|

ओखलढुंगा : ओखलढुंगामा बाँदर आतंकले कृषक हैरानीमा परेका छन्। ठूलो समूहमा जंगलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्‍नबाली खाएर नष्ट पार्न थालेपछि स्थानीय किसान हैरानीमा परेका हुन्।

२०० देखि ३०० को समूहमा बाँदर गाउँमा एकै पटक पसेर खेतबारीमा भएको अन्‍न, तथा तरकारी बाली नष्ट पार्नुका साथै घरभित्र राखेको अन्‍न बाली खाइदिन थालेपछि आफूहरू हैरानी भएकमो सिद्धिचरण नगरपालिका ९ की किसान विष्णुमाया खड्काले बताइन्। 'घरभित्रै पसेर धान, गहुँ, मकैलगायतका अन्‍न पनि खाइदिने गरेको छ' उनले भनिन्।

समूहमा गाउँमा पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको लिखु ६ का हितबहादुर खड्काको भनाइ छ। 'घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ। बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो संख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेका छन्' खड्काले भने, 'बाँदरले घरमै आएर आतंक मच्चाउन थालेपछि किसान चिन्तित बनेका छन्।'

आलु खन्‍न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पार्ने गरेको कृषक बताउँछन्। महँगो मूल्यमा बीउ खरीद गरेर लगाएको आलु खन्‍न नपाउँदै बाँदरले खेतबाटै खाएर सखाप पारेको किसान हरी भट्टराईले बताए।

त्यस्तै चम्पादेवी गाउँपालिका-५ का अमृत भुजेल खन्‍ने बेलाको आलु, भित्राउन लागेको मकै, धान, गहुँ बाँदरले खेतमा पसेर नष्ट पारेको बताउँदै गाउँमा केही वर्षदेखि आलु, मकै लगायतका अन्‍न तथा तरकारी बाली समयमा भित्र्याउन नपाएइन आशंका व्यक्त गरे।

खेतमा लगाइएका आलु, बन्दा, काउली, गहुँलगायतका बालीनाली बाँदरले खाएर नष्ट पार्न थालेपछि कृषक खेतबारी नै बाँझै छाडेर बस्न बाध्य भएको चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकी बताउँछन्। खिजीदेम्वा गाउँपालिका १ र २ मा पनि बाँदर आतंक सुरु भएको तर अन्नबाली लगाएदेखि नपाकुन्जेल किसान बाँदर रुगेर बस्‍ने गरेको गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाको भनाइ छ।

बाँदरकै कारण खेती बाझै राख्नु पर्ने बाध्यता भएका कारण नियन्त्रणका लागि केही रकम गाउँपालिकाले छुट्याउन समेत कृषकले माग गरेका छन्। आगामी वर्षदेखि बादर नियन्त्रणका लागि केही रकमसमेत विनियोजन गरिने चिसंखगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए।

जिल्लामा सिद्धिचरण नगरपालिका ५ बर्णालु, वडा नं. ४ रुम्जाटार, वडा नं. ३ , चिसंखुगढी गाउँपालिकाको माम्खा, भदौरे, चम्पादेवीको फेदीगुठ, फुलबारी, घोराखोरी, रानीवन, लिखु गाउँपालिकाको सिंहदेवी, नर्मदेश्वर, यसम गाम्नाङ्गटार, टारकेराबारी, खिजीदेम्वाको रंगनी, सिंहदेवी, कालिका लगाएतका दर्जन बढी स्थानका कृषक बाँदर आतंकको मारमा परेका छन्।

यहाँका कृषकको दिनचर्या हिजोआज बाँदरको रेखदेख गर्दैमा बित्ने गरेको छ। यो क्षेत्रमा प्रशस्त कृषि बाली उत्पादन हुने गर्छ। यस वर्ष बाँदर आतंकले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ। बाँदर आतंक नियन्त्रणका सम्बन्धमा जिल्ला प्रसाशन कार्यालय ओखलढुंगामा निवेदनसमेत दिइएको भए पनि सम्बन्धित निकाय मौन रहेको किसानहरूको आरोप छ।

यता, जिल्ला प्रशासन र जिल्ला वन कार्यालयमा बाँदर नियन्त्रण गर्न माग गर्दै दर्जन बढी निवेदन परेका जनाएको छ। नगरपालिका र जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको संयुक्त टोली बादर अनुगमनमा गएको भए पनि बाँदर नभेटिएको बताइएको छ।

यता, साहयक डिभिजन वन अधिकृत जमानसिं मोक्तानले बाँदरले पुर्‍याएको क्षतिको किसानलाई राहत दिने कानुनी व्यवस्था नभएको बताए। उनले वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका – ०६९ (संशोधनसहित ०७२) ले अर्ना, हात्ती, बंदेल, बाघ भालुजस्ता जनावरको क्षतिपूर्ति दिने व्यवस्था भए पनि बाँदरले पुर्‍याएको क्षतिपूर्ति दिने व्यवस्था नहुँदा किसानले राहत पाउन नसकेको बताए।

बाँदर मार्न पनि नपाउने र राज्यका निकायले नियन्त्रण गर्न सहयोग पनि नगर्ने भएकाले बाँदरबाट किसानले ठूलो क्षति व्यहोर्नु परेको राष्ट्रिय कृषक समूह महासंघका पूर्वजिल्ला अध्यक्ष हितराज कार्कीको भनाइ छ। बाँदरबाट पीडित किसानलाई क्षतिपूर्ति दिने प्रावधान अब स्थानीय सरकारले ल्याउनु पर्ने उनको माग छ। सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ ओखलढुंगाका अध्यक्ष दीर्गबहादुर खत्रीले क्षतिपूर्ति तथा नियन्त्रणसम्बन्धी नीतिगत व्यवस्था गर्न पहल गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.