|

बैतडी : वर्षासँगै बैतडीका विभिन्न स्थानमा खनिएका ग्रामीण कच्ची सडकहरुले क्षति पु¥याउन थालेका छन्। धेरैजसो स्थानमा कच्ची सडकहरुले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएका छ।

प्रावधिक अध्ययनबिना खनिएका सडकले पहिरोको जोखिम बढाएको हो। गोकुलेश्वर –डिलाशैनी सडकका कारण थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँलगायतका ठाउँका घरहरु पहिरोको जोखिममा परेका स्थानीय हरिदत्त जोशीले बताए। २०७० सालदेखि सडक निर्माण सुरु गरिएको र सोही बेलादेखि पहिरोको जोखिम बढेको उनको भनाइ छ। सडक निर्माणका लागि प्रत्येक वर्ष बजेट विनियोजन भए पनि सदुपयोग हुन नसकेको स्थानीयहरु बताउँछन्।

सडकका कारण जोखिममा परेका घरहरुलाई बचाउन मेशनरी पर्खाल लगाइए पनि वर्षातसँगै धेरै जसो पर्खाल भत्किसकेको छ। जोशीले भने, ‘सडककै कारण घर पहिरोको उच्च जोखिममा परेपछि हामीलाई समस्या भएको छ।’

डोजर लगाएर निर्माण गरिएका सडकहरुले पहिरो निम्त्याउने मात्र होइन, ती सडकहरु खोल्सामा परिणत भएको पुर्चाैंडीका शिवलाल साउद बताउँछन्। सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने भए पनि स्थानीय तह र वडाले निर्माण गरेका सडकमा वातावरणीय प्रभाव मूल्यांकन गरेको पाइँदैन। 

सतबाँझ श्रीभावर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका–६ बाटिगोमा पहिरोको जोखिम बढेको छ। घरमाथि सडक खनेको माटो बगेर आउँदा बाटिगोमा रहेका पसलहरु जोखिममा परेका वडाध्यक्ष जयबहादुर कुँवरले बताए। 

गाउँ नै जोखिममा 

सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिरो खस्दा एक घर विस्थापित भएको छ। त्यस गाउँ नै पहिरोको जोखिममा परेको छ। सतबाँझ–श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालयसम्म खनिएको सडकमा पहिरो खस्दा स्थानीय अम्मरबहादुर बोहराको घरमा क्षति पुगेको छ।

यस्तै, रामबहादुर बोहरा, वीरपल बोहरा, धौलसिंह बोहरा, जहरे बोहरा, घुम्रा बोहराको घर पहिरोको उच्च जोखिममा रहेको छ। सोही गाउँमा रहेको दलित बस्ती पनि पहिरोको जोखिममा रहेको छ। भिरालो जमिन भएका कारण सडकमा खनिएको माटो र सडकमा खसेको पहिरो गाउँमा पुगेको बोहराले बताए। पहिरोको कारण बाटो समेत अवरुद्ध भएको  छ। सडकमा खसेको पहिरोका कारण सुर्नया गाउँपालिका–८ मल्लोढोलेका ६० घरपरिवार बढी जोखिममा रहेका स्थानीय भानबहादुर बोहराले बताए।

खानेपानी पाइप बग्यो

पहिराको कारण खानेपानी पाइप बगेपछि दोगडाकेदार गाउँपालिका–८ बिसौना दलित बस्तीका बासिन्दालाई समस्या भएको छ। केही दिनअघि डोलमा गएको पहिरोले खानेपानी पाइप बगाएपछि बिसौना दलित बस्तीमा खानेपानीको अभाव भएको स्थानीय रामदत्त जोशीले जानकारी दिए। डोलबस्तीमा प्रत्येक वर्ष पहिरो खस्ने र पहिरोले घर तथा खेतीयोग्य जमीन बगाउँदै आएको उनले बताए।

डोलबस्तीमा २०१९ सालदेखि पहिरो खस्न थाले पनि यहाँका सर्वसाधरणलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छैन। राजा वीरेन्द्रको पालामा बस्ती सार्ने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। आर्थिक अवस्था राम्रो भएकाहरु बसाइँ गए पनि आर्थिक अवस्था कमजोर भएकाहरु पहिरोको जोखिम मोलेर बस्न बाध्न छन्।

जोखिमा विद्यालय 

कच्ची सडकका कारण गएको पहिरोले सुर्नया गाउँपालिका–२ स्थित एक विद्यालयमा क्षति पुगेको छ।सतबाँझ–ग्वानी सडकमा खसेको पहिरोले डाँडाबाग आधारभूत विद्यालयमा क्षति पुगेको प्रधानाध्यापक विमला बिष्टले जानकारी दिइन्। विद्यालयको भवनको बाहिरपट्टी पहिरो खस्दा कोठाभित्र पानी पसेकाले पठनपाठनमा समस्या भएको छ। 

सुर्नयाकै  वडा नम्बर ५, ८ र दोगडाकेदार गाउँपालिका–५ मा सडकै कारण स्थानीयको घरजोखिमा परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.