अख्तियार प्रमुख नवीन घिमिरेको २०० वर्ष आयुको कामना

|

उदयपुर : एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। 

त्रियुगा नगरपालिका-१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार आचार्यले झुण्डिएर आत्महत्या गरेका हुन। ‘हामी सुसाइड नोटको फोटो खिच्न दिदैनौं,’ उनले भने, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस, म ठुलो भ्रष्टाचारी होइन’, लेखिएको सुसाइड नोट फेला परेको छ।’

मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। 

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस् भनेर सुसाइड नोट लेखीएको छ,’ डिएसपी केसीले भने, ‘अलिअलि मानसिक सन्तुलन ठीक नभएको पाएका छौँ।’

आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पनि काम गरेका थिए। झापाबाट मालपोत कार्यालय काठमाडौं कलंकी हुँदै उनी कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका आइपुगेका थिए। 

त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवका रूपमा काम गरेका आचार्यले वडाअध्यक्षसँग विवाद भएपछि राजीनामा दिएको वडा कार्यालयको भनाइ छ। 

मालपोत कार्यालय कलंकीमा रहँदा उनीसहित सातजनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

यस्तो छ, सुसाइड नोट

'मेरो नाममा पुराण लगाउने काम नगर्नु, नउक्साउनु, मलाई सबैले नराम्रो देख्लान्। तर, पारिवारिक वातावरण मिलाउन सकिनँ। कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो। गल्ती स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ। ममीले छोराहरूसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु। म विदा भएँ। खातामा पैसा छ। श्रीमती केही जान्दिन। साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।'

'कान्छो छोराको ब्याचलर सकेको हेरुलाँ भनेको थिएँ, सकिनँ, पापी भएँ। वाणिज्य बैंक, नेपाल बैंक, एनसिसी बैंक, एनआइसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो ब्यागमा छ। अन्यमा पैसा भए पनि कमै छ,' त्यसअघि उनले लेखेका छन, ‘वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनु। आमा, साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु।' 

'सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन। तर म देशको ठूलो भ्रष्टचारी भएँ', प्रहरीका अनुसार मृतक आर्चायको सुसाइड नोटमा अगाडि लेखिएको छ, ‘अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस। मजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु। सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु। गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु।’ 

नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्वकोषाध्यक्षसमेत रहेका आचार्यले लेखेका छन्, ‘संगठनका साथीहरूले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला।' २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका आचार्यले अन्तमा लेखेका छन्, 'आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरिदिन आग्रह गर्दछु', भनेका छन्। 

यसरी लाग्यो भ्रष्टचार मुद्दा

आर्चायसहित सातजनाविरूद्ध विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले गत जेठ १३ गते सामुदायिक वनको जंगल व्यक्तिका नाममा नामसारी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो। 

अख्तियारले कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको थियो।

मृतक आचार्यले कलंकी मालपोत कार्यालयमा भएको कमीकमजोरी सुनाउने गरेका थिए। उनका उदयपुरस्थित एक सहकर्मीका अनुसार झापाबाट सरुवा भएको महिना नबित्दै अख्तियारले फाइल कब्जा गरेको बताएका थिए। 

वर्षौं पहिलेदेखि सुयल हाउजिङ्ग कम्पनीका संचालकले जग्गाको नामसारी प्रयास गरिरहेका बेला सही गर्ने बेलामा आचार्य फसेको उनका सहकर्मीहरूको भनाइ छ। 
एक पैसा लिए पनि नलिए पनि विचौलियाको चङ्गुलमा परेर सही गरेका आचार्य त्यहीँ प्रकरणमा अख्तियारको फन्दामा परेको उनका एक सहकर्मीले बताए। अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्नु पहिले नै त्यो जग्गाको नामसारी दर्ता खारेज गरिसकेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.