|

वेस्टइन्डिज विरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको भारतले तीन खेलको एकदिवसीय सिरिजमा लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज कब्जा गरेको छ। पहिलो खेल वर्षाले प्रभावित हुँदा रिजल्ट विहीन बनेको थियो भने त्यसपछिका दुई खेलमा भारतले लगातार जित निकाल्न सफल भएको हो।

अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा भारतले वेस्टइन्डिजलाई ६ विकेटल पराजित गर्दे सिरिज २–० ले जितेको हो। भारतले वेस्टइन्डिजमा लगातार चौथो सिरिज जितेको हो। वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ३५ औं आभेरमा ७ विकेट गुमाएर २४० रन बनाएको थियो। ओपनर क्रिस गेलले सर्वाधिक ७२ रन बनाएको पारीमा  ओपनर इभिन लुइसले ४३ रन बनाएका थिए। यी दुईले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए।

भारतका खालिल अहमेदले सर्वाधिक ३ विकेट लिएका थिए। वर्षाले प्रभावित बनाएको खेलमा डकवर्थ लुइस प्रणालीका आधारमा भारतले २५५ रनको लक्ष्य प्राप्त गरेको थियो। वर्षाका कारण खेल ३५ ओभरमा झारिएको खेलमा भारतले ३२.३ ओभरमा ४ विकेट गुमाएर २५६ रन बनाएको थियो। कप्तान विराट कोहलीले लगातार दोस्रो खेलमा शतक प्रहार गरे। उनले करियरको ४३ औँ शतक प्रहार गरेका थिए।

श्रेयस अयरले लगातार दोस्रो म्याचमा अर्धशतक प्रहार गर्दै ६५ रन बनाए। दोस्रो खेलमा भारतले डकवर्थ लुइसका आधारमा ५९ रनले विजयी भएको थियो। भारतले वेस्टविरुद्वको पछिल्ला पाँच भिडन्तमा निरन्तर जित निकालेको छ। वेस्टइन्डिज भ्रमणमा रहेको भारतले दुई म्याचको टेष्ट सिरिज खेल्नेछ। उसले यसअघि टी–ट्वान्टी सिरिज क्लिनस्वीप गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.