|

पाँचथर : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको स्थानमा आगामी मंसिर १४ मा उपनिर्वाचन गर्ने निर्णय गरेसँगै पाँचथरमा राजनीतिक माहोल तातिएको छ। ठूला र साना राजनीतिक दलहरु उपनिर्वाचनको तयारीमा जुटेका छन्। 

राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक दुवै रुपमा निर्वाचनबारे छलफललाई अघि बढाएका हुन्। निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन कार्यालयमार्फत निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरेलगत्तै निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्ने तयारीमा दलहरु छन्। 

दशैं र तिहारजस्ता चाड बीचमा परेको हुनाले दलहरुलाई चाडअघि र पछि निर्वाचनको तयारी समय कम नै छ। यसले गर्दा दलहरुले चाँडै निर्वाचन प्रचार–प्रसारका कार्यक्रमहरु सञ्चालन गर्ने स्थिति देखिन्छ। जसअन्तर्गत पार्टीको तर्फबाट उम्मेद्वारको घोषणापत्रदेखि नागरिकसँग मत माग्नेलगायतका कार्यहरु पार्टीले गर्नेछन्।

उपनिर्वाचन नै भए पनि प्रतिष्ठासँग गाँसिएकाले दलहरुले निर्वाचनलाई महत्त्वका साथ लिएका छन्। पाँचथरमा फाल्गुनन्द गाउँपालिका अध्यक्षसहित हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्ष र फिदिम नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ। यस निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच प्रतिष्पर्धा हुने स्पष्ट छ। तर, यसअघिको मत परिणामलाई आधार मान्दा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र फिदिम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि नेकपा र कांग्रेस एक्लाएक्लै निर्वाचन जाँदा नजिता आफ्नो पक्षमा पार्न चुनौतीपूर्ण हुनेछ। यी दुवै स्थानमा कांग्रेस विजयी भएको थियो। हिलिहाङ गाउँपालिकाको वडा नम्बर ७ मा भने तत्कालीन नेकपा एमाले विजयी भएको थियो। 

के भन्छन् नेता ?

नेकपा जिल्ला सचिव होम जबेगू (सूर्यमान)ले फाल्गुनन्दको अध्यक्षमा वीरबहादुर कुरुम्बाङ (यसअघि अध्यक्ष पदका उम्मेद्वार), करुणा राई (यसअघि उपाध्यक्ष पदका उम्मेद्वार) र देउकुमार आङ्देम्बे (साविक आङसराङ गाविसका अध्यक्ष)को नाम आएको बताए। यी तीनजनामध्ये नै अध्यक्षका उम्मेद्वार हुन सक्ने उनको भनाइ छ।

तर, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र नेकपा प्रदेश कमिटी सदस्य हर्क नेम्बाङ ‘मिक्सो’ले पार्टीको जिल्ला सहइञ्चार्ज तथा संविधानसभाका सदस्य अइन्द्रसुन्दर नेम्बाङलाई ‘एकपटक कि आँट गर्नुहोस् हाउ’ भन्दा नेम्बाङले म उठ्दिन नभनेकाले उनी पनि अध्यक्षको उम्मेदवार हुने सम्भावना रहेको बताए।

आङबो र मिक्सोले निर्वाचनमा आवश्यकता अनुसार दुई वडाध्यक्ष र गाउँपालिका अध्यक्ष पदका लागि केही दलसँग गठबन्धन गर्न सकिने भन्दै आगामी निर्वाचनमा जित निकाल्ने गरिको तयारी गरिने बताए।

कांग्रेसका जिल्ला सचिव बृजहाङ आङदेम्बेले फाल्गुनन्दको अध्यक्ष पदका उम्मेदवारको विषयमा पार्टीले अनौपचारिक छलफल गरिरहेको बताए। उनले आफू अध्यक्षको उम्मेदवार हुन चाहेको भन्दै हालसम्म पार्टीका महासमिति सदस्य रामराज आङ्देम्बे, नेता एकराज नेम्बाङ, महाधिवेशन प्रतिनिधि धर्मेन्द्रबिक्रम नेम्बाङ, आमन्त्रित जिल्ला सदस्य मणिचन्द्र चेम्जोङ र महाधिवेशन प्रतिनिधि वीरेन्द्रकुमार खड्काको नाम आएको बताए। 

‘फाल्गुनन्दमा सांगठानिक रुपमा कांग्रेस राम्रो हो, एक दुई वटा वडाबाहेक। तर, विपक्षीलाई कमजोर ठान्नु हुन्न। प्रतिष्पर्धा हुन्छ’, उनले भने, ‘त्यति धेरै चुनौती चाँहिँ ठानेका छैनौं। फिदिमको वडा नम्बर १ र हिलिहाङको वडा नम्बर ७ मा पनि प्रतिष्पर्धा हुने बताउँदै उनले लोकतन्त्रमा विश्वास राख्ने पार्टीसँग कांग्रेसले निर्वाचनका लागि गठबन्धन हुने बताए।

समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष लक्ष्मण लावतीले पार्टी उपनिर्वाचनमा गठबन्धन नगर्ने बताए। थोरै मत आए पनि पहिचानवादीहरुको शक्ति थाहा पाउने भन्दै निर्वाचनमा कसैसँग बार्गेनिङ नगर्ने बताए। फाल्गुनन्दमा यसअघिको निर्वाचनमा समाजवादी तेस्रो स्थानमा छ। त्यसैले समाजवादीको मत त्यहाँ निर्णायक छ। तर, फिदिम–१ र हिलिहाङ–७ मा उक्त पार्टीको जनमत राम्रो छैन। 

यता, राप्रपा अध्यक्ष जगत थापा मगरले भने फिदिम–१ को वडाध्यक्ष पदमा कांग्रेसले राप्रपालाई सहयोग गर्ने र फाल्गुनन्दको अध्यक्ष र हिलिहाङ–७ को वडाध्यक्ष पदमा कांग्रेसलाई राप्रपाले सहयोग गर्ने प्रस्ताव गर्ने पार्टीभित्र छलफल भइरहेको बताए। कांग्रेसले उक्त प्रस्ताव स्वीकारे गठबन्धन र अस्वीकार गरे अन्य साना दलहरुसँग गठबन्धन गरी चुनावमा जाने बताए।

यस्तो छ अवस्था

गत स्थानीय तह निर्वाचनमा फाल्गुनन्दको अध्यक्ष पदमा कांग्रेस उम्मेद्वार अमरकुमार नेम्बाङ निर्वाचित भएका थिए। उनले ४ हजार १६३ मत र निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमालेका वीरबहादुर कुरुम्बाङले ३ हजार ३६७ मत प्राप्त गरेका थिए। तत्कालीन नेकपा माओवादीका उम्मेद्वार ठाकुरसिं नेम्बाङले ७४४ मत, तत्कालीन संघीय समाजवादी फोरम का रामकुमार नेम्बाङले ४९०, राष्ट्रिय जनमुक्ति पार्टीका जीतेन चेम्जोङले ३११ र राप्रपाका कमलबहादुुर चेम्जोङले २३४ मत प्राप्त गरेका थिए। 

उक्त निर्वाचनमा तत्कालीन तीन ठूला दल (हाल दुई दल) बाहेक साना दलले एक हजार ३४ मत प्राप्त गरेका थिए। एमाले र माओवादी केन्द्र एकतापछि बनको नेकपाका दुवै उम्मेद्वारको मत जोड्दा ४ हजार १११ मत हुन्छ। यो कांग्रेस प्राप्त गरेको मतभन्दा ५२ मत कम हो। यो आँकडा हेर्दा फाल्गुनन्दको अध्यक्ष पदमा कांग्रेस र नेकपाको कडा प्रतिष्पर्धा हुने देखिन्छ। यसले के देखाउँछ भने साना दलहरु नै ठूला दलका लागि जितको ‘चाबी’ बन्ने देखिन्छ।

यता फिदिम–१ को वडाध्यक्ष पदमा कडा प्रतिष्पर्धा हुने निश्चित छ। यस वडामा कांग्रेसका हर्कप्रसाद मोक्तान तामाङले पाँच मतको झिनो अन्तरले तत्कालीन नेकपा एमालेका गजाधर भट्टराईलाई पराजित गरेका थिए। मोक्तानले ७७४ र भट्टराईले ७६९ मत प्राप्त गरेका थिए। तत्कालीन नेकपाका उम्मेदवारले १३५ मत प्राप्त गरेका थिए।

नेकपाले उपनिर्वाचनमा भट्टराईलाई वडाध्यक्ष पदका लागि चुनावी मैदानमा उतार्ने संकेत दिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रको मत जोड्दा ९०४ मत हुन्छ। यसले उपनिर्वाचनमा कांग्रेसलाई गठबन्धन गर्नुको विकल्प छैन। 

राप्रपाका उम्मेद्वार जगत थापा मगरले निर्वाचनमा २०९ मत प्राप्त गरेका थिए। उपनिर्वाचनमा राप्रपा र कांग्रेसबीच गठबन्धन कांग्रेस केही बलियो हुनेछ। तर, राप्रपाले भने फाल्गुनन्दको अध्यक्ष र हिलिहाङ–७ मा वडाध्यक्ष पदमा कांग्रेसलाई सहयोग गर्ने र फिदिम–१ मा आफूलाई सहयोग गरोस् भन्ने राप्रपाको चाहना छ। यस्तो अवस्था आए राप्रपाले जगत थापा मगरलाई नै उठाउने सम्भावना छ। 

हिलिहाङ–७ को वडाध्यक्षमा नेकपा स्थिति बलियो छ। तत्कालीन एमालेका अध्यक्ष पदका उम्मेद्वार तीर्थराज तिम्सिनाले ७१९ मत पाउँदा कांग्रेसका डिल्ली सुवेदीले ४९९ मत प्राप्त गरेका थिए। राप्रपाले ५३ मत र माओवादीले वडाध्यक्षमा सहयोग गरेको तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेद्वारले ४२ मत पाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.