योगेश दाइले रवीन्द्रका अधुरा काम पूरा गर्नुहुन्छ

|

कुनै बेला अनेरास्ववियुकी केन्द्रीय सचिव थिइन् विद्या भट्टराई। नेकपा एमालेका नेता रवीन्द्र अधिकारीसँग वैवाहिक बन्धनमा बाँधिएपछि उनको त्यो परिचय फेरियो। रवीन्द्रसँगको विवाहसँगै विद्याको सक्रिय राजनीतिले पूर्णविराम लियो। रवीन्द्रसँग बिहेको डेढ वर्षपछि उनले एमए पास गरिन्। त्यसपछि उनको यात्रा त्रिभुवन विश्वविद्यालयसँग जोडियो।

रवीन्द्रसँग जोडिएपछि विद्याले राजनीतिलाई विश्राम दिँदै प्राध्यापन सुरु गरिन्। तीन वर्ष मात्रै भएको छ उनी त्रिविमा स्थायी भएको। रवीन्द्रलाई राजनीतिक उचाइमा पुर्‍याउन पर्दा पछाडि बसेर योगदान गरेकी उनै विद्या अहिले राजनीतिमा होमिने बिन्दुमा आइपुगेकी छन्। यो अवस्था उनको रहर या चाहनाले आएको होइन।

२०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीसमेत रहेका जीवनसाथी रवीन्द्रलाई गुमाउन पुगेपछि विद्या सक्रिय राजनीतिमा होमिने अवस्थामा पुगेकी हुन्। रवीन्द्रको निधनसँगै खाली भएको प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र नम्बर-२ बाट विद्यालाई उपनिर्वाचनमा उम्मेदवार बनाउनुपर्ने चर्चा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा चलिरहेको छ।

निर्वाचन आयोगले मंसिर १४ का लागि उपनिर्वाचनको मिति घोषणा गरेसँगै विद्यालाई चुनावमा उठ्न कास्की–२ का मतदाताले आग्रह गरिरहेका छन्। रवीन्द्रसँग जोडिएपछि रोकिएको राजनीतिक यात्रा उनैलाई गुमाएपछि फेरि सुरु गर्नुपर्ने दबाब उनीमाथि छ। तैपनि शीर्ष नेताहरूसँगको छलफल चलिरहेकाले उनले निर्णय लिइसकेकी छैनन्। कास्की–२ को उपनिर्वाचन, रवीन्द्रको स्मरण, अबको यात्रासहितका विषयमा विद्या भट्टराईसँग थाहा खबरका ज्ञानेन्द्र खड्काजयसिंह महराले गरेको कुराकानीको सम्पादित अंश :

एउटा दुःखद घटनाबाट यहाँसम्म आइपुग्‍नुभएको छ, अहिले के गर्दै हुनुहुन्छ?

चैतको अन्तिमदेखि नै रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानमा सक्रिय भएँ। विश्वविद्यालको जागिरसँगै आफ्ना नियमित कामलाई अघि बढाइरहेकी छु। प्रतिष्ठान बनाउने संकल्पअनुसार एक महिना हामीले प्रतिष्ठानको तयारीमा जुट्यौँ। वैशाख २२ गते रवीन्द्रजीको जन्म दिन थियो, त्यही जन्मदिनका अवसरमा प्रतिष्ठानको घोषणा गर्ने तयारी गरेका थियौँ। प्रतिष्ठानको घोषणामा प्रधानमन्त्रीज्यूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्नुपर्छ भन्ने हाम्रो सल्लाह थियो। रवीन्द्रजी कामकै सिलसिलामा रहँदा त्यो अवस्था आएकाले प्रधानमन्त्रीको उपस्थिति महत्त्पूर्ण हुन्छ भन्ने हाम्रो निचोड थियो । त्यहीअनुसार हामीले अनुरोध गर्‍यौँ। प्रतिष्ठानकै तयारी समिति बनाएर हामीले काम अघि बढायौँ। हामी तीन मापदण्ड बनाएर अघि बढ्यौँ।

तीनवटा आधारमध्ये परिवारका सदस्य हकदार, पार्टी हकदार र उहाँलाई माया गर्नेहरूको पंक्तिलाई पनि समेटेर काम थाल्यौँ। तर, आवश्यक तयारी गर्दागर्दै पूरा हुन सकेन। एक महिनाको होमवर्क (गृहकार्य) गरेपछि वैशाख २२ मा घोषणाको तयारी भयो। त्यसपछि जेठ १७ मा सार्‍यौँ, तर जेठ १८ गते मात्रै यसको घोषणा भयो।

रवीन्द्रजीको अमरत्व आवश्यक छ भन्ने कुरा परिवारदेखि पार्टी र देशले पनि बोध गरेकाले प्रतिष्ठान निर्माण गरेका हौँ। हामी शोकमा हुँदाहुँदै पनि प्रतिष्ठानको परिकल्पना अघि बढायौँ। यसमा साथीहरूले साथ दिनुभयो। प्रतिष्ठान घोषणापछि कार्ययोजना निर्माण थाल्यौँ। पोखरामा कार्यालय खोल्ने काममा लागेँ । काठमाडौँको कालिकास्थानमा पनि सम्पर्क कार्यालय खोलेका छौँ।

पोखरा र काठमाडौं दुवै ठाउँमा सक्रिय हुन खोज्नुभएको हो?

हो, म दुवै ठाउँमा आफूलाई क्रियाशील गराउन जुटेकी छु। प्रतिष्ठानको मुख्य कार्यालय पोखरामै हुन्छ। उहाँको जन्मभूमि, कर्मभूमि र मुख्य राजनीतिक थलो पनि पोखरा नै थियो। तर, काठमाडौंलाई सबैसँग सम्पर्क गर्ने थलो बनाएकी हुँ। यहाँ रवीन्द्रजीका साथी, शुभेच्छुकसहित ठूलो जमात छ। उहाँहरूलाई पनि प्रतिष्ठानमा जोडौँ भनेर सक्रिय भएकी हुँ।

रवीन्द्रजीसँग बिहे हुनुअघि म राजनीतिककर्मी नै थिएँ। राजनीतिक कार्यकर्ता थिएँ। राजनीतिक सम्बन्धले नै हाम्रो विवाह भएको हो। बिहेको डेढ वर्षपछि मैले एमए पास गरेँ। त्यसलगत्तै मैले विश्वविद्यालयमा काम गर्न सुरु गरेँ। मैले अहिलेसम्म विश्वविद्यालयको मर्यादाभित्र बसेर राजनीतिक कार्यकर्ताका रूपमा नभई पेसामा सक्रिय छु।

पारिवारिक व्यवहार र विश्वविद्यालयको जिम्मेवारी कसरी पूरा गरिरहनुभएको छ?

हाम्रो परिवार संयुक्त हो। अहिले पनि हामी संयुक्त परिवारमै बसेका छौँ। हाम्रो एउटा छोरो भारतमा पढिरहेको छ। बीचमा आएको थियो, अहिले पनि उसले त्यहीँ अध्ययन गरिरहेको छ। सानो छोरो पोखरामै छ। बाआमासँग हामी संयुक्त रूपमा बसिरहेका छौँ। भाइहरू आउने जाने गरिरहनुभएको छ। मैले विश्वविद्यालयको शिक्षण पेशलाई अघि बढाइरहेकी छु।

हिजो तपाईं विद्यार्थी नेतृ पनि हुनुहुन्थ्यो। अखिलको सचिवसम्म भएर रवीन्द्रजीसँग बिहे गरेपछि सक्रिय राजनीतिबाट विश्राम लिनुभयो। आज रवीन्द्रजी हुनुहुन्न। अब राजनीतिक यात्रा अघि बढ्ला कि नबढ्ला?

रवीन्द्रजीसँग बिहे हुनुअघि म राजनीतिककर्मी नै थिएँ। राजनीतिक कार्यकर्ता थिएँ। राजनीतिक सम्बन्धले नै हाम्रो विवाह भएको हो। बिहेको डेढ वर्षपछि मैले एमए पास गरेँ। त्यसलगत्तै मैले विश्वविद्यालयमा काम गर्न सुरु गरेँ। मैले अहिलेसम्म विश्वविद्यालयको मर्यादाभित्र बसेर राजनीतिक कार्यकर्ताका रूपमा नभई पेसामा सक्रिय छु। त्यो बेला म सक्रिय कार्यकर्ताबाट पेसाकर्मीमा रूपान्तरित भएँ। पार्टीको सदस्य थिएँ, तर पार्टी कार्यकर्ताको पहिचान मैले बनाइनँ

अखिलको सचिवसम्मको राजनीतिक यात्रालाई अब निरन्तरता दिने कि नदिने?

त्यो म सोच्दै छु।

त्यो बेलाका तपाईंका सहयात्रीहरूलाई सम्झिनुहुन्छ? कहाँ कहाँ पुगेका छन्?

मभन्दा सिनियर दाइदिदीहरू मेरा सहकर्मी हुनुहुन्थ्यो। धेरै जना राजनीतिमा हुनुहुन्छ केही बाहिरिनुभयो। तर धेरैजना अहिले पनि राजनीतिमा हुनुहुन्छ। कोही मन्त्री हुनुहुन्छ। प्रदेश र संघमा अहिले पनि ४० जनाभन्दा धेरै सांसद हुनुभएको छ।

तपाईं राजनीतिमा फर्किने विषयमा धेरैको चासो रहेको छ। राजनीतिमा आउने सम्भावना कति छ?

म एउटा जटिल परिस्थितिबाट बाहिर निस्कँदै छु। मेरो राजनीतिक भविष्यबारे चासो हुनु स्वाभाविक पनि हो। हिजोसम्म मैले विश्वविद्यालयबाटै राजनीतिक चेतका आधारमा अघि बढ्ने सोचेकी थिएँ। रवीन्द्रजीको राजनीतिक उचाइ धेरै माथि पुगिसकेकाले अब मैले आफूलाई विश्वविद्यालयबाटै अघि बढाउनुपर्छ भन्ने सोचिसकेकी थिएँ। विश्वविद्यालयमा रहँदा मसँग रहेको राजनीतिक चेतलाई लेखनका माध्यमबाट या विभिन्न हिसाबले प्रस्‍फुटन गर्ने योजना बनाएकी थिएँ।

एक्कासि यस्तो घटना भयो। यसबाट स्वभाविक रूपमा निस्कनुपर्छ भन्ने कुरा अनौठो होइन। मसँग रहेको राजनीतिक चेतका आधारमा पनि मबाट यो अपेक्षा हुनु स्वाभाविक पनि हो। यसमा केही फरक विचार छन्। एकथरीले रवीन्द्रजीबाटै पहिचान बनिसकेकाले किन अर्को विचार चाहियो भनिरहेका छन्। अर्काथरीले रवीन्द्रजीको अमरत्वका लागि पनि तपाईं राजनीतिमा आउनुपर्छ भनिरहेका छन्। हिजो टुटेको पृष्ठभूमिलाई जोडेर जानुपर्छ भन्ने सुझाव पनि आइरहेका छन्। ती सबैलाई मनन गरिरहेकी छु। रवीन्द्रजीको अनुपस्थितिमा राजनीतिमा आउनुपर्छ भन्ने भनाइ पनि बेठिक होइन। तर, मैले के गर्ने भन्ने कुराको निचोड निकालेकी छैन। यो कुरा म व्यक्तिले मात्रै निचोड निकाल्ने होइन। मेरो पछाडि सिंगो पार्टी छ। पार्टीका नेताहरूले कस्तो सल्लाह, सुझाव र मार्गदर्शन गर्नुहुन्छ? त्यसका आधारमा म निर्णयमा पुग्छु।

भनेपछि तपाईं अहिले छलफलको चरणमा हुनुहुन्छ?

हो, अहिले म छलफलको चरणमा छु।

पार्टीका नेताहरूले के भनिरहनुभएको छ?

त्यो दुःखको अवस्थामा सबै नेताहरू आउनुभएको थियो। केन्द्र, जिल्ला, देश बाहिर सबैतिरबाट हामीले शुभेच्छा पाएका थियौँ। धेरैले 'राजनीतिमा आउनुपर्छ' भन्नुभएको छ। कुरा मेरो या व्यक्तिको होइन। कुरा पार्टीको हो। पार्टीले दिने निर्देशन स्विकार्न मलाई समस्या छैन। तर, अहिले मैले उहाँहरूको कुरा सुनिरहेकी छु।

मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने नलड्ने तपाईंको मुडके हो?

मेरो ‘मुड’ले मात्रै सबै कुरा निर्धारण गर्दैन। निर्वाचन आयोगले उपनिर्वाचन घोषणा गरेको छ। अब पार्टीले छलफल अघि बढाउला। के गर्ने? कसरी जाने? पार्टी नेताहरूसँग परामर्श भइसकेको छैन।

यदि पार्टीले टिकट दिएमा के हुन्छ?

यसबारेमा पार्टीले टिकट दिएपछि मात्रै बोलौँला। यसमा व्यक्ति बोल्ने कुरा होइन। यसबारे अहिले नै बोल्नु हतार हुन्छ।

तपाईं तयार हो त?

अघि नै भनेँ, अहिले नै यसबारे म बोल्दिनँ। हिजो रवीन्द्रजीले पार्टी नेताको अभिभावकत्व पाउनुभएको थियो। उहाँको निधनपछि त्यो अभिभावकत्व मैले पाइरहेकी छु। त्यसैले पार्टी नेताहरूसँग गहन छलफल नभई यसमा टिप्पणी गर्दिनँ।

प्राध्यापक पनि हुनुहुन्छ, पार्टीले टिकट नदिए पनि राजनीतिमा आउने सम्भावना कति छ?

पार्टीको सदस्य भएकाले मैले हिजो पनि सकेको योगदान दिएको छु। रवीन्द्रजी हुँदा पनि मैले जुन ठाउँमा थिएँ, त्यहाँबाट सकेको योगदान गरेँ। त्यति बेला मलाई विद्याका रूपमा कमैले चिन्थे। रवीन्द्रकै पत्नीका रूपमा मेरो परिचय थियो। रवीन्द्रजीको अभावमा मलाई राजनीतिमा सक्रिय हुन भनिएको छ। तर, म आज जहाँ छु, त्यहाँबाट पनि योगदान त गरिरहेकी छु।

विश्वविद्यालय अन्तरगतको एउटा सदस्य भइरहँदा आफूलाई राजनीतिक कार्यकर्ता भन्नु उचित हुन्न। त्यो प्राज्ञिक मर्यादालाई अहिले नै उल्लं‍घन गर्नु गलत हुन्छ। जुन

रवीन्द्रजीको अनुपस्थितिमा राजनीतिमा आउनुपर्छ भन्ने भनाइ पनि बेठिक होइन। तर, मैले के गर्ने भन्ने कुराको निचोड निकालेकी छैन। यो कुरा म व्यक्तिले मात्रै निचोड निकाल्ने होइन। मेरो पछाडि सिंगो पार्टी छ। पार्टीका नेताहरूले कस्तो सल्लाह, सुझाव र मार्गदर्शन गर्नुहुन्छ? त्यसका आधारमा म निर्णयमा पुग्छु।

दिनसम्म मैले राजीनामा दिन्नँ, तबसम्म म प्राज्ञिक सदस्य नै हुँ। पहिलेको योगदान त जनताले थाहा पाएका छन्। बीचको त रवीन्द्रजी हुँदा उहाँसँगै जोडिएको थियो।

भनेपछि आवश्यक पर्दा त्यसलाई त्याग्न सक्नुहुन्छ?

नेताहरूले मेरो आवश्यकता कहाँ देख्नुहुन्छ, त्यसमा भर पर्छ। उहाँहरूले राजनीतिक ठाउँ देखेर जिम्मेवारी दिनुभयो भने म तयार छु। 'होइन, तपाईं प्राध्यापनमै बस्नु' भन्नुहुन्छ कि? उहाँहरूसँग छलफल नभई मैले अहिले नै दिने अभिव्यक्ति सही हुन्न भन्ने लाग्छ।

राजनीतिमा आउने अवस्थामा परिवारको धारणा के छ?

परिवारबाट मलाई समस्या छैन। हिजो पनि परिवारको सल्लाहभन्दा मेरो आफ्नै निर्णयले राजनीतिमा लागेकी हुँ। विगतमा माइतीतिरबाट 'नलाग्' भन्दा भन्दै राजनीतिमा लागेँ होला। मैले पार्टीसँग बसेर एउटा निचोडमा पुगेँ भने मैले गर्ने निर्णयमा दुवैतर्फको परिवारबाट मलाई कुनै खालको समस्या छैन।

नेपालसहित दक्षिण एसियामै श्रीमानको निधनपछि उहाँका श्रीमती राजनीतिमा आउनुभएको छ, कतिपयसँग राजनीतिक अनुभव नहुँदा पनि। तपाईंको हकमा के होला?

धेरैले मलाई मेरो राजनीतिक पृष्ठभूमिका कारण चुनावमा पनि उठ्नुपर्छ भन्नुभएको छ। नेपालसहितका छिमेकी देशमा पनि यस्तो अभ्यास भएको छ। मसँग राजनीतिक चेत छ, त्यसैले मेरा लागि राजनीतिक चुनौती समस्या होइन। महिलाको हकमा नेताका श्रीमती मात्रै पुगे भन्ने आरोप पनि छ। मसँग राजनीतिक चेतना र बौद्धिकता छ भने समाजमा उठेका दुवै कोणका कुरा त बुझ्नुपर्‍यो नि।

भावनामा बगेर मात्रै होइन, मैले सोचेर निर्णय लिन सक्नुपर्छ। ‘ग्राउन्ड रियालिटी’ के? भन्ने पनि बुझ्दै छु। जनमतले मलाई उठ्नुपर्छ भनिरहेको छ। यसबारेमा मैले कुनै निर्णय गरेको छैन। म बीचमा राजनीतिक कार्यकर्ता नभएको मात्रै हो तर म सामाजिक मुद्दामा सक्रिय छु। बीचमा ‘पब्लिक फिगर’, थिइनँ। तर, आज मैले ‘पब्लिक फिगर’ का रूपमा अघि बढ्नुपर्छ। त्यसका लागि रवीन्द्र स्मृति प्रतिष्ठान या पार्टीको राजनीति पनि हुनसक्छ।

अहिलेसम्म तपाईंले शीर्ष नेतासँग छलफल गर्नुभयो कि छैन?

मैले अहिलेसम्म शीर्ष नेताहरूसँग छलफल गर्न पाएकी छैन। दोस्रो-तेस्रो तहका नेताहरूसँग नियमित अन्तरक्रिया भई नै रहेको छ। शीर्ष नेताहरूसँग मेरो भेट हुन सकेको छैन। मेरो पहुँचका आधारमा छलफल गरेकी छु। धेरैजनाले हिजो पनि राजनीति गरेको हो, उठ्दा हुन्छ भनेका छन्। दुवै किसिमका सुझाव छन् तर राजनीतिमा आउनुपर्छ भन्ने आवाज बलियो छ।

नेकपा सचिवालयले पनि कास्की निर्वाचन क्षेत्र २ मा तपाईंको नामबारे छलफल गरेको थियो? पछि अन्य नेताहरूको पनि नाम आएको छ। यसमा के भन्‍नुहुन्छ?

मेरो या अरू नेताबारे चर्चा चलेको कुरा मैले पनि सुनेकी छु। तर पार्टीले आधिकारिक निर्णय नगरुन्जेल म केही भन्दिनँ । मलाई सुझाव दिनेहरूले मेरो हिजोको राजनीतिक करिअरलाई अघि बढाउनु भनेका छन्। यो सुझाव बलियो पनि छ।

रवीन्द्रजीको विरासत थेग्ने कुरा पनि छ। त्यो विरासतलाई धान्ने गरी अघि बढाउने विकल्पबारे तपाईं के भन्नुहुन्छ?

निर्वाचनमा नजाँदासम्म म विश्वविद्यालयमै हुन्छु। चुनावमा जानुपरे म विश्वविद्यालय छाड्छु। हिजो पनि बौद्धिक कार्यक्रमहरूमा सहभागी हुँदै आएकी छु। विचारहरू दिने गरी मलाई बोलाइन्थ्यो, म त्यही हिसाबमा विचार राख्थेँ। यदि राजनीतिमा गइनँ भने म प्रतिष्ठानमार्फत रवीन्द्रजीको विरासत धान्छु। प्रतिष्ठानको उद्देश्य नै रवीन्द्रजीको अमरत्वको लागि हो। रवीन्द्रजीको योगदालाई कुल्चेर अघि बढ्न सकिँदैन। उहाँले बोकेका विकास र समृद्धिका कुराहरूलाई पनि अगाडि लैजान्छु। प्रतिष्ठानबाट रिसर्च, अध्ययन र बहसका कार्यक्रम पनि चलाउँछु। अहिलेको सन्दर्भमा विश्वविद्यालयमा रहेकाले पार्टीले निर्णय नगरेसम्म विश्वविद्यालयको प्राज्ञिक मर्यादा तोडेर म राजनीतिमा जान सक्दिनँ।

रवीन्द्रजीको निधनको पाँच महिनापछि योगेश भट्टराई त्यो ठाउँमा 'उत्तराधिकारी'का रूपमा आउनुभएको छ। योगेश भट्टराई मन्त्री भएपछि भेट्नु भयो कि भएन?

मैले भेटेको छैन। म बिस्तारै भेट्ने योजनामा छु। उहाँसँग त मेरो दाइ-बहिनीको नाता पनि छ। त्यही भएर हत्तारिएर भेट्न जानुपर्छ भन्नेमा छैन म। दाइले मेरो पीडा बुझ्नुहुन्छ र बुझ्नु भएको छ। मेरो स्वभाव पनि दाइलाई थाहा छ।

बहिनीको रूपमा योगेश दाइलाई के सुझाव दिनुहुन्छ?

दाइलाई मैले त्यस्तो धेरै सुझाव दिइरहनुपर्छ जस्तो लाग्दैन। धेरै कुरा उहाँले रवीन्द्रजीकै कामलाई निरन्तरता दिन्छु भन्नुभएको छ। रवीन्द्रकै कार्यकालमा म आएको हो, त्यसलाई नै निरन्तरता दिन्छु भन्नुभएको छ। म रवीन्द्रजीसँग वैवाहिक हिसाबले जोडिएँ तर उहाँहरूको सम्बन्ध मसँगभन्दा बलियो थियो। त्यही भएर दाइलाई भन्नै पर्दैन। दाइको माया, सहयोग, मित्रता रवीन्द्रजीसँग मजबुत थियो। दाइप्रति म पूर्णतः विश्वस्त छु।

रवीन्द्रजीले थालेका कामलाई योगेशले अघि लानुहुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ?

दाइप्रति म पूर्ण विश्वस्त छु।

मन्त्री भएपछि कुराकानी भयो त?

योगेश दाइ मन्त्री भएपछि म निःशब्द भएँ। म पहिलेबाटै नजिक भएकाले केही बोल्न सकिनँ। हार्दिक बधाई दाइ भनेर पनि मैले लेख्न सकिनँ। दाइ मन्त्री भएको भोलिपल्ट भाउजूले फोन गर्नुभएको थियो। भाउजूलाई मैले, 'बधाई दिन आउन सकिनँ, समय मिलाएर आउँछु है' भनेँ। हाम्रो पारिवारिक सम्बन्ध छ। पार्टीभित्र गुटगत स्वार्थ र मान्यता हुने भए पनि मेरो, रवीन्द्रजी, योगेश दाइसँगको सम्बन्ध गाढा थियो। हाम्रो सम्बन्धलाई गुटले कुनै फरक पारेन। दाइले रवीन्द्रजीको कार्यशैलीलाई राम्ररी बुझ्नुभएको छ। त्यसैले मैले धेरै भन्नै पर्दैन।

फरक प्रसंगमा जाऊँ, उपनिर्वाचन घोषणा भइसकेपछि कास्की२ का जनता के भन्छन्?

जनताको चाहना म आउनुपर्छ भन्ने छ। तर, मलाई दबाब दिन सक्नुहुन्न। मैले म अहिले सल्लाहमा छु भन्ने जवाफ दिइरहेकी छु। म अहिले पनि दौडधुप गरेर टिकटका लागि जानुपर्छ भन्ने पक्षमा छैन। मैले बारम्बार भनिरहेकी छु, पार्टी मेरो जहाँ आवश्यकता देख्छ, त्यहाँ खटिन तयार छु। पार्टीले मेरो भूमिका जहाँ देख्छ, त्यहाँ जान समस्या भएन। तर, कास्की–२ को जनमतको पार्टीले कदर गर्न सक्नुपर्छ, जनताको मनोभावना बुझ्न सक्नुपर्छ। जनताको मागलाई पार्टीले सम्बोधन गर्नसक्नुपर्‍यो। बाहिरको मान्छे ल्याउँदा पनि पार्टीले त्यसको जवाफ जनतालाई दिन सक्नुपर्छ।

यदि बाहिरबाट लगेर अर्को पात्र खडा गरियो भने रवीन्द्रजीलाई प्राप्त जनमतको सम्मान होला त?

जनताले बाहिरबाट उम्मेदवार नल्याउन् भनिरहेका छन्। जनताले त्यही भूगोलमा सक्रिय अन्य पात्रलाई पनि स्विकार्न तयार छन्। यदि बाहिरको मान्छे लगेर खडा गर्ने हो भने जित्नका लागि पार्टीले ठूलै जोड बल लगाउनुपर्छ।

त्यो बेला तपाईंको भूमिका के हुन्छ?

अघि पनि मैले भनेँ पार्टीले दिने जिम्मेवारीमा मेरो भूमिका तय हुन्छ।

अन्त्यमा, रवीन्द्रजीले खेलेका भूमिका र योगदानलाई सम्झिन पार्टीले अब के गर्नुपर्छ।

यसमा म रवीन्द्रजीलाई चारवटा कोणबाट सम्झिन्छु। पहिलो, उहाँले आन्दोलनकारीका रूपमा भूमिका खेल्नुभयो। आन्दोलनकारीसँगै समाजमा विद्यार्थीहरूको भूमिका जोड्ने काम गर्नुभयो। त्यो आधारमा पनि विद्यार्थी आन्दोलन र आजका विद्यार्थीका मुद्दा जोड्ने एउटा मान्यता थियो। आज विद्यार्थीले कार्ड देखाएर सुविधा लिने कुरा उहाँसहितको अनेरास्ववियुले गरेको हो। उहाँमा सिर्जनशीलताका हिसाबले नयाँ कुरा ल्याउने क्षमता थियो। 

दोस्रो, उहाँको भूमिका पार्टी नेताका रूपमा स्थापित भयो। उहाँ पार्टी सचिव भएपछि उहाँले आफूलाई बलियो साथ उभ्याउनुभयो। उहाँ स्ववियु जस्तो साझा फोरममा काम गरेकाले कास्कीमा पनि साझा नेताका रूपमा स्थापित हुनुभयो। उहाँले सबै पार्टीसँग मिलेर जाने भूमिका निर्वाह गर्नुभयो। अरू विचारहरूसँग पनि एकीकृत हुने भूमिका खेल्नुभयो भन्ने लाग्छ।

तेस्रो, उहाँ निर्वाचित भएर संविधानसभा र प्रतिनिधिसभामा आइसकेपछि उहाँको कामलाई मैले दुई रूपमा हेर्छु। उहाँले विकास र राजनीतिलाई जोड्नुभयो। हिजोसम्म विकास र राजनीति फरक थिए। रवीन्द्रजीले समृद्ध राजनीतिले मात्रै दिगो विकास हुनसक्छ भन्ने मान्यतालाई निर्माण गर्नुभयो।

भौतिक पूर्वाधकारबिना विकास हुन्न भन्ने उहाँको मान्यता थियो। अर्को भनेको मानवीय विकासको कुरा थियो। समृद्ध नेपाल, सुखी नेपाली भन्ने मान्यता उहाँले ल्याउनुभयो। पैसाले मात्रै विकास हुँदैन भन्ने उहाँको बुझाइ थियो। मान्छेले सम्मान पाउन सक्नुपर्छ भन्नुहुन्थ्यो।

उहाँले विकासको परिभाषा पनि फेर्नुभयो। म त्यसलाई तीन रूपमा हेर्न सक्छु। पहिलो भने भौतिक पूर्वाधारबिना विकास हुन्न भन्ने उहाँको मान्यता थियो। अर्को भनेको मानवीय विकासको कुरा थियो। समृद्ध नेपाल, सुखी नेपाली भन्ने मान्यता उहाँले ल्याउनुभयो। पैसाले मात्रै विकास हुँदैन भन्ने उहाँको बुझाइ थियो। मान्छेले सम्मान पाउन सक्नुपर्छ भन्नुहुन्थ्यो।

यो विश्वव्यापी मान्यता भए पनि नेपालको हकमा रवीन्द्रजीले यसलाई जोड्नुभयो। समृद्धि के हो भन्ने कुरा उहाँले व्याख्या गर्नुभयो। समृद्धिलाई उहाँले परिभाषित गरेर अघि बढाउनुभयो। त्यसलाई पछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै नाराका रूपमा अघि बढाउनुभयो।

अर्को भने रवीन्द्रजी मन्त्री भएपछिको अवस्था। उहाँ एकदम छिटो परिणाम दिनुपर्छ भन्नु हुन्थ्यो। उहाँ भइरहेको संरचना र जनशक्तिबाटै नतिजा दिन सक्नुपर्छ भन्नुहुन्थ्यो। उहाँले आफूलाई दोष आइरहँदा पनि अरूलाई मुछ्‍नुभएन। उहाँ कार्यकारी पदमा रहँदा नतिजामा विश्वास गर्नुहुन्थ्यो। उहाँले ९ महिना मात्रै काम गर्दा पनि कैयौँ वर्ष काम गरेजस्तो प्रभाव छाडेर उहाँ प्रिय व्यक्ति बन्नुभयो। यो कुरा अरूले पनि सिक्नुपर्छ। त्यो कुरालाई अरूले पनि मानेका छन्। उहाँका यिनै स्वभावलाई पार्टीले पनि कदर गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.