सिमेन्टमा विदेशी लगानी विवादमा पर्दै

|

काठमाडौं : सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर भइरहँदा विदेशी लगानी पनि यसैमा आइरहेको छ। पछिल्लो तीन महिनामा नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा लगानी गर्न तीन अर्ब ४६ करोड रुपैयाँ स्वीकृत गरेको छ। त्यस्तै राष्ट्र बैंकले २०७२ देखि २०७४ को बीचमा आएको करिब नौ अर्ब रुपैयाँका लागि लेखांकन स्वीकृति दिइसकेको छ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ह्वोङसी-शिवम सिमेन्टका लागि २०७२ देखि २०७४ सम्म आएको आठ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ लेखांकन गरेको छ। हङकङको रेड लायन सिमेन्ट कम्पनीले २०७२ चैत १२ गते नौ अर्ब ८२ करोड ८० रुपैयाँ लगानी भित्र्याउन स्वीकृति मागेकोको थियो । जसलाई राष्ट्र बैंकाट स्वीकृति दिइसकेको छ।

त्यस्तै राष्ट्र बैंकले नयाँ लगानीको लागि २०७५ भदौ १९ र २०७६ वैशाख २३ गते ह्वाङ्सी सिमेन्टको लागि क्रमश ३५ करोड र एक अर्ब ५५ करोड रुपैयाँ रकमको लागि स्वीकृति दिएको छ।

२०७६ जेठ २ गते मारुती सिमेन्टका लागि ग्राभिटी सेल्स एजेन्सी कम्पनी र शारदा ट्रेड लिङ्क्स कम्पनीलाई २२ करोड ४० लाख रुपैयाँ लगानी ल्याउन स्वीकृति दिइसकिएको छ।

राष्ट्र बैंकले २०७६ असार २६ गते डङ्गोटो सिमेन्ट नेपाल प्रालिलाई नाइजेरियाको डङ्गोटे सिमेन्टबाट एक अर्ब ६८ करोड ६९ लाख  लगानी ल्याउन स्वीकृति प्रदान गरिसकेको छ। राष्ट्र बैंकले सिमेन्टमा गरेको लगानी स्वीकृतिको पछिल्लो तीन महिनाको अवस्था हेर्दा तीन अर्ब ४६ करोड रुपैयाँ भित्रिएको देखिन्छ।

तर अवरोध पनि बढ्दै

गत शुक्रबार सिमेन्ट उद्योगीहरूले उद्योगमन्त्रीसँग सिमेन्ट उद्योगमा विदेशी लगानी रोक्न माग गरे। उनीहरूले वार्षिक एक करोड टन सिमेन्टको माग भएकोमा उद्योगको क्षमता नै १ करोड ५० लाख टन पुगिसकेको भन्दै रोक्नु पर्ने माग गरेका थिए। उद्योगीहरूले लामो समयदेखि सिमेन्टमा विदेशी लगानी रोक्नुपर्ने आवाज उठाउँदै आएका छन्। 

जोखिममा ह्वासिन

धादिङमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यसबीचमा जोखिममा परेको छ। चीनबाट ह्वासिन सिमेन्टका लागि आएको लगानी फिर्ता जानसक्ने जोखिम बढेको हो।

ह्वासिन-नारायणी सिमेन्टका लागि नेपालका साझेदार उद्योगी सुरज वैद्यले लगानीमा पुर्नविचरा गर्ने चेतावनी दिइसकेका छन्। संसदको लेखा समितिले ह्वासिनले ५० वर्षका लागि लिजमा लिएको जग्गा फिर्ता गर्न भनेपछि यो जोखिम बढेको हो।

लेखाले जग्गा फिर्ता गरेर ह्वासिनसँगको सम्झौता पनि खेरज गर्न सरकारलाई निर्देशन दिएसँगै वैद्यले आक्रोश पोखेका हुन्। 'एकतर्फी रुपमा लेखासमितिबाट सम्झौता खारेको निर्देशन भएछ। लगानीबारे हामीले पनि पुनर्विचार गर्नुपर्छ,’ वैद्यले भने।

१५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले वैद्य अर्गनाइजेशन सँगको साझेदारीमा उद्योग निर्माण सुरु गरेको चार महिना बितेको छ । नौ महिनामा निर्माण गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादनको लक्षसहित उद्योगको निर्माण शुरु भएको थियो ।

सिमेन्ट उद्योगले मापदण्ड विपरित, खोलाको धार नै परिवर्तन गरेर काम गरिरहेको आरोप लागेको थियो। यो उद्योगले धादिङस्थित मलेखु खोलाको १ सय २१ रोपनी जग्गा मिचेको आरोप थियो। 

ह्वासिन सिमेन्टले तीन सय जनालाई प्रत्यक्ष रोजगारी दिनसक्ने गरी नेपालमा १५ अर्ब रुपैयाँ लगानी गरेर सिमेन्ट उद्योग स्थापना गर्न थालेको थियो।

डङ्गोटो सिमेन्ट नेपालमा लगानी गर्न लामो सयमदेखि प्रतिक्षामा छ । तर अहिलेसम्म चुनढुंगाको खानी पाएको छैन। यसकारण यो उद्योग पनि अन्योलमा परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.