|

सुर्खेत : बैकिङ कसुरमा फरार अभियुक्त ठहर गर्दै उच्च अदालत पाटनले पक्राउ आदेश जारी गरेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री एक हप्तादेखि काठमाडौंमै झण्डा हल्लाउँदै  घुमिरहेका छन्।

सोमबार पाटन उच्च अदालतले पक्राउ आदेश जारी गरिएका मन्त्री खत्री एक सातादेखि संघीय राजधानीमै रहेको खुलेको छ। मन्त्रीनिकट स्रोतले खत्री एक हप्तादेखि काडमाडौंमै रहेको बताएको छ। ‘मन्त्रीजी सायद त्यही मुद्दाका सिलसिलामा काठमाडौं जानुभएको होला’, स्रोतले भन्यो ‘अदालतले दिएको म्यादको अन्तिम समयमा उपस्थित भएर धरौटीमा रिहा हुने तयारीमा जुट्नुभएको हुन सक्छ।’

अदालतको कडा आदेशपछि सुर्खेतमा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताले मन्त्री खत्रीले पदबाट राजीनामा दिँदा ठीक हुने बताउन थालेका छन्। नेकपाका कर्णाली प्रदेशस्तरीय एक नेताले नाम नबताउने सर्तमा मन्त्री पद बचाउन सकिने अवस्था नरहेकाले राजीनामा दिँदा ठीक हुने बताए।

को हुन मन्त्री खत्री ?

सुर्खेतस्थित साविकको रानीवास गाविस (चिङगाड गाँउपालिका-२) मा पुर्ख्यौली घर भएका मन्त्री खत्री हाल साविकको रामघाट गाविस (भेरीगंगा नगरपालिका) मा बस्दै आएका छन्।

मन्त्री खत्री सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सांसद बनेका थिए। लामो समय निर्माण व्यवसायीका रूपमा काम गरेका मन्त्री खत्रीलाई तत्कालीन एमालेको कोटाबाट कर्णालीको भौतिक पूर्वाधार विकासमन्त्री बनाइएको थियो।

२०३५ सालदेखि अखिल पाँचौँको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका खत्री  २०४९ र २०५४ सालमा भएको स्थानीय निकायको  निर्वाचनबाट सुर्खेतको रामघाट गाविसको तत्कालीन एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि भने निर्माण व्यवसायमा नै सक्रिय रहेका खत्रीले राजनीतिक पकड पनि राम्रै बनाए।

जसका कारण कर्णाली प्रदेशको पहिलो भौतिक पूर्वाधार विकास मन्त्री पनि बन्न सफल भए। सुर्खेतका तत्कालीन एमालेका नेता तथा पर्यटन तथा नागरिक उड्यन मन्त्री यामलाल कँडेलका दाहिने हातका रूपमा खत्रीलाई लिइन्छ।

मुख्यमन्त्रीको बलियो आकांक्षी तथा हाल कर्णाली प्रदेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खका सह-इन्चार्ज रहेका कँडेलको कर्णाली प्रदेश सरकारमा प्रतिनिधिका रूपमा खत्रीलाई बुझ्ने गरिन्थ्यो।

मन्त्री खत्री भलिबल र एथ्लेटिक्सका पूर्वराष्ट्रिय खेलाडीसमेत हुन्। उनी नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा एमालेनिकट उद्योग परिषद्को केन्द्रीय सदस्य रहिसकेका छन्।

कर्णालीको पहिलो भौतिक पूर्वाधार विकासमन्त्री खत्रीको मन्त्रालयले बजेट कार्यान्वयन गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ। मन्त्री भइसकेपछि निर्माण व्यवसायको जिम्मा उनका भाइ लोकेश खत्रीले सम्हाल्दै आएका छन्।

प्रदेशको राजधानी रहेको सुर्खेतकै सांसद प्रदेशकै भौतिक पूर्वाधारमन्त्री भएकाले प्रदेशको समग्र भौतिक निर्माणमा महत्वपूर्ण योगदान मिल्ने विश्वास गरेका स्थानीय उनको गतिविधिले पछिल्लो समय निराश छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.