|

पाँचथर : दक्षिण कोरियामा महिनामै तीन लाख रूपैयाँ न्युनतम तलब थापेका सुवास सम्बाहाम्फे हेवाँ खोलाको छेउमै निर्माण गरिएको माछा पोखरी क्षेत्रमा काम गरिरहेको भेटिन्छन्। उनीसँगै खड्ग थापा मगर पनि छन्। उनीहरुले काम गरिरहेको ठाउँदेखि अलि तल ठूला र साना गरी चारवटा माछा पोखरी छन्। पोखरीमा कमनकार्प प्रजातिको माछा लगाइएको छ। करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको चारवटा पोखरीमा १० हजार माछाको भुरा गत बैशाखमा लगाइएको हो।

सुनसरीको चतरादेखि ल्याइएका माछाका भुरा बढेर आधा किलो जतिको भएका छन्। साना भनिएको पनि १०० ग्रामका छन्। माछा पोखरी निर्माण गरेदेखि नै यी दुई युवालाई बिहान, दिउँसो र बेलुकी यतै भेटिन्छन्। ‘अब कोरिया जान्न। यतै माछापालन गरेर बसौं भनेको। पैसा भनेको जति कमायो त्यति कमाउँ लाग्छ,’ सुवासले भने, ‘आफु मालिक बन्नु राम्रो। मनखुसी काम गर्न पाइन्छ। करकापमा हुँदैन।’ करिब चार वर्ष दक्षिण कोरिया बसेर उनी स्वदेश फर्किएका हुन्। उनी पोखरी क्षेत्रमा दैनिक कम्तीमा १० घण्टा खटिँदै आएका छन्।

माछापालनमा सम्बाहाम्फेसँगै राजेन्द्र थापा मगर, खड्ग थापा मगर, दीपेन्द्र आङ्बो र दीपेन्द्र थापा मगरको संयुक्त लगानी छ। जिल्लालाई माछामा आत्मानिर्भर बनाउने उद्देश्यले उनीहरुले व्यावसायिक माछा पालन गरेका हुन्। माछालाई भटमास, गहुँ, मकै, धान, सिद्रा, पिना र भिटामिनको मात्रा मिलाएर चारोको रुपमा दिने गरेका छन्। हाल पोखरीमा लगाएको माछा बढेर उत्पादन राम्रै भए अझै पाँच रोपनी क्षेत्रफल भएको दुई वटा ठूला पोखरी बनाउने उनीहरुको तयारी छ। पोखरीमा हेवाँखोलाको पानी लगाइने गरिएको छ। 

माछापालन ‘हेवाँ गंगा पशुपालन तथा कृषि फर्म’ अन्तर्गत गरिएको हो। उनीहरुले आगामी असोज–कात्तिकमा माछा बेच्ने योजना गरेको राजेन्द्र थापा मगरले बताए। ‘माछा ठुलठूलै भयो। असोज–कात्तिकतिर निकालेर बेच्छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य सुरूमा फिदिमसहित आसपासको स्थानीय बजारमा पुर्‍याउने भन्ने हो। अलिपछि जिल्लाका ग्रामीण बजारमा पनि बेच्छौं।’

पाँचथरको फिदिमसँगै ग्रामीण बजारमा छ्यापछ्याप्ती भारतमा उत्पादित माछा पाइन्छ।  सडेगलेर अखाद्य भएका माछा पनि बेचबिखन हुँदै आएको छ। यो अवस्थाबाट उपभोक्तालाई मुक्त गराउँदै भारतीय माछालाई बिस्थापन गर्ने उनीहरुको योजना छ। ‘हामी स्थानीय बजारमा जिउँदै माछा पनि बेच्छौं,’ राजेन्द्रले थपे, ‘पोखरी क्षेत्रमा कटेज निर्माण गरेर पोखरीमा आफैं माछा मार्दै खान पाउने व्यवस्था पनि मिलाउँछौं । पकाउन लगाए पकाएर दिन्छौं पनि।’ 

पाँचथरमा माछापालन छिटफुट रूपमा गरिँदै आइएको छ। तर, त्यसले जिल्लाको बजार माग धान्ने सकेको छैन। उक्त अभावलाई पूरा गर्न माछापालन थालेको उनीहरुको भनाइ छ। उनीहरुले सुरुमै लाखौं रुपैयाँसम्मको लगानी गरेका छन्। त्यस क्षेत्रमा विभिन्न संरचना बनाउने र करिब डेढ करोड खर्चिने योजना उनीहरुको छ। ‘इको टुरिज्मलाई प्रवर्द्धन गर्न हामीले यही क्षेत्रमा स्विमिङ पुल बनाउँछौं। रेष्टुरेन्ट र चिल्ड्रेन पार्क पनि बनाउँछौं,’ खड्ग थापा मगरले भने, ‘होम स्टे बनाउने पनि साेंच छ।’ 

जिल्ला सदरमुकाम फिदिमदेखि ग्रामीण बजारमा स्थानीय स्तरमै उत्पादित माछाको माग अधिक छ। तमोर नदीसँगै, हेवाँ, काबेली, फेमेलगायत स्थानीय खोलाबाट बजारमा बिक्री गर्न माछा ल्याए हारालुछ नै हुने गरेको छ। जिल्लामा प्रतिदिन ३०० किलोसम्म माछा खपत हुने गरेको अनुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.