निर्माणमा संलग्न अधिकारी भन्छन् : २०२० मार्च यता गाह्रो छ

|

बुटवल : ६ वटा म्याद गुज्रिसकेपछि सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ।  

बुधबार काठमाडौं र विहीबार भैरहवाबाट नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको काम ७३ प्रतिशत सकिएको बताउँदै विमानस्थलबाट आगामी डिसेम्बरपछि अन्तर्राष्ट्रिय उडान भर्ने कुरा बारम्बार दोहोर्‍याए।  

तर, विमानस्थलमा भइरहेकोे कार्यप्रगति हेर्दा सरकारको लक्ष्य निकै महत्वकांक्षी देखिन्छ। पूर्वाधार निर्माण भइरहेको विमानस्थलमा बाँकी २७ प्रतिशत काम सक्न चुनौतीपूर्ण छ। 

त्यसअन्तर्गत हवाई ट्राफिक व्यवस्थापन प्रणाली जडान, विमानस्थल व्यवस्थापनको जिम्मा र कन्सलटेन्सी छानेर ओर्‍याट (नयाँ संरचनालाई कार्यसञ्चालन गर्ने ढाँचामा ल्याउने) को जिम्मेवारी दिने लगायतका मुख्य काम बाँकी नै छन्। 

डिसेम्बरसम्ममा विमानस्थल सञ्चालनमा आउने कुरा त परै जाओस् निर्माणसमेत नसकिने कुरा आयोजनाका अधिकारीले बताए। यी कामलाई द्रुत गतिमा अगाडि बढाए पनि सन् २०२० मार्च भन्दा अघि काम नसकिने विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए। 

विमानस्थलमा सञ्चार, न्याभिगेशन, सर्भेलेन्स र हवाई ट्राफिक व्यवस्थापन प्रणाली जोड्ने ठेक्का पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्डले त्यस्ता प्रणालीको भर्खरमात्रै उत्पादन थालेको आयोजना प्रमुख अधिकारीले बताए। 

त्यही कम्पनीले मौसम उपकरण जोड्ने ठेक्का पनि पाएको छ। उनका अनुसार ती प्रणाली उत्पादन गर्न कम्तिमा दुई महिना र नेपालसम्म ल्याइपुर्‍याउँदा थप एक महिना लाग्न सक्छ। 

‘उपकरण बनिसकेपछि भन्सार र सिपिङ प्रक्रियामा एक महिना लाग्न सक्छ। ती उपकरण तथा प्रणाली विमानस्थलमा जोड्दा ३ महिना लाग्छ,’ आयोजना प्रमुख अधिकारी भन्छन्, ‘त्यपछि परीक्षणकाल एक महिनाको हुन सक्छ।’ 

आयोजना प्रमुुख अधिकारीको कुरा मान्ने हो भने कम्तीमा ७ देखि ८ महिना ती प्रणाली सञ्चालनमा ल्याउनै लाग्न सक्छ। 

कसरी बोले मन्त्रीले ?

यता पर्यटन मन्त्री भट्टराईले भने २०१९ भित्रै विमानस्थल सञ्चालन हुने महत्वकांक्षा बाँड्दै हिँडेका छन्। उनले समय सीमाभित्रै विमानस्थल सञ्चालनमा ल्याउने भन्दै अब म्याद थप नगर्ने कुरामा अडान लिएको बताएका छन्। 

मन्त्री भट्टराईले स्तरोन्नति हुँदै गरेको विमानस्थलको बिहीहबार निरीक्षण गर्दै ‘भिजिट नेपाल–२०२०’ अगावै विमानस्थल निर्माण सक्न निर्देशन दिए। 

स्रोतका अनुसार विमानस्थलमा लगानी गरिरहेको एसियन डेभलपमेण्ट बैंक (एडिबी)ले मार्चसम्म निर्माण सकिने भन्दै त्यही समयका लागि म्याद थप्न आग्रह गरेको थियो। त्यस कुरालाई बिहीबार बुटवलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले यसरी बताए, ‘म्याद थपौं भन्नेकुरा आएको छ। तर मैले हुँदैन भनेको छु।’  

यता अधिकारीहरु सरकारले विमानस्थलको व्यवस्थापनका लागि फर्मको छनौट गर्ने कुराले पनि विमानस्थल सञ्चालनको समयसीमा निर्धारण हुने बताउँछन्। आयोजना प्रमुख अधिकारीले विमानस्थलको सम्पूर्ण पूर्वाधार बनिसकेपछि पनि सञ्चालनमा ल्याउन अझै केही महिना लाग्ने बताए। ‘हामीले सञ्चालनको पाटो हेर्ने त होइन’, उनले भने, ‘तर, मार्च भन्दा अगाडी विमानस्थल सञ्चालन हुन्छ जस्तो लाग्दैन।’ 

पछि सरेको सर्‍यै

सन् २०१३ नोवेम्बरमा ६ अर्ब २० करोड रुपैयाँमा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्टले भैरहवा विमानस्थलको स्तरोन्नति गर्ने ठेक्का पाएको थियो।

ठेक्का सम्झौतामा डिसेम्बर २०१७ सम्ममा विमानस्थलको निर्माण सक्ने भनिएको थियो। तर, निर्माण सामग्रीको अभाव, भारतीय नाकाबन्दी, गोरखा भूकम्प जस्ता कुराले निर्माण प्रक्रिया लम्बिने भएपछि उक्त म्याद २०१८ जुनसम्म सारिएको थियो। 

त्यसलगत्तै चिनियाँ कन्ट्राक्टर र नेपाली सब–कन्ट्रयाक्टरबीच रकम भुक्तानीसम्बन्धी विवादले विमानस्थल निर्माण ६ महिना ठप्प भएको थियो। यस्ता कारणले आयोजनाको अन्तीम म्याद पटक पटक सरेको हो।   

एडिबीण्ले हात झिकेपछि विमानस्थल बन्ने आसा हराइसकेको अवस्थामा अहिले स्तरोन्नतिले गति लिएको छ। हालसम्म ३ किलोमिटर लामो रन वे र ४५ मिटर चौडाईको ट्याक्सी वे निर्माण भइसकेका छन्। 

टर्मिनल भवनको संरचना बनिसकेको छ। कन्ट्रोल टावरको आठौँ तल्ला निर्माण भइरहेको छ। ‘ठूलो परियोजना हो। केही समय त लाग्छ। पहिले जस्तोे समस्या छैन अहिले’, आयोजना प्रमुख अधिकारीले भने, ‘काम द्रूत गतिमा भइरहेका छन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.