|

काठमाडौः काठमाडौं महाननगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ६४ करोड २४ लाख ८० हजार २७६ रुपैयाँ राजस्व संकलन गरेको छ।महानगरपालिकाले १० अर्ब ५५ करोड ७३ लाख ५७ हजार रुपैयाँ लक्ष्य राखेको थियो ।

संकलन भएका रकममध्ये सबैभन्दा बढी घर बहाल करबाट उठेको काठमाडौं महानगरपालिकाका राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए। उनका अनुसार घरबहाल करबाट १ अर्ब ३३ करोड ७७ लाख १२ हजार  ६९९ रुपैया राजस्व संकलन भएको छ। महानगरपालिकाले घरबहाल करबाट दुई अर्ब आम्दानी गर्ने लक्ष्य लिएको थियो।

करको दायरा बढाएकाले महानगरपालिकाले बढी राजस्व संकलन गर्न सफल भएको न्यौपानेले बताए। उनका अनुसार घर बहाल सम्झौतामा एक थरी रकम हुन्छ। महानगरलाई कम भएको बुझाउँछन्। घरधनीले चलाखी नगरे अझ बढी घर बहाल उठाउन सक्ने उनको भनाइ छ। तर जनप्रतिनिधि आएपछि घरबहाल कर बढेको छ। जनप्रतिनिधिहरु टोलकै वा चिनजानका हुने भएकाले स्थानीयसँग घरबहाल कर उठाउन सजिलो भएको राजस्व विभाग प्रमुख न्यौपानेले बताए।

महानगरले नक्सा पास प्रमाणीकरणबापत पनि उल्लेख्य राजस्व संकलन गरेको छ। २० वर्षअगाडि निर्माण भएको घरहरुको नक्सा यस वर्ष आएकाले नक्सा प्रमाणीकरणमा राजस्व वृद्बि हो। व्यवसाय कर, घर जग्गा कर, मालपोत करबाट पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७३/ ७४ मा २ अर्ब ८२ करोड ८ लाख  २५ हजार ८६२ रुपैयाँ र आव २०७४/७५ मा ५ अर्ब ३१ करोड ८३ लाख ४३ हजार  ४०७ रुपैयाँ राजस्व संकलन गरेको थियो।

उनका अनुसार चालु आर्थिक वर्षमा गत वर्षको भन्दा २० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ।  घरबहाल कर, सम्पत्ति कर, व्यवसाय कर, पार्किङ कर, आन्तरिक स्रोतबाट राजस्व उठाउने योजना रहेको न्यौपानेले जानाकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.