|

म्याग्दी : पश्चिम नेपालको एक मात्र जगन्नाथ भगवानको मन्दिर म्याग्दीको बेनी नगरपालिका ५ गाजेनमा सोमबार सरकारी भोज र रथयात्रा गरिएको छ।

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो। कार्यक्रमका अतिथिहरू, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन्।

जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गराइएको थियो। सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ।

रथयात्रा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले प्रदेश सरकारले पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रको प्रवर्द्धनका लागि जोड दिइएको बताए। उनले जगन्नाथ मन्दिरको महत्व ऐतिहासिक रहेको भन्दै मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन्।

 

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, बेनपा ५ का वडा अध्यक्ष लक्ष्मण बानियाँ र धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले जगन्नाथलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिएका थिए।

सोही अवसरमा सरकारी भोजको समेत आयोजना गरिएको थियो। जनप्रतिनिधि,सरकारी अधिकारी,भक्तजन र संचारकर्मीले सरकारी भोज खाएका थिए।

पण्डित जगनाथ पौडेलले स्वस्तीवाचन गरेको कार्यक्रमको अवसरमा जगन्नाथ परिसरमा धर्मशाला बनाइदिएका पोखराका दुर्पता कार्कीको टोलीलाई सम्मान गरिएको थियो। यसैगरी गाजने र जगन्नाथ मन्दिरको ध्यानाकर्षण गराउँदै प्रदेश सांसद केसीलाई गुठी व्यवस्थापन समितिले ज्ञापनपत्र हस्तान्तरण गरेको छ।

सिंजा साम्राज्यको पतनपछि कर्णाली प्रदेशमा बाइसी राज्यहरू र गण्डकी प्रदेशमा चौबीसे राज्यहरू आस्तित्वमा आएपछि चौबिसे राज्यमध्ये एतिहासिक पर्वत राज्यका समालबंशी तृतीय मल्लराजा दिलिप बम मल्ल (डिम्बले) अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको भनाई रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.