चुहावट घट्यो, राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड जम्मा

|

काठमाडौं : लामो समय घाटामा गएको नेपाल विद्युत् प्राधिकरणले केही वर्षयता निरन्तर नाफा कमाउन थालेको छ। प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ। 

ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर प्राधिरकणले कमाएको नाफाबारेमा जानकारी दिएका हुन्।

कुलमान घिसिङले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेयता प्राधिकरणले लोडसेटिङ हटाएको छ। चुहावट नियन्त्रण गरेपछि तीन वर्षयता प्राधिकरणले लगातार नाफा कमाउन थालेको हो। 

प्राधिकरणले २०७४/७५ मा साढे २ अर्ब ९० करोड नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । 

प्राधिकरणले सावाँ, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटलाई पनि उल्लेख्यरुपमा घटाएको छ। अघिल्लो वर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ ।

बेचियो बिजुली 

प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले लामो समयदेखि रुग्न अप्पर त्रिशूली-३ ‘ए’ तथा काबेली करिडोर लगायतका उत्पादनतर्फ १, प्रशारणतर्फ ३ र वितरणतर्फ ३४ गरी ३८ वटा रुग्न आयोजना सम्पन्‍न भएको जानकारी दिए।

उनले काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियान अन्तर्गत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए। विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.