|

पोखरा : पोखराबाट फेवातालको छेऊ छेऊको पामे हुँदै केही पर पुगेपछि जंगल आउँछ। त्यै जंगलको बीचैबीचमा ब्याक टु नेचर जाने बाटो छ। बर्खायाम भएकोले बाटोमा जुका मानिस तथा जीव जनावरको रगत चुस्न तम्तयार देखिन्थे।

विभिन्न चराचुरुंगीको आवाज सुन्दै, मृगका पाठा समेत सजिलै हेर्दै करिब ३० मिनेटको उकालो चढेपछि डाँडाखर्कको ब्याक टु नेचर पुगिन्छ। त्यहाँ पुगेका अधिकांश विदेशी केही न केही काम गरिरहेका भेटिन्छन्। यहाँ गाइभैँसीको स्याहार सुसार गर्न, घाँस काट्न गोबर फाल्न, प्रकृतिसँग जुध्न थुप्रै विदेशीहरू आउँछन्।

शुक्रबार त्यहाँ पुग्दा स्पेनको यूनिभर्सीटीमा अध्ययनरत २० वर्षकी मारिया रोयगास, अस्ट्रेलियाकी १८ वर्षीया लोला पअल्सफर्ड, आएरल्यान्डबाट नेपाल भ्रमणमा आएका माइकल घाँस काटेर बोकेर गाइ भैँसीको गोठमा लैजाँदै गरेको भेटिए। यी तीनै जनाले एक हप्ता ब्याक टु नेचरमा प्रकृतिसँग जुध्दै, घाँस काटेर, गोठमा गाइभैँसीको गोबर फालेर, गाइभैँसीलाई घाँस हालेर बिताए।

उनीहरूले एकसाताको बसाईमा नेपाली समाजको अनुभव लिएको बताए। उनीहरू नेपालका विभिन्न ठाउँ घुम्ने क्रममा साथीले ब्याक टु नेचरबारे जानकारी गराएपछि त्यहाँ आएका थिए। ‘पहिलो पटक गाइभैंसीको गोबर फाल्ने, घाँस दाउरा गर्दा निकै रमाइलो भयो,’ मारियाले भनिन्, ‘यस्तो त मैले देखेकै थिइन।’ उनलाई सबै भन्दा नौलो अनुभव भने जंगलमा घाँस काट्दा जुकाले चुसेको बताइन।

फरक फरक देशबाट नेपाल घुम्न आएका तीन जना पनि ब्याक टु नेचरमा परिवारजस्तै भए, बसे र काम गरे। अस्ट्रेलियाकी लोला पअल्सफर्डले त पहिलो पटक घाँस काट्ने, दही मोथ्ने गर्न पाएकोमा झनै खुसी छन्। ‘आफैँले घाँस काटेर खुवाएको, स्यहारसुसार गरेको भैंसीको दुध दुहेर दही मथेको अनुभव सायदै विर्सुँला’, उनले भनिन्, ‘यस्तो नेपाली परिबेस सबै एकै ठाउँमा झल्कने गरेर बनेको ब्याक टु नेचरलाई धन्यावाद।’ 

मारिया र लोलाका अर्का साथी हुन माइकल। आएरल्याड घर भएका उनले नेपाली मजदुरले जसरी नै ब्याक टु नेचरमा गल घन, खेलाएर ठूला ठूला चट्टान फुटाए। हातभरि ठेला उठाउँदै उनले ढुंगा फुटाएर फर्खाल लगाउन त्यही ढुंगा समेत बोके।

‘ब्याक टु नेचर त मेरो लागि नयाँ अनुभव र ज्ञान लिने थलो बन्यो,’ इन्टरनेशनल डेभलपमेन्टबारे अध्ययनरत उनले भने ‘अन्य देशका नागरिकको जीवनशैली कस्तो छ। पहिले कसरी उठेको रहेछ त्यो बुझ्न आएको हुँ।’ 

कुटो कोदालो लिएर विहानै खेतबारीमा निस्कने उनीहरूले बारी खने, तरकारी रोपे, पहिल्यै अरुले लगाएको तरकारी गोडमेल गरे, त्यही फलेको तरकारी, सागसब्जीसँग त्यही तल फलेको झिनुवाको चामलको भातसँग नयाँ स्वाद लिए।

काइकलले पोखराबाट देखिने हिमाल, ताल, प्याराग्लाइडिङ, लगायतले आफूलाई निकै आकर्षण गरेको बताए। मारियाले अरु कुनै बेला समय मिलाएर फेरी नेपाल घु्म्न आउने सुनाइन्।  

यसरी बन्यो ब्याक टु नेचर 

पर्यटन व्यवसाय शहर केन्द्रित मात्र हैन गाउँ केन्द्रित गर्नुपर्छ र गाउँकै परिवेशमा गर्नुपर्छ भन्ने उदेश्यले दुई युवाले २०११ म डाँडा खर्कमा जग्गा किने। डम्बर र डेम पुन दाजुभाइले विस्तारै संरचनाहरू निर्माण गर्न थाले। गाउँमा सडक सुविधा नभएको, अन्य दैनिक उपभोग्य सामान पनि  सहजै नपाउने भएपछि रित्तिँदै गएको त्यो गाउँमा उनीहरू भने सपना देख्दै थिए। अहिले उनीहरुले ब्यवसाय सुरु गरेको पनि पाँच वर्ष भइसक्यो।

४० रोपनी जग्गामा उनीहरूले ब्याक टु नेचर नामको रिसोर्ट खोलेका छन्। सडक नपुगेकोले सबै सामान मान्छेले नै बोकेर बनेका संरचना छन्। बार्दली भएको एउटा घर, गोठ जस्तै कटेजहरू, केही टेण्टका कटेज छन्। ३५ देखि ४० जनालाई एकै पटक सेवा दिन मिल्ने बनाएकाछन्।

पोखराबाट जम्मा नौ किलो मिटर सडकमार्ग र ३०/४० मिनेट जंगलको उकालो चढेपछि त्यहाँ पुगिन्छ।  त्यहाँबाट फेवातालको मुहानदेखि लेकसाइड लगायतका ठाउँहरू सजिलै हेर्न सकिन्छ।

उत्तरतर्फ अन्नपूर्ण, माछापुच्छ्रे, लगायतका हिमाल लहरै मिलेर मुस्कुराइरहन्छन्। पछिल्लो समय विदेशी मात्र नभई नेपाली पनि ब्याक टु नेचरका ग्राहक बन्न थालेका छन्। ‘अहिले २०/२५ जनाको गु्रपमा, एक दुई जना नै भएनी नेपाली पनि यहाँ आउन थाल्नु भएको छ’, सञ्चालक डम्बर भन्छन, ‘यही ठाउँ जुन की यहाँकै मान्छेले छोडेर गएको ठाउँ हो। हामीले हराभरा बनाइरहेका छाैं। पाहुनालाई आनन्द दिइरहेका छौँ।’  उनीहरूले ब्याक टु नेचर सञ्चालन गर्नका लागि झण्डै २ करोड रुपैयाँ लगानी गरेका छन्।

लोकल कुखुरा, खसी बोका, लोकल नै तरकारी, सब्जीहरु, म्याग्दीको लेकमा फल्ने कोलोको तरकारीले नै ब्याक टु नेचरमा आउनेहरू फेरि पनि आउने गर्छन। शहरिया कोलाहलबाट मुक्त हुनेहरू अहिले ब्याक टु नेचर जान थालेका छन्।

डम्बरले वरिपरि भएका गाउँलेले पनि तरकारी खेती गर्दिएर आफ्नो भएको खेतीले नपुगेर बजारमा किन्नुपर्ने समस्या नहुने बताए। उनी योगका गुरु पनि हुन। उनले त्यहाँ आउनेलाई हरेक दिन विहान योग सिकाउँछन्। उनले पानीको झरनामा वाटर थेरापी समेत सिकाउँछन्। फापरको रोटी, कोलोको तरकारी ब्याक टु नेचरको खाजा सेट हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.