|

पोखरा : गण्डकी प्रदेशले सूचना प्रविधि (आइटी) पार्क निर्माणका लागि विज्ञ टोली र सरोकारवाला निकायसँग प्रारम्भिक छलफल गरेको छ। आन्तरिक ममिला तथा कानुन मन्त्रालयले आइटी पार्कको अवधारणा, पूर्वाधार, सञ्चालन र व्यवास्थापन, व्यावसायिक र कानुनी पक्ष तथा नीजि क्षेत्रको अपेक्षा विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो।

विषय विज्ञको रूपमा सूचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष मनोहर भट्टराई, सूचना तथा सञ्चार प्रविधि परिषद् सदस्य सुरेश रेग्मी, युएनडिपी क्षेत्रीय प्रमुख सुदीप अर्याल, विज्ञहरू विवेक राना, हेमपाल श्रेष्ठ र तथा पवन कृष्ण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको थिए।

विज्ञहरूले गण्डकी प्रदेशले आइटी क्षेत्रको नीति र पार्क व्यवास्थापन कसले गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताएका थिए। यसले समेट्ने क्षेत्र, लगानीको संभावना र पुर्‍याउने सेवाको विषयमा स्पष्ट अबधारणासहित जान सकिए यसले प्रदेशको आर्थिक समुद्धिमा टेवा पुर्‍याउने बताएका थिए।

अन्तरक्रियामा बोल्दै प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइटी पार्कका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘समपुरक अनुदानको रूपमा संघ सरकारबाट बजेट ल्याउने सकिन्छ। अरू विकल्पहरू पनि छन्,’ उनले भने,‘ सूचना प्रविधिबारे कार्यदल बनाएर यसको कार्यविधिको तयारी गर्न प्रदेश सरकारले ढिला नगरी काम अघि बढाउँछ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले अन्तरक्रियामा उठेको विषयलाई समेटी आउने भदौ महिनाभित्र अर्को चरणमा छलफल चलाउने र पार्क निर्माणलाई अगाडि बढाइने जानकारी गराए। 

चालु आर्थिक वर्षमा प्रदेश सरकारले आइटी पार्कको विस्तृत सम्भाव्यता अध्ययन गर्न एक करोड रकम विनियोजन गरेको छ। पोखरा महानगरपालिका-१८ मा बन्ने पार्कका लागि ९६ रोपनी जग्गा पोखरा महानगरपालिकाले भोगचलनको स्वीकृति दिइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.