थारु कुमालको पेशा संरक्षण गर्न स्थानीय सरकार लाग्दै

|

दाङ : कुमाल समुदायले विभिन्न किसिमका माटाका सामगीहरू बनाउँदै आएका छन। दाङको तुलसीपुर ७ प्रसेनी र गढवा गाउँपालिकामा कुमाल समुदायले माटाका विभिन्न प्रकारका सामग्री बनाउँदै आएका छन। त्यसैगरी प्रसेनीमा माटाको सामग्री बनाउने मेशिन ल्याएको एक वर्ष भन्दा बढी भएता पनि संचालनमा आएका छैन।

नयाँ पुस्ताले यो पेशातर्फ चासो नदिँदा र पुराना पुस्तालाई ती मेशिन चलाउने बारेमा थाहा नभएका कारण संचालनमा नआएका तुलसीपुर ७ प्रसेनीका कुमाल अगुवा प्रेम कुमालले बताए। उनका अनुसार गरिबी निवारण कोषले एक वर्ष अघि  करिब ६ लाख बराबरको लगानीमा माटाका भाडा बनाउने मेशिनहरू ल्याइदिएको हो।

माटाका भाडा बनाउन सहज, छिटो, छरितो होस भनी गरिबी निवारण कोषले एक वर्ष अघि उपलब्ध गराए पनि ती सामग्रीहरू प्रयोगमा आउन सकेका छैनन्। यी मेशिन ल्याएको एक वर्ष भयो, उनले भने, ‘हामीले आफै प्रयोग गर्न आउँदैन। एक पटक चिया कप,प्लेट बनाएको थियौँ तापक्रम नमिलेर सबै खेर गए।' 

मेशिन जडान भएसँगै सञ्चालनमा आएपछि आफूहरूलाई पनि माटाका भाडा बनाउन सहज हुने अपेक्षा गरे पनि लामो समयसम्म मेशिन सञ्चालनमा नआउनु दुःखद भएको उनले बताए। माटो ,पेल्ने मेशिन, साना र ठूला भाडा पोल्न मेशिनहरू आएका उनले बताए। त्यसैगरी पछिल्लो समय गाउँमा १८ जनाले मात्र माटोका सामग्रीहरू बनाउन जानेको भएता पनि  पछिल्लो समयमा ९ जनाले काम गर्न छाडेको उनले बताए।

यसरी काम छोड्दै जाने हो भने आफूहरूको पेशा नै हराउने उनले बताए। त्यसका लागि स्थानीय सरकारले माटोको ब्यवस्था गरिदिनु पर्ने र नयाँ युवापुस्तालाई नयाँ सीप प्रदान गरी यो पेशा संरक्षण गर्नु ध्यान दिनु पर्ने उनको भनाई थियो। त्यसैगरी अर्का ६२ वर्ष गोपाल कुमालले प्रशस्त माटो नपाइदा आफूहरूलाई भाडा बनाउन समस्या भएको बताए।

यो परम्परागत भाडा बनाउने पेशाबाट आयआजर्न नहुने भएकाले पछिल्लो पुस्ता यो पेशातिर नलागेर अन्य पेशा गर्दै आएको उनले बताए।

यदी सरकारले कुनै पनि पेशालाई लोप हुन नदिनको लागि नयाँ पुस्तालाई नयाँ ज्ञान र सीप प्रदान गर्न सके मात्र पेशाको संरक्षण हुने उनको भनाई छ। त्यसैगरी अर्का ७२ वर्षका दिलबहादुर कुमालले आफूले सानैदेखि गर्दा आएको पेशालाई आफ्ना छोराछोरीले हिजो आज नगर्न आग्रह गरेको बताए।

उनीहरूले यो सीप त सिकेनन्। तर मैले बनाउँदा पनि बनाउने होइन भन्ने गरेको उनले बताए। त्यसैगरी पछिल्लो समय बजारमा आएको प्लाष्ट्रिकका सामग्रीले आफ्ना सामग्री विक्न छाडेपछि विस्तारै सबैले यो पेशा छाड्न लागेको उनले बताए।

गढवा गाउँपालिका ३ खैराका कुमाल समुदायका कुल ५४ घरधुरी मध्ये २५ घरहरू ब्यवसायिक रुपमै माटोका भाँडा बनाउने काममा संलग्न रहेको स्थानीय चुन्नुराम थारु कुमालले बताए।

परम्परागत ढंगले तयार गरेका भट्टीमा माटोका भाँडा बनाउँदा दाउरा, पराल, माटो, समय र मेहनत निकै धेरै लाग्ने तर आधुनिक भट्टीमा बनाउँदा जम्मा २ भारी दाउरामा ३०० बढी गमला तयार गर्न सकिने  बिनोद थारु कुमालले बताए। उनले तयार गरेका माटोका भाडा बजार ब्यवस्थापन नहुँदा घरमा थन्काएर राख्नु परेको बताए। त्यसैगरी उनले अब पुरानै तरिकाले निर्माण गरिएका माटाका सामग्री विक्न छोडेकाले नयाँ र आधुनिकतातिर जानको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए।

अहिले ब्यवसायी मुखी नभई जिवन निर्वाहमुखी पेशा भएको उनले बताए।'खासै सामग्री विक्दैन। कसैलाई चाहेमा फोनबाट सम्पर्क गरी घर मै ल्याउन आउनु हुन्छ', उनले भने। त्यसले गर्दा घरखर्च गर्न मात्र पुग्छ। त्यसैगरी  दाङको गढवा गाउँपालिकाले माटोका भाडा बनाउने अभियान शुरु गरेको छ।

पछिल्लो समय माटोका भाडा बनाउने पेशा लोप हुँदै जान थालेको भन्दै गाउँपालिकाले गाउँ पालिकाले माटोका भाडा बनाउने पेशलाई प्रवर्द्धन गर्न थालेको गाउँपालिकाले जनाएको छ।

गढवामा कुमाल समुदायको घर-घरमा माटोका भाँडा बनाउने प्रविधिको संरक्षणसँगै आधुनिक ढंगले विकास गर्न थालेको  गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए। उनले गढवा गाउँपालिकाको १ को पत्रिंगा,बनघुस्री, वडा नम्बर ३ को खैरा, वडा नम्बर ६ को कुमालगाउँ गरी चार गाउँहरूमा माटोका भाँडा बनाउने कुमाल समुदायको परम्परागत पेशालाई गढवा गाउँपालिकाले संरक्षण सम्बर्द्धन र प्रवर्द्धन गर्न थालेको बताए।

उनले थारु तथा कुमाल समुदायले आयआर्जनको रुपमा गर्दै आएको माटोका भाँडा बनाउने परम्परागत पेशामा नयाँ पुस्ताले खासै चाँसो नदिने गरेका कारण गाउँपालिकाले यो अभियान थालेको हो भने। यसवर्ष गढवा गाउँपालिका ३ ले १४ लाख, सहकर्मी समाजको ३ लाख र स्थानीयको २ लाख बराबरको जनश्रमदान गरी कुल १९ लाखको बजेटबाट गढवा ३ खैरा गाउँमा माटोका भाँडा बनाउने आधुनिक भट्टी निर्माण गरिएको छ।

 त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले कुमाल जातीको पेशाको लागि यो आर्थिक वर्षमा पेशा संरक्षण र सीप विकासको लागि १०/२० लाख रकम छुट्टाएर काम गर्ने  योजना बनाएको कार्यापालिका सदस्य दिपक कुमालले बताए।

पछिल्लो समय १/२ जना युवा पुस्ताबाहेक अरुले यो सीप नसिकेकाले उनीहरू आनुधिक तरिकाबाट सीप सिकाई पेशा संरक्षण गर्न लागेको बताए। त्यसैगरी उनले तुलसीपुरमा उत्पादन भएका गमालालाई उपमहानगरपालिकाले खरिद गर्ने योजना बनाएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.