरुले ५ वर्षसम्मका लागि वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन नसक्ने अवस्था रहेको पनि बताए। उनले कर्जा लिनका लागि सो कर्जालाई सदुपयोग गर्ने कार्यक्रम र ऋण तिर्ने स्पष्ट कार्ययोजना पनि बैंकमा पेश गर्न वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई पटकपटक आग्रह गरे।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भने कर्जा सुरक्षाको जिम्मा सरकारले लिनेभन्दै वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कर्जा प्रवाहमा ढिलाई नगरी दिन बैंकहरुलाई सचेत गराए। उनले सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको ज्ञान, अनुभव र सिपलाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने नीति लिएको पनि स्मरण गराए।
युवा तथा खेलकुद मन्त्रालयकै अग्रसरतामा आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माईग्रेट, नेपालका पदाधिकारीहरुले बैंकहरुले सहुलियत दरमा कर्जा दिन ढिलाई गरिरहेको भन्दै असन्तुष्टि जनाएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।