|

काठमाडौं : पुराना पत्रकार, पूर्वीय दर्शनका ज्ञाता तथा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ बिहीबार पशुपतिको आर्यघाटमा अन्तिम विदाइ गरिएको छ।

दिवंगत दीक्षितलाई उनका जेठा छोरा विनोदले दागबत्ती दिएका थिए। दीक्षितलाई श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती नेपाली कांग्रेसका नेता पू्र्णबहादुर खड्का पूर्वमन्त्री गणेश शाहलगायत विशिष्ठ व्यक्तिहरू आर्यघाट पुगेका थिए।  

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्ज’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोश भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

उनका कृति र काम

नेपाल प्रज्ञा –प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् दीक्षितले। माधवी, द्रौपदी, अहिल्या ,ग्यास च्याबरको मृत्यु’ उनका चर्चित कृति हुन्। उनले आफ्नो जीवनकालमा  ४५ भन्दा बढी कृति प्रकाशित गरिसकेका छन्। उनी पछिल्लो समयमा पनि आफ्ना सहयोगीमार्फत लेखनमा सक्रिय थिए। 

उनले ‘माधवी’ उपन्यासको आठौँ संस्करणका लागि परिमार्जन पनि गरेका थिए। माधवीले विसं २०३९ का लागि मदन पुरस्कार प्राप्त गरेको थियो। उनका ‘चरैवेति’ (निबन्ध २०४४), ‘त्यो युग’ (निबन्ध २०४७), ‘हाम्रा ती दिन’ (निबन्ध, २०२९), ‘म रुँदै बिर्सन्छु’ (संस्मरण, २०२७), ‘बर्लिन डायरीका पाना’ (यात्रावर्णन, सन् १९८४), ‘लाखौँ शिशुहरू लिफ्ट मागिरहेछन्’, ‘मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ’, ‘कसले जित्यो कसले हार्‍यो’ (कथा २०२१), ‘दश लाख हिरोसिमातिर’, ‘जीवन महाअभियान’, ‘ऋग्वेदः केही प्रमुख सूक्त (२०६५) ‘मेरी नीलिमा’ र ‘भूमिसूक्त’ आदि पुस्तक प्रकाशित छन्।

विसं २०५२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा– प्रतिष्ठानको उपकुलपति भएपछि उनले ‘समीक्षा’ पत्रिका छोरा विनोदलाई हस्तान्तरण गरेका थिए। त्यसको केही समयपछि पत्रिकाले निरन्तरता पाउन सकेन। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.