|
फाइल फोटो

ललितपुर : सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जनताले लोकतन्त्र र जनवाद चाहेको बताएका छन्।

हर्कबहादुर योङहाङ लिम्बुले लेखेको 'हिलिहाङ इन द हिस्ट्रि अफ नेपाल' पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले शनिबार नेपाली जनताले विगतमा जस्तो सामन्तवादी शासनसत्ता नचाहेको बताएका हुन।

ललितपुरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा विगतमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा दासयुगबाट सामन्तवादी युगमा ल्याएको र त्यतिबेलाका लागि त्यो अग्रगामी जस्तो भएको बताए। उनले अहिले सामन्तवादी युगको कल्पना गर्नू प्रतिगामी हुने बताए। उनले अहिलेको जनताले एउटै भाषा, संस्कृति, भेषको शासनलाई नस्वीकार्ने बताए। उनले भने, 'आजको जनताले लोकतन्त्र, जनतन्त्र चाहन्छ। आफ्नो पहिचान र अधिकार चाहन्छ। आफ्ना भनाई राज्यका नीति निर्माणको तहमा पुगुन् भन्ने चाहन्छन्।'

प्रचण्डले सामन्तवाद त्यो बेलाको दास युगका लागि अग्रगामी भए पनि पछिल्लो समय विकासको वाधक र अधिकारको वाधक भएकाले आन्दोलनबाट लोकतन्त्र र जनवाद आएको बताए। त्यसका लागि हजारौँ मान्छेको बलिदान भएको बताउँदै यसलाई जोगाएर जानुपर्ने धारणा राखे। 'विभिन्न जातजाति, भाषा, संस्कृतिलाई दबाएर राख्दाखेरि विकास भएन। सबै जातजाती र भाषाभाषीको समान अधिकार हुनुपर्छ भन्ने लडाइँ सुरु भएको हो', प्रचण्डले भने', 'सबैले आफ्नो पहिचान र अधिकारका लागि लडाइँ नलडेको भए र हामीले सबैलाई आन्दोलित र जाग्रित नगरेको भए अहिले नेपाल समानुपातिक, समावेशी गणतन्त्रमा हुने अवस्था थिएन। यसलाई समृद्ध बनाउनका लागि इतिहासको अध्ययन जरुरी छ।'

प्रचण्डको आग्रह थियो, 'संघीय लोकतन्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका निम्ति र अझै धेरै अधिकार प्राप्तिको प्रक्रियालाई अगाडि बढाउनका लागि अहिलेको संविधानले अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्न सकिने व्यवस्था छ। अहिले को संविधानमा शान्तिपूर्ण ढंगले संशोधन गर्न सकिने स्थिति छ।'

यसका लागि सबैले आफ्नो क्षेत्रबाट विकासका लागि लाग्नुपर्ने र आफ्नो इतिहासका गौरवशाली पक्ष के हुन् भन्ने कुराको अध्ययन गर्नुपर्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.