|

सोचेकी पनि थिइनन् उनले पत्रकार बन्छु भनेर। अझ टेलिभिजनको स्क्रीन आफ्नो कर्म बन्छ भन्ने कल्पनै थिएन। तर योजनाले मात्र मान्छेलाई डोहोर्‍याउँदो रहेनछ। उनी त्यही उनको कल्पनाको संसारभन्दा बाहिर जम्न पुगिन्।

कलेज पढ्दै थिइन्। नेपाल टेलिभिजनको सूचना आएछ। नेपाल टेलिभिजनमा तालिम खुलेछ। निःशुल्क भने होइन। केही पैसा तिरेर टेलिभिजन सम्बन्धी तालिम लिनुपर्ने। उनले पनि आवेदन बुझाइन। नाम निस्कियो। तालिम लिइन्।

नेपाल टेलिभिजनलाई उनको पर्फरमेन्स चित्त बुझेछ। महाप्रबन्धक थिए तपनाथ शुक्ल। फोन गरेर भने- तपाईंको काम मन पर्‍यो। टेलिभिजनमा काम गर्नुस्।

नसोचेको सागर पनि पौडी खेल्न पुगिन आरती। नेपाल टेलिभिजन ज्वाइन गरिन्। उनी भन्छिन्- न त टेलिभिजन मेरो सपना थियो। न त कल्पना नै। तर मलाई त्यही राजमार्ग आइलाग्यो।

प्रतिस्पर्धाबाटै नेटीभीमा स्थायी प्रवेश गरिन्। कर्यक्रम र समाचार दुवैतर्फ उनको नाम पहिलो नम्बरमा निस्कियो। विपदसम्बन्धी कार्यक्रम पहल, सूचना मेरो पनि हक र एनटीभी फोरमको समेत प्रस्तोता भएर काम गरिसकेकी आरती चटौत अहिले एनटीभीमा डेपुटी डाइरेक्टरको रुपमा कार्यरत छिन्।

फरक बाटो हिँड्ने प्रयास

सुरुमा आफैंलाई अप्ठेरो र असजिलो लागेको थियो। जीवनमा धेरै सजिला बाटो हुन्छन्। तर टेलिभिजन र प्रविधि बुझ्दै गइन्। सजिलो हुँदै गयो। अभ्यस्त हुँदै गइन्।

राजमार्गमा बस चलाउन धेरै सजिलो हुन्छ। तर ती सबैले छानेका र रोजेका बाटो हुन्। त्यो बाटो हिँड्न एकदम सजिलो थियो। तर आरतीले अलि पृथक बाटो रोजिन् जहाँ फूलमात्र होइन काडा पनि प्रसश्तै थिए। उनी अलि खोजमूलक मुद्दामा लागि परिन्। देशका कुनाकाप्चाका मुद्दा खोजिन्। न्याय र समानताको पक्षमा उभिइन्। समतामुलक समाज निर्माणमा आफ्नो कार्यक्रमबाट योगदान पुगोस् भन्ने चाहिन्। त्यसैले उनले जागृति जस्तो जागरणका लागि प्रेरित कार्यक्रम बनाइन्। संघर्ष जस्तो कुनै मानिसलाई सकारात्मक सोच र उत्प्रेरणा दिने कार्यक्रम चलाइन्। सातामा एउटा नेता ल्याएर गनगन गर्ने सजिलो बाटोलाई उनले लक्ष्य र गन्तब्य बनाइनन्।आरती भन्छिन्- मैले अलि फरक बाटो रोजे। मैले यो पनि सिकेँ कि 'नो रिक्स नो गेन'।

सेलिब्रेटी भनेको थाहा थिएन

नेपाल टेलिभिजन प्रवेश गर्दा आरतीलाई सेलिब्रेटी भनेको थाहा थिएन। तर उनी अहिले पत्रकार वा टेलिभिजनकर्मीमात्र नभएर सेलिब्रेटी बनेकी छिन। उनी भन्छिन्- 'सेलिब्रेटी बन्छु भन्ने कल्पना त के त्यो सेलिब्रेटी भन्ने शब्द नै थाहा थिएन। समुद्रमा पसेजस्तो लाग्थ्यो मलाई त।'

प्रविधि र मुद्दा

मैले टेलिभिजनमा प्रवेश गर्दा प्रविधि फरक थियो। नेपालमा संचार क्षेत्रमा विकास भए पनि टेलिभिजनमा अझै धेरै विकास हुन जरुरी छ। तर पनि केही गर्न साधन स्रोतको चुनौती सबैथोक होइन। अधिकतम प्रतिफल निकाल्न खोजेमा सफलता हात पर्छ।

१० वर्षअघि अछामको छाउपडी गोठमा उनी पुगेकी थिइन। उनी विगतलाई स्मरण गर्छिन्, 'त्यतिबेला हिमाल खबरले क्यावात अरती भनेर कभरेज नै गरेको थियो। म दुर्गमका मुद्दा उठाउन ताप्लेजुड पुगें। धेरै दुर्गम जिल्लाका गाउँबस्तीमा पुगें। प्रविधि वा अन्य सुखसुविधामात्र हेरेर हुँदैन। प्रतिकूलताभित्रै कर्म खोज्ने हो।'

प्रविधि र वातावरणले मात्र पत्रकारलाई सफलतातर्फ नडोहोर्‍याउने उनको ठम्याइ छ। उनको नजरमा ती सहायक हुन्। उनको बुझाइ छ- 'पत्रकारको प्रधान विषय त देश र समाजलाई चिन्नु हो। बुझ्नु हो। मुद्दा छनोट, इमान, लगन र निरन्तरता पत्रकारका लागि मुख्य विषय हुन्।'

सजिलो र असजिलो

टेलिभिजन सेलिब्रेटी बनेकी आरतीलाई आफ्नो कर्मले जीवनको विभिन्न क्षेत्रमा सजिलो बनाइदिएको छ। उनलाई कुनै जमघटमा जाँदा आफ्नो परिचय दिइरहनु पर्दैन। सबैले चिन्छन्। कुनै कुनै कार्यक्रमको सन्दर्भ पारेर कुराकानी गर्छन्। प्रशंसा पनि गर्छन्। उनकै शब्दमा माया र आशिर्वाद पाउँछिन्। सूचना संकलनमा जाँदा पनि कतिपय अवस्थामा सजिलो हुने गरेको छ। सरकारी वा निजी कार्यालयबाट पाइने वा लिनुपर्ने व्यक्तिगत कामकाजमा पनि सहज हुने गरेको छ।

त्यो मात्रै समग्रता होइन। उनी भन्छिन्- 'यसको डार्क साइड पनि छ। व्यक्तिगत जीवन नै हुँदैन। मानिस हो कहिले सडकमा हिँड्न मनलाग्छ। साथीभाइहरुसँगको जमघटमा रमाइलो गर्न मन लाग्छ। तर सर्वसाधारण भएर बस्नै सकिँदैन।'

अर्को समाजको कुनै मुद्दालाई पस्तुत गर्दा त्यो सबैलाई मन नपर्न सक्छ। सामाजिक रुपान्तरणका मुद्दा कतिपयलाई मन नपरेको हुन सक्छ। परम्परागत रुपमा सोच्नेहरु पनि उत्तिकै हुन्छन्। उनीहरुको नजरमा त्यस्तो टेलिभिजन अनुहार 'अभियुक्त' सरह हुन्। त्यसैले केही सुरक्षा र कहिलेकाँही सूचना संकलनमा पनि समस्या हुने गर्दछ।

पहिलोपटक स्क्रीनमा आउँदा

आरतीले पनि स्क्रीनमा पहिलोपटक आउँदा त्यस्तै भएको थियो जो अरु धेरैलाई हुन्छ। अलिकति अप्ठेरो, लाज लागेजस्तो। अनि खुसीयाली र रोमाञ्चित पनि।

टेलिभिजन पत्रकारिता कता जाँदैछ?

नेपालमा पत्रकारिताले राम्रो फड्को मारेको छ। यो संख्यात्मक रुपमा एकदमै राम्रो छ। २०४७ सालपछि जे जति प्रगति भयो त्यो अति भयो भन्नेहरु पनि छन्। आरतीको विचारमा अब ती मात्रै बाच्छन् जसले कसरी स्वस्थ प्रतिस्पर्धा गर्छन्।

पत्रकारितामा योग्य र दक्ष जनशक्तिको प्रवेशले जति सुन्दर भविष्य उनी देख्छिन् पत्रकार बन्न कुनै योग्यता र मापदण्ड नभएकोमा उनी खिन्न हुन्छिन्। उनी मन बुझाउँछिन- कम्तीमा सरकारी संचारमाध्यममा कम्तीमा स्नातक हुनुपर्ने प्रावधान त छ।

प्रविधिको विकास, विश्व नै जोडिएको अवस्था र नागरिकको बढ्दो चेतनाले नेपालमा पत्रकारिताको भविष्य उज्जवल हुनेमा भने उनी विश्वस्त छन्।

चुनौती

पत्रकार आरती पत्रकारिता क्षेत्र चुनौतीमुक्त भने कहिल्यै नबन्ने धारणा राख्छिन्। उनको विचारमा पत्रकारकर्म सत्ता र शक्तिको दुरुपयोग विरुद्ध हुन्छ। सोझा र निमुखा जनताको पक्षमा कलम चल्छ। त्यसैले चुनौती रहिरहने उनको ठम्याइ छ। उनी भन्छिन्- तर इमान्दार भएर निरनतर मेहनत गर्न छोड्नु हुन्न।

प्रपोज

आरती आफ्ना प्रस्तुतिमा निख्खरमात्र होइन शारीरिक रुपमा पनि सुन्दर छन्। उनको जीवनमा धेरै प्रस्तावहरु आए। प्रपोजहरु कतिको आए भन्ने प्रश्नमा उनले निर्धक्कसँग भनिन्- कति आए आए। त्यो प्रश्न गर्ने कुरै भएन।

नवप्रवेशीलाई सुझाव

टेलिभिजनको संसार भनेको संभावनाको खानी हो। यहँ चुनौती पनि छ। पत्रिका जस्तो होइन। रेडियो जति सहज पनि होइन। तर आफू तयार हुनुस्। एकेडेमिक ज्ञान पनि लिन जरुरी छ। अन्तर्राष्ट्रिय थ्योरीका आधारमा बढ्न सक्नुपर्छ। आरतीले भनिन्- दिमाग पनि हुनुपर्छ र व्यवहारिक पनि। पर्सनालिटीमा पनि ध्यान दिनुपर्छ। बढी ल्याङवेजमा ध्यान दिनै पर्छ। एकलकाटे भएर हुँदैन टिमवर्क हुनुपर्छ।

तर उनको विचारमा अलिकति होचो हुँदैमा, अलि कालो हुँदैमा टेलिभिजनमा फिट नहुने भन्नु चाँहि भ्रममात्र हो। तर कसैको कपी हुन खोज्नु भनेको टेलिभिजनमा आउने व्यक्तिका लागि अत्यन्तै नराम्रो पक्ष हो। आरती भन्छिन्- कोही मानिसबाट प्रभावित वा प्रोत्साहित हुनु, उसलाई आइडल ठान्नु सामान्य हो। तर कपी हुने चेष्टा गर्‍यो भने उसको पहिचान र अस्तित्व हुँदैन। आफ्नै छवि बनाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • i impressed with you Aarati jee. keep it up.

  • There are lots of people presenting programs on TV but others are so simple and humble that they never spend money to come in the limelight whereas this lady is foolish to claim that she is a TV celebrity. Or has she known anyone at Thahakhabar who is making her famous unnecessarily? Thahakhabar is trying to degrade its quality by making unnecessary things as its headlines. Shame on you! She simply is good at her work. That's it. Stop taking money from others. Stop doing yellow journalism!