|

विराटनगर : जेठको सुरुवातदेखि नै सुनसरीको धरानमा देखा परेको डेंगुका बिरामीको संख्या प्रदेश १ मा ३ हजार नाघेको छ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हालसम्म प्रदेश १ मा डेंगु रोगीको संख्या ३ हजार १ सय ५२ पुगेको जानकारी दिएका हुन्। डेंगु नियन्त्रण गर्ने काममा प्रदेश सरकारले अभियान संचालन गरिरहेको जानकारी दिँदै घिमिरेले हालसम्म डेंगुको कारण हालसम्म १ जनाको मृत्यु भएको बताए। उनले डेंगु नियन्त्रण सरकारको अभियानबाट मात्रै सम्भव नहुने भएको कारण आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए।

प्रदेश १ प्रदेशसभामा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री घिमिरेले आ–आफ्ना घरपरिवारलाई सचेत गराउन युवा विद्यार्थीलाई परिचालन गर्ने गरी अभियान संचालन भइरहेको पनि बताए। डेंगु नियन्त्रणको अभियान संचालन गर्दै सरकारका अधिकारीहरू घरघरमा जाँदा केही न्यूनीकरण भए पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको उनले बताए।

डेंगु प्रभावित क्षेत्रमा फगिङको माग बढेको भए पनि त्यसबाट लामखुट्टेका लार्भा नष्ट नहुने र मानिसको स्वासथ्यमा नकारात्मक असर परेको बताउँदै उनले त्यसलाई निरुत्साहित गरिएको बताए। यस्तै, डेंगुको परीक्षणका लागि सरकारले वितरण गर्ने भनिएको किट वितरणको काम पनि रोकिएको बताउँदै अब परीक्षणका लागि परम्परागत हिसाबले नै हुने उनले बताए।

प्रदेश सरकारले यसअघि डेंगु नियन्त्रणका लागि भन्दै प्रदेशमा एक करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकम सकिए पनि डेंगु नियन्त्रणमा भने प्रगति भएको देखिएको छैन।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर डेंगुविरुद्ध सचेतना फैलाउने, औषधि छर्कने र बिरामीको उपचार गर्ने जस्ता काम भइरहेको मन्त्री घिमिरेले जानकारी दिए।

रंगशालामा अनियमितता भएको छैन : मन्त्री घिमिरे

अर्को प्रसंगमा मन्त्री घिमिरेले विराटनगर–१९ मा रहेको वैजनाथपुर रंगशालाको क्रिकेट पिचका क्रममा अनियमितता भएको भन्ने विषय हल्ला मात्रै भएको बताए। उनले सत्यतथ्य छानबिन गर्न प्रदेश संसदको सामाजिक विकास समितिलाई आग्रह गर्दै दोषी पाइए जो कोहीलाई कारबाही गरिने बताउनु बताए। मन्त्री घिमिरेले वैजनाथपुर रंगशालामा आर्थिक अनियमितता भएको, करोडौंको चलखेल भएको भन्ने समाचार भ्रामक रहेको पनि दाबी गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.