|

अर्घाखाँची : भूमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट सासू, सालो र श्रीमतीघाइते भएका छन्। 

भूमिकास्थान नगरपालिका-६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भूमिकास्थान नगरपालिका-८ लम्चीमा  ससुराली आएर खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट ४३ वर्षीया भुमकला क्षेत्री, सालो ११ वर्षीय अर्जुन क्षेत्री र श्रीमती १८ वर्षीया गीता घर्ती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए।

खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन्। घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ।

बुटवलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ। पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्। 

केही वर्ष पहिलेदेखि श्रीमान-श्रीमतीको झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान्-श्रीमतीको झगडालाई प्रहरी चौकी खिल्जीमा मिलाइएको थियो। 

मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका हुन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.