|

जनकपुरधाम : प्रदेश २ का मुस्लिम समुदायले पनि आज एक आपसमा शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ इद–उल–अजहा (बकर इद) पर्व मनाएका छन्। पवित्र रमजानको ७० दिनपछि कुर्बानीको पर्व बकर इद मनाउने चलन छ।

बकर इद मुसलमानहरूको दोस्रो सबैभन्दा महत्वपूर्ण पर्व हो। जनकपुरस्थित जानकी मन्दिरको पछाडी रहेको इदगाह र मस्जिदमा ठूलो संख्यामा मुस्लिम समुदायले नमाज पढेका छन्। बकर इद कुर्बानी अर्थात् बलिदानको पर्व मानिन्छ।

कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँडेर मनाएको जनकपुरका पूर्व उपप्रमुख समेत रहेका मुस्लिम समुदायका अगुवा असगर अलीले बताए। उनका अनुसार अल्लाहलाई खुःशी पार्न पैगम्बर हजरत इब्राहीमले आफ्नो छोरा हजरत इसमाइललाई कुर्बानी गर्न खोज्दा छोराको ठाँउमा दुम्बा भेडा कुर्बानी भयो। सोही दिनदेखि मुस्लिम समुदायले बकर इद पर्व मनाउन थाल्यो।

इस्लामिक क्यालेण्डर अनुसार यो १२ औं महिना हो। यो महिनापछि नयाँ वर्ष मोहरम सुरु हुन्छ। बकर इदमा हज र कुर्वानी अनिवार्य भएको मुस्लिम समुदायले इगदाहमा नमाज पढेपछि दक्षअनुसार घरमा खसी, भेंडा, राँगालगायतका पशुबलि कुर्वानी दिने धार्मिक परम्परा रहेको उनको भनाई छ। उनका अनुसार बकर इदको अवसरमा मुस्लिम समुदायको घरमा हिन्दू समुदायका व्यक्तिहरु समेत गएर कुर्वानी दिएको मासु खाने गर्छन्। 

जनकपुरका मौलाना गुलाम रसुलले मुस्लिम, हिन्दू तथा गरिबबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व बकर इद भएको बताउँछन्। उनले बकर इदमा केन्द्र सरकार र स्थानीय सरकार सार्वजनिक विदा नदिएकोमा दुःख व्यक्त गरे। सबै धर्मको सम्मान गर्न सार्वजनिक विदा अगामी दिनमा दिनुपर्ने उनको माग छ।

प्रदेश २ सरकार भने आज सार्वजनिक विदा दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.