|

दाङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाङको टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारका लागि यसै वर्ष काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

विमानस्थल र पर्यटन विकासका विषयमा मन्त्री भट्टराईलाई भेट्न गएको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले आन्तरिक उडानका लागि टरिगाउँ विमानस्थललाई विकास गर्न आफुले योजना वनाएको समेत बताए। विमानस्थलको स्तरोन्नतिका साथै इन्धन डिपोको काम अगाडि बढाउन आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने मन्त्री भट्टराईले प्रतिवद्धता जनाए।

‘तुलसीपुर विमानस्थलका वारेमा म पूरै जानकार रहेको छु त्यहाँका जनतालाई न्याय दिनेछु’, उनले भने। उनले नारायणपुर विमानस्थल दीर्घकालीन योजना भएको भन्दै अहिलेलाई आन्तरिक उडानको सहजताका लागि धावनमार्ग विस्तार गर्ने बताए। त्यसैगरी टरिगाउँ विमानस्थललाई पाइलट तालिम केन्द्रका रुपमा विकास गर्नका लागि काम अगाडि वढाएको समेत बताए।

 'नेपाल भित्र तालिम केन्द्र नहुँदा महँगो पैसा तिरेर वाहिर जानुपर्ने अवस्था छ यसको लागि टरिगाउँ विमानस्थललाई हामीले उपयुक्त स्थानका रुपमा छनोट गरिएको छ', मन्त्री भट्टराईले भने। उनले यसका लागि एकसाता भित्र विभिन्न निकायसँग सहकार्य गरेर अध्ययन समिति समेत वनाउने समेत बताए।

टरिगाउँ विमानस्थलको धावनमार्ग सानो हुँदा साना खाले जहाज मात्रै वस्ने गरेका छन् यसलाई विस्तार गरिने समेत बताए।  त्यसैगरी हाल ७५० मिटर रहेको धावन मार्ग १२ सय मिटरसम्म विस्तारका लागि यो वर्ष नै वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे।

सो अवसरमा मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाको  तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए। तुलसीपुर विमानस्थलका साथै पर्यटकीय स्थलको विकास र उन्नतिका लागि मन्त्रीको ध्यानाकर्षण गराउनका लागि पत्र हस्तान्तरण गरिएको नगरप्रमुख पाण्डेले बताए।

दाङका विभिन्न सरोकारका कुराहरु लिएर गएको प्रतिनिधि मण्डलमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, गंगा चौधरी, विष्णु पौडेल, राष्ट्रिय सभा सदस्य कोमल वली, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का एवं नेताहरू शोभाराम वस्नेत र जोगराज गिरी रहेको उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.